skip this
  • अन्तरवार्ता

    अबको नेपाल वैज्ञानिक समाजवाद उन्मुख : नेकपा नेता तथा प्रदेश ३ सांसद :अविनाश

  • Jr Che Susan

    असोज:१४: चितवन,

    कमरेड अविनाश अर्थात चिन्ने जाने हरू उनलार्इ चितवनका प्रचण्ड पनि भन्ने गर्छन कारण हाे शसस्त्र जनयुद्धमा लामाे समय चितवनकाे भुमिगत अान्दाेलकाे नेतृत्व गर्नु । कास्की जिल्लामा जन्मनु भएका अविनाश (घनश्याम दाहाल ) चितवनमा २०५१ साल देखि नै माअाेवादी अान्दाेलनकाे नेतृत्व गर्दै अाउनु भएकाे थियाे । जनयुद्धमा लामाे समय चितवनकाे भुमिगत अान्दाेलकाे नेतृत्वकाे कारण नै   क्षेत्र नं. ३ काे प्रदेशिक  ख  बाट भारी  मतले  प्रदेश सांसदमा सहज जित हासिल गर्नु भएकाे थियाे ।
    Edchitwan अनलाईन का लागि जायश्वर आचार्य र सन्देश अधिकारी द्वारा उनै प्रदेश नं ३ का सांसद घनश्याम दाहाल “अविनाश” सँग लिईएको विशेष अन्तरवार्ता  ।
    १)पहिलो प्रश्न,अहिले प्रदेश नम्बर ३ मा कामकारबाहीहरु कसरी अगाडि बढिरहेका छन् केही भनिदिनु न?

    अहिलेको नेपालको प्रदेश सभा नेपालको इतिहासमा पहिलोपटक गठन भएको संरचना हो,त्यो कारणले विभिन्न कार्यहरु सञ्चालन गर्न धेरै अन्यौलता नै थियो, कर्मचारीहरूको अभाव, कामको अन्यौलता ले गर्दा करिब करिब ४-५ महिना बित्यो, पछिल्लो चरणमा सबै मन्त्रालयहरूले विधेयकहरू ल्याउनेक्रम रहेको छ र बजेट पनि पास भइसके पछि बजेटलाई कार्यान्वयन गर्ने विषयमा अझै छलफल बहसहरु भइरहेका छन्।

    २) प्रदेश मा आवश्यक ऐन कानून निर्माण गर्नुपर्ने हुन्छ, अहिले सम्म कतिओटा विधेयक पारित भयो र कतिओटा विधेयक पारित हुन बाँकी रहेका छन्?

    विधेयक हरुको कुरा गर्दा प्रदेश सभा ले १०० भन्दा बढी विधेयक पारित गर्नु पर्ने हुन्छ। अहिलेको अवस्था सम्म २२ ओटा विधेयक संसद मा पेश भई सकेको छ । त्यस मध्य १३ ओटा विधेयक पारित भई सकेको छ र राजपत्र मा पनि प्रकाशित भई सकेको छ र अरु चाहिँ प्रक्रियामा छन्। कतिपय विधेयक समितिमा गएका छन् दफावार छलफल को लागि र छलफल पश्चात पारित हुन्छन्।र कतिपय विधेयक को सैदान्तिक छलफल सकिएको छ,आगामी बस्ने संसद ले त्यसको टुंगो लगाउने छ।

    ३)अहिलेको संघीय संसद खासै काम गर्न नसक्ने अवस्था को छ र एक थरी व्यक्ति हरु संघीयता खारेज हुन पर्छ भन्छन् नि?

    यो स्वाभाविकै हो किनभने नेपालमा सबै मान्छे हरुलाई संघीयता मन परेको छैन,सबै मान्छे हरुलाई हिजोको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकरण गरेको मन परेको छैन।सबैलाई त मन पर्दैन नि! यही विरोध गर्ने व्यक्तिहरूले यो प्रदेश सभा ले केहि काम गर्न सक्दैन र यसलाई विगठन गर्नु पर्छ भन्ने माग राखेका हुन्। तर आम जनता को बुझाइ के हो भने सिंहदरबार को अधिकार गाउँ स्तर सम्म विकेन्द्रीकरण गर्नु सराहनीय मानी रहेका छन् तर गाउँ स्तर मा विभिन्न समस्या हरु जस्तै कर्मचारी अभाव, ऐन कानून को अभाव ले गर्दा काम राम्रो सँग सञ्चालन गर्न सकिएको छैन।

    ४)प्रदेश सभाको बजेट र यस मातहत सञ्चालन मा आएका विकास निर्माण का कार्यहरूको बारेमा प्रष्ट पारिदिनु न ?

    प्रदेश सरकार को अहिलेको बजेट करिब ३५ अर्ब ६१ करोड ५६ लाख रहेको छ। र यो पहिलो पटक भएको हुँदा तल पनि आम रूपमा केही न केही रूपमा योजना विनियोजन गर्न पर्नी र केही गौरब का योजनामा पनि खर्च गर्न पर्ने हुँदा अहिले सबैले जसरी सोचिरहेका थिए,त्यही रूपमा बजेट आउन सम्भव थिएन र सकेनपनी किनभने सबैलाई चाहिएको छ।तर हाम्रो छलफल कहा भई रहेको छ भने प्रदेश ले साना योजना मा हात हाल्नु हुँदैन र त्यस्ता योजना हरुको जिम्मा स्थानीय तह लाई नै दिनु पर्छ र अलि गौरब का योजना जस्तै औद्योगिक क्षेत्र सञ्चालन गर्ने,कृषि र पर्यटन मा विकास गर्ने कार्यहरू प्रदेश ले हेर्नु पर्छ।

    ५)अहिले नेपाल मा भएका तीन ओटा संरचना हरु जस्तै केन्द्र,प्रदेश र स्थानीय तह का काम कारबाही गर्ने क्षेत्र नमिलेको र जुधेको जस्तो देखियो नि किन होला?

    अहिले भन्नै पर्दा कुन कुन काम कसले गर्ने भन्ने अझै टुंगो लागि सकेको छैन। त्यही कारणले कुन संरचना ले के मा बजेट हाल्ने भन्ने अन्यौल छ।फेरि यो लामो समयको एकतन्त्रीय शासन व्यवस्था अन्त्य गरी आएको नयाँ व्यवस्था भएको ले यसलाई व्यवस्थित बनाउन केही समय लाग्नु स्वाभाविक पनि हो। तर व्यवस्थापन छिटो गर्न नसक्दा कतिपय आवश्यक ठाउँ मा कसैले नी ध्यान दिन नसकिएको र कतिपय ठाउँमा सबैको चाहिने भन्दा बढी ध्यान पुग्न गएको छ ।

    ६) तपाईं प्रदेश सभा को एउटा समिति को सभापति पनि हुनु हुन्छ,त्यसले गर्ने काम का बारेमा जनतालाई अवगत गराइदिनु न।

    पहिलो कुरो यो समिति मिनी सदन हो,सदन मा भन्दा बढी छलफल हुन्छ।संसद मा पेश भएका यो समिति सँग सम्बन्धित विधेयक हरु छलफल का लागि भनेर समितिमा आउँछ र समितिमा सकेसम्म सर्वसम्वत निर्णय हुन्छ।यस समितिमा संसद मा जस्तो प्रतिपक्ष र सत्तापक्ष भन्ने हुँदैन। यदि कोहि माननीय ज्यू ले संशोधन हाल्नु भएमा त्यसमा सहजताका साथ छलफल हुन्छ। वास्तवमा सदन को अभ्यास समितिमा हुन्छ पहिलो,दोस्रो सम्बन्धित मन्त्रालय हरुले गरेका निर्णयरु र उनीहरूले गरेका काम को अनुगमन गर्छ र नभएको अवस्थामा सरकारलाई प्रश्न गर्ने गर्दछ। र अन्य थुप्रै कार्यहरू समिति मार्फत हुने गर्दछन्।

    ७) प्रत्यक प्रदेश को राजधानी तोक्नु पर्ने हुन्छ,३ नं प्रदेश को राजधानी को विषयमा के सोच्नु भएको छ?

    राजधानी तोक्ने विषयमा एउटा कार्यदल पनि बनेको थियो,र त्यहाँ ५ ओटा जिल्ला जस्तै चितवन,काभ्रे, मकवानपुर, भक्तपुर र नुवाकोट बाट हाम्रो जिल्ला लाई राजधानी बनाउनु पर्छ भनेर निवेदन पनि परेको थियो।र उक्त कार्यदल ले सबै जिल्ला मा गएर फिल्ड अध्ययन गरेर प्रतिवेदन बुझायो। र अहिले राजधानी कहा राख्ने कुरो भन्दा पनि प्रदेश लाई व्यवस्थित कसरी गर्ने भन्ने कुरो मुख्य छ। त्यहीकारण ले राजधानीको विषयमा सबै माननीय हरुको छलफल पनि चलिरहेको छ,अहिले जनतामा यो व्यवस्था थोरै अन्यौलता भएको कारणले राजधानीको विषयलाई थाती राखेर जहाँ चलेको छ त्यही अलि व्यवस्थित गरेर चलाउँदै जदानै राम्रो होला। राजधानी फेरि बीचैमा पर्नु पर्छ भन्ने पनि छैन र त्यस्तो हुँदैन पनि। तर छेऊ मै परे पनि राजधानी सम्म जानको लागि सहज यातायात बनाउनु पर्ने चाहिँ हुन्छ।

    ८) अब थोरै पार्टी एकता तिर जाउ,अहिले प्रदेश मा पनि मुख्य नेतृत्व तोक्ने काम सम्पन्न भई सकेको छ,यो कुन आधार र कार्यविधि मा भएको हो र जिल्ला मा एकता को काम मा ढिलाइ भएको भन्न सकिन्छ?

    मुख्य कुरा प्रदेश को पदाधिकारी प्रतिशत को आधार मा होइन,सम्भव भएसम्म २-२ गरिएको हो अर्थात इन्चार्ज लिने ले सचिव लिने र सह इन्चार्ज लिनेले अध्यक्ष लिने गरिएको हो। तर कतिपय ठाउँमा त्यस्तो छैन, त्यहाँको आवश्यकता को आधार मा पनि जिम्मा दिइएको छ । कार्यसमितिको कुरो गर्दा नाम तयार गरिएको छ तर टुंगो लगाउन बाँकी छ। र जिल्ला को हक मा कुरा गर्दा सबै जसो जिल्ला हरुले कार्यसमिति मा को को रहने भनेर केन्द्र मा सिफारिस गरिसकेका छन् तर केन्द्र बाट टुंगो लगाउन मात्र बाँकी हो। संभवतः यो दशैँ अगाडि नै जिल्ला सम्म को एकता को काम टुंगिन्छ।

    ९)हजुरहरुकै पहिलाका सहयात्री हरु जस्तै वैद्य,विप्लप हरुले माओवादीले माओवाद भुल्यो,एमालेमा बिलय भयो भन्छन् नि?

    नेपालमा कम्युनिष्ट हरुको ध्रुविकरण लाई पनि रुचाउन नचाहने र अहिले जे जति परिवर्तन भएका छन् त्यसलाई पनि आत्मसाथ गर्न नसक्ने शक्ति हरुको भनाई हो त्यो। अहिले एमाले भन्ने पार्टी र माओवादी भन्ने पार्टी कुनै पनि नरहेको ले कुनै पार्टी कुनैमा बिलय भएको हैन। बिलय हुनु भनेको के हो भन्दा एउटा को अस्तित्व सीद्धिनु,आर्कोको अस्तित्त्व मा गएर रहनु हो। एउटा पार्टी अर्को पार्टी मा गएर मिसिएको हैन,दुइटै पार्टी बिगठन भएका एउटा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनेकोले यो दुइटा पार्टी बिचको एकता हो। र यो एकता देशलाई नयाँ मोड मा लैजान र विकास र समृद्धिको बाटोमा अगाडि बढाउन र देशलाई समाजवाद मा लैजान भएको हो।

    १०) समाजवादलाई सबै आ-आफ्नो ढंगले व्याख्या गरेका छन्, संविधानले पनि नेपाललाई समाजवाद उन्मुख भनेको छ, नेकपाले अंगिकार गरेको समाजवाद कस्तो समाजवाद हो?

    कांग्रेसको बुर्जुवा समाजवाद, त्यस्तै यथास्थितिवादी समाजवाद पनि छ,रुढीवादी समाजवाद पनि छ,तर हामीले भनेको समाजवाद भनेको बैज्ञानिक समाजवाद हो।अब संविधान मा लेखिएको समाजवाद भनेको समाजवाद मा जानको लागि आधार तयार हो,र त्यसमा कांग्रेस ले टेक्दा उसले पुँजीवादी समाजवाद तिर लैजाने,त्यसलाई राप्रपा ले टेक्दा यथास्थितिवादी समाजवाद तिर लैजाने र त्यसलाई कम्युनिस्ट हरुले प्रयोग गर्दा वैज्ञानिक समाजवाद तिर लैजान्छन्।अहिले प्रतिपक्ष हरुले यति धेरै किन गरिरहेका छन् भन्दा कतै कम्युनिस्ट हरुले नेपालमा वैज्ञानिक समाजवाद त ल्याउँदैनन् भन्ने डर को कारणले गर्दा हो।

    ११) अहिलेको प्रदेश सरकार र केन्द्रीय सरकारबीच केही टकराव जस्तो अवस्था देखिन्छ त्यो अवस्था ३ नं प्रदेश मा छ कि छैन?

    प्रदेश सरकारहरु आफैंमा स्वायत्त पनि छन्, दुई नं प्रदेश को समस्या अर्कै हो, त्यहाँका प्रवृत्तिहरू अलि भिन्न प्रकारका छन् केन्द्रीय सरकारले अलि पहलकदमी लिएर छलफल गर्नुपर्ने आवश्यकता छ। र संविधानभन्दा बाहिर गएमा त्यसलाई अंकुश लगाउनुपर्ने पनि हुन्छ किनभने केन्द्र सरकारको दायित्व भनेको यो संविधानलाई हुबहु कार्यान्वयन गर्ने पनि हो।अब कुरा आयो ३ नं प्रदेश को, एउटा नयाँ विधि र प्रक्रियामा भएका बेला,अर्को नेपाली राज्यसत्ता को मात्रै हैन नेपाली जनताको पनि चलिआएको बानी कस्तो हो भने आफूले पाएको आधिकार सजिलै अरूलाई हस्तान्तरण गर्दैन र नगरेको इतिहास छ।यो कुरा सत्ता मा पनि लागू हुन्छ र अलिकति क्यान्फ्युजन अझै छ।त्यै काम कारबाहीका बारेमा पनि क्लियर छैन। हामीले भनेउ केन्द्र ले प्रदेश लाई हेर्न पर्यो र प्रदेश ले स्थानीय तहलाई हेर्न पर्यो। यो विधि भयो भने एकले अर्कालाई सहयोग गर्ने वातावरण तयार हुन्छ र विकास निर्माण का कार्य अगाडि बढ्छ।

    १२) अहिले नेकपा को दुई तिहाई को सरकार छ,र सरकार बन्ने बित्तिकै देशमा अलि अराजक अवस्था जस्तो देखियो,यसले सरकार लाई र पार्टीलाई अलि अप्ठ्यारो पार्दैन र?

    पक्कै पनि पार्छ, अहिले जति पनि घटनाहरु घटेका छन् उक्त घटनाहरुमा सरकार निर्मम बन्नु पर्दछ,र बन्न सकेन भने एकथरी मान्छेहरु धमिलोपानीमा माछामार्ने दाउमा रहेका छन् र उनीहरुलाई यसले सहयोग गर्दछ। सरकार जति कडारुपमा अगाडि बढ्नुपर्ने थियो त्यो पुगेन भन्ने नै छ सबैको। सरकारले गर्न खोजेको त छ जुन गतिमा अघि बढ्नुपर्ने थियो त्यो चाहिँ अलि नपुगेको जस्तो देखियो। अहिले फेरि यो सरकारलाई असफल बनाउनका लागि सारा शक्ति लागेका छन्।

    १३) अहिले चर्चामा रहेको घटना निर्मला पन्त को छ,यो घटना को दोषिलाई लुकाउन सरकार नै लागेको छ भन्छन् नि तपाईंले कसरी हेर्नु भएको छ?

    मलाई लाग्छ त्यो घटना मा प्रशासन को कहिन कहीं केही न केही कमजोरी भयो,त्यो आधारमा सरकारले त्यहाँका सम्बन्धित अधिकारीहरूलाई कारबाही पनि गरेको छ, र अनुसन्धानको काम अगाडि बढाएको छ दोषी पत्ता नलागेसम्म त सरकार को आलोचना गर्नु स्वभाविक हो।मान्छेको चाहना सरकारले चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गरोस् भन्ने छ त्यसैले सरकार ले आफ्नो काम चाँडो भन्दा चाँडो गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    १४) अब अन्तिम प्रश्न, हजुर त चितवनको सबैभन्दा पुरानो कम्युनिस्ट नेता, हजुरबाट र नेकपा बाट चितवनका जनताले के आशा गर्न सक्छन् प्रष्ट पारिदिनु न।

    अब पहिलो कुरो नेकपाले नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको हो र त्यो आधारमा यो परिवर्तन सम्भव भएको हो। अब चितवनको पार्टीले परिवर्तनहरुलाई जनताको बीचमा पुर्याउने, यहाँका जनताहरुलाई यो परिवर्तन मा समाहित गराउने र अगाडि बढाउने र समाजवाद मा जानको लागि बाटो तयार गर्ने काम गर्नु पर्दछ। र मेरो भूमिका अहिले यहाँको पार्टीलाई सहयोग गर्ने नै हो, र यहाँका जनताको समस्या समाधान गर्न प्रदेश बाट सहयोग गर्ने छु।र यहाँका जनताको पक्षमा उभिने छु ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु