skip this
  • शिक्षा

    सरकारी विद्यालयमा बच्चा पढाउन हानथाप

  • सुसन पाैडेल ,चितवन

    देशैभरी सरकारले भर्ना अभियान सञ्ञ्चालन गरिरहँदा उल्लेख्य सफलता पाउन नसके पनि चितवनको एक सरकारी विद्यालयमा भने बच्चा पढाउन हानथाप परेको छ । नेपालको राम्रो सरकारी स्कूल मध्ये पर्ने चितवनको नारायणी माविमा यतिबेला अभिभावकले आफ्नो बच्चा पढाउन निकै हानथाप गर्नु परेको छ । स्कुलको गुणस्तरीय शिक्षा नै हानथापको प्रमुख कारकतत्व बन्न पुगेको छ ।

    विगत लामो समयदेखि नारायणी नमुना माविको परीक्षाको नतिजा उत्कृष्ट हुनु, अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराउनु, अपाड्ड, दृष्टिविहिनलाई होस्टेलको व्यवस्था गर्नु तथा समय समयमा अतिरिक्ति क्रियाकलापको आयोजना गर्नुलगायतका कारणले गर्दा नमूना माविमा आफ्ना बालबालिकाहरुलाई पढाउन चाहने अभिभावकहरुको संख्या अत्यधिक देखिएको छ । त्यसैगरी अनुशासित र समाजमा नेतृत्व गर्न सक्ने विद्यार्थीको उत्पादनले गर्दा यस विद्यालयमा आफ्नो बालबच्चा पढाउन आउनेको लर्को लागेको छ ।

    चितवनको एक महंगो शुल्क लिने एक परिचित बोर्डिङग स्कूलबाट आफ्नो बच्चा नारायणी नमूनामा भर्ना गर्न आएका एक अभिभावकले यस स्कूलमा पढाउन पाएमा भोलिका दिनमा आफ्नो बच्चा देशको अशल नागरिक बन्ने कुरामा आफू आशावादी रहेको बताए । त्यसैगरी  अर्का अभिभावक रविन केसीले आफ्नो बच्चाले यहाँको भर्ना प्रक्रियाबाट नाम निकाल्न सक्छ कि सक्दैन ? भन्ने चिन्ता लागेको सुनाए ।

    नारायणी माबीमा अध्ययन गराउन देशै भरीबाट विद्यार्थीको आवेदन पर्ने हुदाँ आवेदनलाई व्यवस्थित बनाउन प्रवेश परीक्षा लिने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीको चाप धेरै हुने हुदाँ प्रवेश परीक्षामा चर्को प्रतिस्पर्धा हुने गरेको बताइएको छ । उसो त कुनै पनि सरकारी विद्यालयमा भर्ना हुन कुनै प्रवेश परीक्षा दिनु पर्ने वाध्यता हुँदैन तर यहाँ प्रवेश परीक्षालाई व्यवस्थित गरी पारदर्शी बनाउन यसो गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले बताए ।

    प्रवेश परीक्षामा चार विषयको वस्तुगत एकसय पूर्णाङ्क नम्बर प्रश्नको लिखित परीक्षा लिने गरेको दवाडीले बताए । त्यसो त प्रवेश परीक्षालाई त्रुटिरहित बनाउन अभिभावक र शिक्षकहरु रहेको एक परीक्षा समिति समेत निर्माण गरिएको जनाइएको छ । तथापि अध्ययन गर्न चाहनेले समयमा आएमा सामान्य परीक्षा मार्फत भर्ना गराउने व्यवस्था पनि रहेको दवाडीले बताए ।

    चितवनका परिचित एवम् उच्च वर्गदेखि निम्न आय भाएका मजदुरको छोराछोरी समेत अध्ययन गरिरहेको यस विद्यालय हालसालै गरिएको अनुगमन मार्फत नेपालकै उत्कृष्ट विद्यालयमा स्थापित हुन सफल भएको छ । विद्यालयमा आधारभुत शिक्षादेखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब दुईहजारको संख्यामा विद्यार्थी अध्ययन  गरिरहका छन् । गत वर्ष एकहजार ६ सय ७४ जना विद्यार्थी भर्ना भएका थिए । २०७४ मा यो संख्या बढेर दुईहजार पुगेको हो ।

    यतिबेला उक्त विद्यालयमा भर्ना हुन झण्डै एकहजार ५ सय जनाले आवेदन दिएको प्रअ दवाडीले बताए । आवेदन दिने विद्यार्थीहरुलाई आगामी १० गते प्रवेश परीक्षा लिएर छनौट गरिने विद्यालयले जनाएको छ । नारायणी माविमा जस्तै अन्य सरकारी विद्यालयमा पनि विद्यार्थीको चाप बढाउन सकेमा शिक्षालाई व्यापारिकरण गर्ने शिक्षाका माफियाहरु विस्थापित हुने थिए कि !

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु