skip this
  • चितवन विशेष

    एम्बुलेन्समा ट्रयाकिङ (जीपीएस) प्रणाली लागू

  • चितवनमा सञ्चालित एम्बुलेन्समा आज (आइतबार) देखि ट्रयाकिङ (जीपीएस) प्रणाली लागू गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ  चितवनको पहल र टेक्नोलोजी सेल्स प्रालि काठमाडौंको सहयोगमा ट्रयाकिङ प्रणाली लागू गरिएको हो ।

    एम्बुलेन्समा राखिएको डिभाइस मार्फत् एम्बुलेन्सको स्थान र गतिविधिबारे जानकारी लिने  सिस्टम हो ट्रयाकिङ (जीपीएस) प्रणाली । यो ट्रयाकिङ प्रणालीको नियमन संयुक्त एम्बुलेन्स चालक संघ चितवनले नै गर्नेछ ।

    भरतपुरमा आयोजित कार्यक्रममा टेक्नोलोजी सेल्स प्रालि काठमाडौंका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिजालले चितवनका प्रदेशसभा सांसद घनश्याम दाहाल ‘अविनाश’लाई ट्रयाकिङ (जीपीएस) प्रणाली हस्तान्तरण गरेर लागू भएको घोषणा गरिएको हो । एम्बुलेन्स ब्यवसायलाई ब्यवस्थित गर्न र एम्बुलेन्स चालकका गतिविधिलाई सुक्ष्म निरीक्षण गर्न जीपीएस प्रणाली लागू गरेको संयुक्त एम्बुलेन्स चालक संघ चितवनका अध्यक्ष सुमन घलेले बताए । उनले अबका दिनमा एम्बुलेन्स दुरुपायोग नहुने भन्दै यसलाई अझ सेवामुखी बनाइने दाबी गरे ।

    चितवनका प्रदेशसभाका सांसद घनश्याम दाहाल अविनाशले राज्यले गर्नुपर्ने काम संयुक्त एम्बुलेन्स चालक संघले गरेको बताए । उनले ट्रयाकिङ प्रणाली लागू भएपछि चालकमाथि लाग्ने आरोपलाई गलत साबित गर्ने बताए । यसलाई निरन्तरता दिन धेरै चुनौती रहेको भन्दै उनले त्यसको सामना गर्न एम्बुलेन्स चालकलाई सुझाव दिए ।

    एम्बुलेन्स ट्रयाकिङ सिस्टममा एम्बुलेन्सको भएको स्थानबारे जानकारी प्राप्त गर्न सकिने टेक्नोलोजी सेल्स प्रालि काठमाडौंका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिजालले बताए । उनले जो कोही अकस्मात बिरामी अथवा दुर्घटनामा परे सबैभन्दा नजिक कुन एम्बुलेन्स छ भन्ने कुरा यस प्रणाली मार्फत् थाहा पाउन सकिने जानकारी दिए । भविष्यमा आम नागरिकले एप्स मार्फत् एम्बुलेन्सको स्थान थाहा पाउने उनको भनाइ छ ।

    चितवनमा संचालित ९५ वटा एम्बुलेन्समा प्रणाली लागू गरिएको संयुक्त एम्बुलेन्स चालक संघ चितवनका सचिव बाबुराम शर्माले जानकारी दिए । उनले देशमा नै पहिलो पटक यो सिस्टम चितवनमा लागू गरिएको दाबी गरे ।

    news From www.narayanionline.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु