skip this
  • चितवन विशेष

    नेकपाका चितवन ईन्चार्जको घरमा पक्राउ पूर्जी, बादलले भेट्रान सर्टिफिकेट दिए- ईन्चार्ज बिसी

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीको घरमा सरकारले पक्राउ पूर्जी टाँस गरेको छ । पूर्जीमा बिसीलाई ‘फरार अभियुक्त’उल्लेख गरिएको छ ।

    ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको अभियोगमा ईन्चार्ज बिसीको गुराँस गाविस–२ दैलेखमा रहेको घरमा जिल्ला अदालत चितवनले जारी गरेको म्यादी पूर्जी शुक्रबार टाँस गरिएको हो । सो कुराको पुष्टी ईन्चार्ज बिसीले शुक्रबार आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर गरिसकेका छन् । अदालतले पूर्जीे बाटोको म्यादबाहेक ७० दिनको समयसीमा राखेर काटेको पाइएको छ । पूर्जी टाँस्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जिल्लाका प्रहरीलाई खटाएका थिए ।

    अभियोगको जाहेरीवालामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ईशुमिया धोबी रहेका छन् । ‘ज्यान मार्ने उद्योगमा कसुर गरेको छ भनी अभियोग लागेकोमा तपाईलाई गिरफ्तार गर्न वारेन्ट जारी भइराखेकोमा पक्राउ नपरेकोले यो पूर्जी टाँसिएको छ’ पूर्जीमा उल्लेख छ ।
    तर बिसीले पूर्जीमा आफुमाथि लगाएको अभियोग सत्प्रतिशत झुठा भएको बताएका छन् । ‘पूर्जीमा उल्लेख गरिएको अभियोगमा रतिभर सत्यता छैन, यो नेपाली जनताको परिवर्तनको आकांक्षा र क्रान्तिलाई कमजोर तुल्याउने षडयन्त्र बाहेक अन्य केही होइन’ बिसीले अनलाइन डबलीसँग भने ।

    पूर्जी २०७४-०३-२७ को मितिमा काटिएको भएपनि भर्खरै मात्र स्थानीय प्रहरीले बिसीको घर पत्ता लगाएर अदालबाट जारी पूर्जी टाँस गरिएको जनाइएको छ । काटेको लामो समयपछि मात्र सरकारले पूर्जी टाँस गरेको हो ।

    पूर्जी टाँसेको विषयलाई बिसीले नौलो विषय नभएको प्रतिक्रिया दिएका छन् । केपी–प्रचण्डको सामाजिक दलाल सरकारले आफ्नो ‘धर्म’ निभाएको बताएका छन् । राष्ट्रिय स्वाधीनता र जनताको राजनैतिक अधिकारसहितको राज्य व्यवस्थाको पक्षमा लडिरहेका आफूहरुलाई यस्ता पूर्जीले केही फरक नपर्ने बिसीले बताए । ‘देशमा जनताको जनसंविधान र सरकारको दलाल संसदीय संविधान चलिरहेकाे छ’ उनको भनाई छ । दुई वटा  ‘क्रान्ति र परिवर्तनको एजेण्डा बोकेर एकीकृत जनक्रान्तिको अभियानमा रहेका नेता र जनताले केपी-प्रचण्डको पूर्जीले केही फरक पर्दैन’ बिसीले भने ‘नेकपा आफ्नो लक्ष्य र उद्देश्यमा प्रतिवद्ध छ ।’

    पूर्जी जनताको सत्ताले पनि सामाजिक दलाल, राष्ट्रघाती, भ्रष्ट्रचारीको घर र वा बासस्थानमा पनि ‘जनअदालत’मा उपस्थित हुन वारेन्ट जारी भइरहेको ईन्चार्ज बिसीको तर्क छ । साथै उनले पार्टीका प्रवक्ता प्रकाण्डलाई बिनाकारण सरकारले गिरफ्तार गरेको भन्दै आपत्ति जनाउँदै प्रकाण्डलगायत देशभरबाट गिरफ्तार गरिएको नेकपाका सम्पूर्ण नेताकार्यकर्ता तथा समर्थकलाई निसर्त तत्काल रिहा गर्न सरकारसँग माग गरे ।

    घरमा पूर्जी टाँसबारे बिसीले विगतमा प्रचण्ड र बादलले पार्टीको एक प्रशिक्षणमा ‘आफूहरु सरकारमा नजाने र गएका दिन तपाईहरुलाई भेट्रान सर्टिफिकेट दिन्छौं’ भनेर दिएको अभिव्यक्तिलाई सम्झेर भूपू साथी प्रचण्ड–बादलको खिल्ली उडाएका छन् ।

    भन्छन् ‘२०६४ मा प्रचण्ड र बादलले ललितपुरको खन्ना गार्मेन्टमा हामी सरकारमा गयौं भने तपाइँहरुलाई भेट्रान सर्टिफिकेट दिन्छौं भनेर प्रशिक्षण दिएका थिए । आज मेरो घर दैलेखमा ४ जना पुलिस पठाएर घरको भित्तामा बादलले दिएको भेट्रान सर्टिफिकेट ७० दिनको म्याद दिएर टाँसेछन् । धन्यवाद भूतपुर्व कमरेड बाद्ल प्रचण्ड ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु