skip this
  • फिचर

    सपनाभित्रको यथार्थ

  •  

    दर्पण घिमीरे

    रातको समय !! चारैतिर निष्पट्ट अन्धकार छाएको थियो । म काम विशेषले अफिसबाट घर जान अबेर भएको थियो। अझ त्यसै माथी बिच बाटोमा स्कुटी बिग्रीएर अर्को तनाव । रातको बेला न हो, कोहि पनि मान्छे भेटाउन सकिरहेको थिएन वरिपरि, सहयोग माग्नलाई ।त्यसैले डोर्‍याउदै भए पनि अघि बढ्दै थिए ।
    घर फोन गरेर भने अबेर हुन्छु भनेर । घरबाट बोलाउ पनि कसलाई ? दाइ हिजै हो काठमाडौं गएको, बुवा पाल्पा, बिचरा घर भएकी आमाले कसरी आउथिन र यति राती !! जति जति अघि बढ्यो उति उति सन्निपात छाएझै भयो । यो बाटो सम्झे । दाईको बाइकमा सुस्मिता र म घुमेको बाटो थियो यो ।
    “हुईइय!” म झसङ्ग भए यो आवाजले । चारैतिर हेरे । कुन बेला जङ्गलमा छिरेछु पत्तै पाएन । त्यो के को पो आवाज थियो भनेर झस्केको मैले यताउती हेरे । तर अह केही मेसो पाउन सकेन । यत्तिकैमा फेरि त्यसतै अनौठो र भयानक आवाज सुने । यस्तो घना जङ्गलमा, रातको समय, म एक्लो मान्छे र त्यो अनौठो आवाज; नजानिदो पाराले मनमा चिसो पस्न थाल्यो ।
    म जति सक्दो छिटो-छिटो त्यो भयावह जङ्गलबाट निक्लिन खोजिरहेको थिए । केही अघि पुगे पछि कसैले “बचाओ! बचाओ !!”, भन्दै गुहार मागिरहेको सुने । रातको समय न हो, त्यसमाथी यस्तो घना जङ्गल, मैले आवाज आएको दिशा ठम्याउन प्रयत्न गरेतापनी सकेन । केही बेरमा फेरि त्यही प्रकारको आवाज सुने। आवाज अल्लि ध्यान दिएर सुने, कोहि केटिमान्छेको जस्तो लाग्यो । आवाज माथिल्लो झ्याङ्गभित्रबाट आएजस्तो लाग्यो। कता-कता लुटेराहरुले लुट्न थाप्ने पासो जस्तो पनि लाग्यो। तैपनि स्कुटी अड्याएर, मोबाइलको लाइटको सहारामा त्यो आवाज आएतिर लागे ।
    उक्लिए माथिल्लो झ्याङ्गतिर अनि हेरे चारैतिर। तर त्यहा केही पनि थिएन । मलाई डर लाग्न थाल्यो। म हस्याङ्ग्फस्याङ्ग गर्दै कुद्दै स्कुटी ने’र पुगे। म फटाफट स्कुटी डोर्‍याउदै अघि बढे । जङ्गल सकिन लाग्दा, पुछारमा सेतो सारी लगाएकी महिला देखे। हो न हो यो पक्कै पनि आत्मा-सात्मा हुनुपर्छ भन्दै भगवानको माला गलामा प्रस्टै देखिने गरि निकाले र मन्त्र जप्दै अघि बढे ।
    सुस्मिता!! म उसको नजिक पुग्दानपुग्दै उसको अनुहार देखिहाले। उ अरु कोहि नभएर मेरी सुस्मिता रहिछे। मन शान्त भयो बल्ल। “सुस्मिता! ए सुस्मिता !!”, बोलाए उसलाई। तर अह केही नसुनेझै झोक्राइ रहि। जङ्गलमा एक्लै आएजस्तो लागेन सुस्मिता।
    नजिक पुगे। उसलाई झक्झकाउदै बोलाए “सुस्मिता”, अनि मात्रै उ कुनै तन्द्राबाट बिउझेझै गरि। “सुस्मिता! तिमी यति बेला यहाँ जङ्गलमा ? किन र कसरी?”, मैले सोधे। “कृतेश, हेर न रमेशसङ्ग शर्मिलाको बर्थडे मनाएर फर्किदै थिए। अनि रमेशले पिसाब फेर्न बाइक रोकेर गएको फर्किएन अनि म उसैलाई खोज्दा खोज्दा यहाँ पुछारसम्म आइपुगे”, सुस्मिताले विवरण सुनाई।
    रमेश हराएको झण्डै दुई हप्ता हुन आटेको थियो। तर फेरि भेटिएको रहेछ भन्ने सुनेर खुसी भए। रमेशलाई परिवारमा बस्न कहिल्यै मन लाग्थेन, सधैको बाबुआमाको झगडाले; त्यसैले उ कहिलेकसो आफै हराइदिन्थ्यो। उ लुक्न अक्सर यहि जंगलतिरै आउथ्यो रे विशालले भनेको थ्यो। त्यसकारण पनि यो जङ्गल उसले पुरै चिनेको थियो । त्यसैले मैले पनि चिन्ता लिनुपर्ने केही कारण देखेन। अनि सम्झाए सुस्मितालाई,”रात अबेर भैसक्यो हेर। तिम्रो बुवाआमा चिन्तित हुनुहुन्छ होला। त्यसमाथी रमेशले यो जङ्गल पुरै चिनेको छ। उसलाई आउन मन हुनासाथ आफै आइहाल्छ। त्यसैले तिमी हिड मसङ्ग, म ड्रप गरिदिउला।” उसले सहमती जनाई र सरासर स्कुटिको पछिल्लो सिटमा गएर बसि।
    “स्टार्ट बन्द भएको छ सुस्मिता”, मैले भने। “फेरि ट्राई गरेर हेर न लद्दु, के था स्टार्ट होला कि,” उसले भनी। ट्राई गरे। अचम्मै भयो, अघि देखि स्टार्ट हुन नसक्या स्कुटी उ बस्नासाथ स्टार्ट भयो।
    “सुस्मिता” पछाडिबाट कोहि चिच्यायो। आवाज रमेशसङ्ग मिल्दोजुल्दो माने। “कृतेश, हामी सायद फर्किनुपर्छ जङ्गलतिर। सायद रमेश मलाई खोज्दै होला”, सुस्मिताले भनी। अन्धकार रात र त्यो घना जङ्गल !! मलाई डरले गर्दा भित्र जाने रहर एक रत्ती पनि थिएन। तर सुस्मिताको सामु डराएको देखिन मेरो पुरुषत्वले दिएन। फर्काए जङ्गलतिरै। सुस्मिता एकतमासले “रमेश” भन्दै चिच्याउदै थिई।
    जङ्गलकी बिचसम्म पुग्यौ। तर रमेशको नामोनिशान भेटिएन। हार खाएर स्कुटी फर्काउन के लागेको थिए, पछाडीको सिटमा सुस्मिता नभएको देखे ऎनाबाट। झट्टै पछाडी फर्किएर हेरे, साच्चै नै थिईन सुस्मिता। “सुस्मिता”, एक फेरि जोडले कराएर बोलाए तर अह न कतै केही चलमलाएको देखियो न कतै केही सुसेलिएको नै सुनियो। कल गर्न खल्तिबाट मोबाइल झिके, कल गर्न भनेर। टावर नै देखाएन। हैन यो दुरसन्चारले जङ्गलमा किन टावर दिन्न?
    “कृतेश”, पछाडिबाट कसैले बोलाएको झै माने। फर्केर हेरे। कोहि थिएन। अब भने मेरो हंसले ठाउँ छोड्यो। मुटुको चाल अनियन्त्रित भएर अझ जोड जोडले धड्किन थाल्यो। यस्तो लाग्दै थियो कि मुटु नै फुत्त बाहिर निक्लेला। तितरवितर भएको आफ्नो हिम्मत बटुले अनि मोबाइलको लाइटको सहायताले आसपासमा खोजे कहि सुस्मिता वा रमेशको केही निशानी मिल्छ कि भनेर। तर हात लाग्यो शून्य। फर्किए स्कुटी पार्क गरेको ठाउसम्म र स्टार्ट गरे स्कुटी। “हो हो हो हो……… आखो मे तेरि अजब सि अजब सि….”, अघिसम्म टावर नदेखाको मोबाइलमा अचानक फोन आएछ क्यारे।हत्तपत्त मोबाइल झिकेर हेरे हैन रहेछ। कहि कतै झुक्केर आलार्म वा गाना नै प्ले भएछ कि भनेर हेरे । दुवै रहेनछ। समय देखे १:१५ भइरहेको रहेछ। अचानक चिसो सिरेटो पस्यो मनमा। फटाफट जङ्गलबाट निस्किन स्कुटी दौडाए। केही बेर पछि अल्लि अगाडि बाटोको छेउमा कोहि पल्टिरहेको जस्तो देखे। नजिक पुग्दा देखे पहेलो कुर्तासुरुवाल लगाएको कोहि जवान केटि थिई सायद। पक्कै बेहोस भएको हुनुपर्छ जस्तो लाग्यो। ओर्लिए स्कुटी अड्याएर। अनि मोबाइलको लाइटले अनुहार हेरे। सुस्मिता !! सुस्मिता रहिछ !!
    मन अतालियो । कसरी खस्न पुगि, ठम्याउन सकेन। नाडी छामे, श्वास फेरे-नफेरेको जाचे। धन्न बेहोस मात्रै भएकी रहिछ, ढुकढुकी बाकी थियो नै। हत्तपत्त स्कुटीतिर दौडिए ; अफिसबाट निक्लिदा झोलामा राखेको पानी अझै धेरै नै बाकी थियो। डिक्की खोलेर पानी निकाले, अनि त्यही पानीले हल्का छ्यापेर उठाउन प्रयत्न गरे।
    अलिअलि चलमलाउन थाली । होस आएछ क्यारे।म एकसुरले झक्झकाउदै थिए उसलाई।यत्तिकैमा कसैले पछाडिबाट काधमा मुसारे जसरी बोलाएको जस्तो चाल पाए। मस्तिष्क पछाडी फर्किन चाहान्थ्यो तर मन डर त्रासमा जेलिएको। मनमा एकै निमेषमै हजारौ अनुत्तरित प्रश्नहरु जन्मिए र तुहिए पनि। डराई-डराई भए पनि पछि फर्केर हेरे। एउटा मानव आकृति बाहेक अर्थोक केही थिएन। तर त्यो आकृति त केही पर पो थियो। मलाई काधमा मुसारेर बोलायो कसरी ? म झन् डराए। मोबाइलको लाइट हत्तपत्त त्यता सोझ्याए।
    लौ खत्तम !! यो भन्दा खत्तम अरु के हुनु ? मेरो मुटु यति अधैर्य भएछ कि यस्तो लाग्दै थियो कि मुटुले स्थान छाडेर मुखमै आइपुगेछ। लाइट पर्ना साथ त त्यो आकृति गायब । झट्टै यता सुस्मितातिर फर्किए। झन्न सुस्मिता चाहिँ यतै रैछे। हत्तपत्त उठाए उसलाई र यो पाली अगाडि बस्न लगाए, यो पाली नखसोस भनेर। उ केही नबोली टाउको समाउदै अगाडि बसि । म पछाडी बसेरै स्कुटी हाक्न थाले, स्कुटिको म्याक्सिमम गतिमा ।
    पुछारमा पुग्न लाग्दा फेरि अघि जस्तै सेतो सारीमा कोहि देखे जस्तो लाग्यो। त्यो तिर वास्तै नगरी थप कुदाउन प्रयत्न गर्दा गर्दै हामी जङ्गलबाट निक्लियौ । अन्त्तत: अब शहर शुरु भयो। मेरो घर पुग्न १० मिनेट र सुस्मिताको घर पुग्न २० मिनेट थप लाग्थ्यो । डरले त्रासित थिए म, अन्तरहृदयदेखि नै। अतं मेरै घर लैजाने निधो गरे सुस्मितालाई ।
    केही क्षणमा पुग्यौ घर। हर्न बजाए। सुस्मितालाई ओर्लिन लगाए र साइडमा पार्क गरे स्कुटि। बुवा र दाइ दुवैलाई सङ्गै ढोकामा देखे । काठमाडौ र पाल्पाबाट फर्किसक्नुभएछ। तर यति चाढै ? म आश्चर्यचकित भए । सुस्मिताको र मेरो बारेमा घरमा थाहा थियो नै, त्यसैले निस्संकोच उसलाई लिएर भित्र लागे । “नमस्कार बुवा !! नमस्कार दाजु !!”,सुस्मिताले दुवैलाई शिष्टारार गरि । मैले दुवैलाई ढोगे । तर ढोगेर उठ्दा बुवाको गहभरी आँसु थियो भने दाजुको अनुहार लो भोल्टेज आउदा बल्ने चिमभन्दा पनि कम; मलिनो भएको थियो।
    अझ अचम्म परे म। “के भयो हजुरहरुलाई? किन रुनलाग्नुभएको? भगाएको छैन के सुस्मितालाई “, मैले भने। “बाबू तेरो मिल्ने साथी रमेशको एक्सिडेन्ट भएछ,” आमाले सुकसुकाउदै भन्नुभयो। “हे प्रभु !! कुन अस्पतालमा छ रे ? कहाँ कसरी भएको ?”, म अतालिदै सोधे । “दुई दिन भयो रे । त्यही जङ्गलको नजिकै हो रे। अस्प्ताल लादा-लादै…..”, दाजुको बोली बोल्दा-बोल्दै अवरुद्ध भयो । अघि भर्खर त सुस्मिता र रमेश फर्किदै थिए भन्दै थिइ सुस्मिताले। ह्म्म शुरुमा भेट्दा सेतो सारी लगाएकी थिई तर पछि भेटाउदा पहेलो कुर्तासुरुवालमा । हो न हो त्यो रमेशको भुत हुनुपर्छ। म यस्तै सोच्दै थिए अचानक ढलेछु।
    शरीर भारी-भारी लाग्दै थियो । आँखा पनि खुल्न खोजिरहेका थिएनन् नै, सायद कसैले फेबिकोल लगाएर चप्काइदिएका छन् । जबर्जस्ती आँखा उघारे। सुर्य आकाशमा चढेर पनि गर्मी फैलाउन भ्याइसकेको रहेछ। वरिपरि हेरे। बुवा, मम्मी, दाइ सबैजना मलाई घेरेर बस्नुभएको रहेछ। उहाहरुको अनुहार चिन्तित थियो, मैले माने।
    “सुस्मिता? खोइ सुस्मिता? के आफुले माया गरेको मान्छे होशमा आउन्जेलसम्म पनि बस्न सकिन ?”, मैले सोधे। “सुस्मिता? आएकी पो कति खेर थिई र बिचरी, जो बसोस। अनि तँ पनि के भाको निद्रामा बडबडाउदै, अतालिदै थिइस तँ”, बुवाले भन्नुभयो। म अचम्म परे। हिजो रातीको जङ्गलयात्रा के सबै सपना पो थियो ? म मान्न सकिन।
    ” होइन, के भन्नुभएको बुवा हजुरले ? हिजै त म राति स्कुटी बिग्रेर अबेर आको। अनि हजुरले रमेशको एक्सिडेन्टमा डेथ भयो भनेर सुनाउनुभएको थियो। याद गर्नुहोस् त”, मैले भने। दाजु एकतमासले हास्न थाल्नुभयो,”केटोले सपना उधुमै देखेजस्तो छ त । उठ अब । शनिबार पुरै सुनेर बिताउने मन छ कि क्या तेरो”, दाईले भन्नुभयो।
    म उठेर हात-मुख धोए। मोबाइल हेरे। ५ मिस्डकल्स!! खोलेर हेरे, श्यामको रहेछ। झल्यास्स सम्झेँ, उसको डकुमेन्ट्स खोजेर इमेल गरिदिनु थियो। झोला खोजे। मेरो कोठामा थिएन। टिभी कोठादेखी दाजुको कोठासम्म सबैतिर खोजे। भेटाएन। सायद स्कुटिको डिक्किमै छोडेछु कि। गएर हेरे। नभन्दै त्यही रहिछ। झोलाको चेन खोले।
    आश्चर्य!! पहेलो कुर्ता र पहेलो चुन्नी थियो। रातिको घटना सपना हैन कि जस्तो लाग्यो। कुदे भित्र अनि सोधे सबैलाई गतरातिको घटनाको बारेमा। सबैले सपना नै भने। त्यो कुर्ता र चुन्निको कुरा जोडे। अब आश्चर्यचकित हुने पालो उहाहरुको थियो। मेरो नजर अचानक त्यस कुर्तामा लागेको रातो दागमा पर्यो। नियालेर हेरे । खु…खु…खु…खुन रहेछ !! झस्किए म !! आखिर, यो के हो ?

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु