skip this
  • फिचर

    नेता पिच्छेकै ‘इन्टेन्सन्’, नेविसंघ विघटनको संघारमा

  • पुस २६, २०७५ काठमाडौं : नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन गर्नका लागि दोस्रो पटक थपिएको म्याद सकिन एक हप्ता मात्र बाँकी छ। गत भदौमा म्याद सकिएको नेविसंघको विधानअनुसार मंसिर २ गतेसम्मका लागि म्याद थपिएको थियो। तर उक्त मितिमा पनि महाधिवेशन गर्न नसकेपछि पार्टीले माघ २ गतेसम्म महाधिवेशनको मिति तोकेको थियो। पार्टीले दिएको समससीमाअनुसार नेविसंघले पनि २८ देखि ३० गतेसम्म तीन दिन महाधिवेशनको मिति तय गरेको थियो। तर उक्त मितिमा पनि महाधिवेशन हुन नसक्ने निश्चित छ। पार्टीका नेताले नै नेविसंघको महाधिवेशन बाँड्न खोजेको नेविसंघका नेताहरूको आरोप छ। नेताहरू नेविसंघको महाधिवेशन गर्न गम्भीर नभएको नेविसंघका नेताको आरोप छ। नेविसंघको महाधिवेशनलाई लिएर पार्टीभित्र नेताहरू एक मत हुन सकेको छैन। नेता पिच्छेकै ‘इन्टेनसन’का कारण संघ विघटनको संघारमा पुगेको हो। पार्टीका शीर्ष नेताका कारण नेविसंघ अनिर्णयको बन्दी बनेको छ। नेविसंघको म्याद माघ २ गते सकिँदै गर्दा पनि पार्टीले भने केन्द्रीय समिति बैठक माग १० गते मात्र राख्ने भएको छ। यसबीचमा पार्टीले केही निर्णय नगरे नेविसंघ नेतृत्वविहीन हुने सम्भावना रहेको नेविसंघ नेताहरूको भनाइ छ। तर नेविसंघलाई कुनै हालतमा विघटन गर्न नदिने नेविसंघको विवाद मिलाउन बनेको निर्देशक समितिका संयोजक तथा पार्टी सहमहान्त्री प्रकाशशरणको भनाइ छ। ‘हामी समयमै निर्णय गर्छौँ’, उनले भने, ‘१० गते बैठक बोलाइएको भए पनि शीर्ष तहमा छलफल गरेर केही न केही त गर्छौँ नै।’ पुस अन्तिम साता नेविसंघको महाधिवेश गर्न तातिएका नेताहरू अहिले सेलाएका छन्। १४ जिल्लामा अधिवेशन गरे पनि अन्य जिल्लामा भने आपसी विवादका कारण अधिवेशन हुन सकेको छैन। तर नेविसंघको महाधिवेशनका लागि पुनः म्याद थपिने अध्यक्ष नैनसिंह महरको दाबी छ। ‘विघटन गरेर कसलाई ल्याउने। हामी पनि कांग्रेस नै हौँ त’, उनले भने, ‘दुई महिना म्याद थप्दै गर्दा सकिँदैन भनेर मैले भनेकै थिएँ। त्योबेला नेताहरूले पछि म्याद थप्ने आश्वासन दिनुभएको थियो। अहिले नै यसै भन्न सक्दिनँ। तर हामी निर्वाचित समितिले निर्वाचनको माध्यमबाटै जिम्मा लगाउँछौँ।’ नेताहरूको आ-आफ्नै चहाना पार्टीभित्र नेताहरूको आआफ्नै चाहनाका कारण पनि नेविसंघको आगामी भविष्य अन्योलमा परेको छ। पार्टीका शीर्ष नेताहरूबीचमा नेविसंघको विषयलाई लिएर आ-आफ्नै उद्देश्य हुँदा समस्या भएको हो। संस्थापन समूहमै दुई ध्रुव देखिन्छ। सभापति शेरबहादुर देउवा मौन भए पनि पार्टी उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच नेविसंघको विषयलाई लिएर टकराव छ। यी दुई नेताहरूबीच आफ्ना विद्यार्थी नेतालाई स्थापित गर्ने प्रतिस्पर्धा नै छ। तर संस्थापन समूह भने नेविसंघ विघटन गर्ने मनस्थितिमा पुगेको छ। विघटन गरेपछि गठन हुने तदर्थ समितिमा उमेर हद नलाउने पक्षमा उपसभापति निधि छन्। उनी ३२ वर्षे उमेर हद हटाएर नेविसंघका महामन्त्री सरोज थापालाई तदर्थ समितिको अध्यक्ष बनाउने लविङमा छन्। उमेर हद लागे पवन यादवलाई अध्यक्ष बनाउन निधिले लविङ गरिरहेका छन्। तर सहमहामन्त्री डा. महत भने कुनै पनि हालतमा उमेर हद लगाउनै पर्ने पक्षमा छन्। यसअघि उनकै दबाबमा पार्टी केन्द्रीय समितिले उमेर हद लगाउँदै नेविसंघको विधान पारित गरेको थियो। डा. महत आफू निकट विद्यार्थी नेता प्रेमराज जोशीलाई टीका लगाएर अध्यक्ष बनाउन चाहन्छन्। जोशी केही महिनापछि नै उमेर हद पार गर्ने भएकाले तत्काल नेविसंघ विघटन गरेर तदर्थ समिति बनाउने पक्षमा छन्। त्यसकारण नेविसंघ भंग गर्न संस्थापन समूहले अनुकूल समय खोजिरहेको स्रोतको दाबी छ। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त यसअघि नै नेविसंघ विघटनको माग गर्दै आएका थिए। उनी निकट नेता दीपक भट्टराई पनि म्याद थपेकोमा असन्तुष्ट छन्। विनातयारी र विधानविपरीत नेविसंघको म्याद थप्दै जानु विधानविपरीत भन्दै पौडेल समूहले विघटनको माग गर्दै आएको छ। यसअघि ११ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका मनोजमणि आचार्यलाई पौडेल समूहले तदर्थ समितिको अध्यक्ष बनाउन चाहेको छ भने दीपक भट्टराई र हिमालदत्त श्रेष्ठलाई महामन्त्री बनाउने योजना पौडेल समूहको छ। यस्तै, महामन्त्री डा. शशांक कोइराला भने सागर परियारलाई अध्यक्ष बनाउन चहान्छन्। पार्टीभित्र तेस्रो धारको रूपमा परिचित कृष्णप्रसाद सिटौला समूहले भने यसअघि नै छ महिना म्याद थप्न माग गरेको थियो। त्यसकारण यो समूहले म्याद थपेर भए पनि अधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ। ‘हामीले जिल्ला अधिवेशनहरू गरिरहेका छौँ’, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले भन्छन्, ‘माहोल राम्रो बनेको छ। त्यसकारण महाधिवेशनको विकल्प छैन।’ यसअघि उमेर हद राख्नै नहुने माग गरेको तेस्रो धारले भने अब विधान केन्द्रीय समितिबाट पारित भइसकेको अवस्थामा तदर्थ समिति बनाए पनि उमेर हद लगाउनुपर्ने माग गरेको छ। तेस्रो धारबाट सुशील भट्ट, डुजाङ शेर्पा, निरञ्जन थापा, गणेश सापकोटा र नवराज त्रिपाठी आकांक्षी हुन्। भट्ट नेताहरू अर्जुनरसिंह केसी, प्रदीप पौडेल र नेविसंघ महामन्त्री काफ्लेको विश्वास पात्र मानिन्छन्। उनी सिटौला र गगन थापासँग पनि समदूरीमा छन्। यस्तै, शेर्पा र त्रिपाठी पनि नेता थापा निकट मानिन्छन् भने सापकोटा पौडेल निकट हुन्। विद्यार्थी नेता निरञ्जन थापा नेता केसीका विश्वास पात्र हुन्। उनी पौडेलसँग पनि नजिक छन्। शीर्ष नेताको जिल्लामै भएन अधिवेशन महाधिवेशनका लागि तातिएको नेविसंघले पार्टीभित्रकै शीर्ष नेताबाट सहयोग पाएन। दुई महिनाअघि मिति तय गरेर महाधिवेशनमा होमिए पनि पार्टीका शीर्ष नेताको गृहजिल्लामै नेविसंघको अधिवेशन हुन सकेको छैन। पार्टी सभापति देउवा र नेविसंघ अध्यक्ष महरको गृहजिल्ला डडेल्धुरमा पनि अधिवेशन हुन सकेको छैन। विद्यार्थी नेताबीच आन्तरिक द्वन्द्व बढ्दा अधिवेशनका लागि समस्या भएको छ। यस्तै, वरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा पनि अधिवेशन हुन सकेको छैन। पौडेल निकटका विद्यार्थी नेताहरू आफू सहमतिबाट आफू निकटको नेतालाई अध्यक्ष बनाउन लागिपरेको स्रोतले बताएको छ। यस्तै, उपसभापति निधिको गृहजिल्ला धनुषामा पनि आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको छैन। महामन्त्री डा. शशांक कोइरालाले संसदीय निर्वाचनमा जितेको जिल्ला नवलपरासीमा पनि अधिवेशन भएको छैन भने अर्का महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि अधिवेशन भएको छैन। यस्तै, नेविसंघको विवाद मिलाउन बनेको समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. महतको गृहजिल्ला नुवाकोटमा पनि अधिवेशन भएको छैन। उक्त जिल्लाका नेविसंघ अध्यक्ष उत्तम पाठक महतका स्वकीय सचिव पनि हुन्। यसबाट पनि नेविसंघलाई विघटन गर्न नेताहरू लागि परेको नेविसंघका एक शीर्ष नेताको आरोप छ। ‘शीर्ष नेताहरूले आफ्नो जिल्लामा अधिवेशनका लागि समन्वयनकारी भूमिका खेल्नुपर्ने हो’, उनले भने, ‘तर उहाँहरू नै मौन हुनुहुन्छ। यसले नेताहरूले महाधिवेशन गर्न नचाहेको प्रष्ट हुन्छ। तर नेविसंघ अध्यक्ष महतले भने महासमिति बैठकले गर्दा समस्या भएको दाबी गरे। ‘महासमिति बैठकले समन्वयन गर्ने नेताहरूलाई पनि १५ दिन अलमल्यायो’, उनले भने, ‘त्यसपछि स्कुल, कलेजहरूमा जाडो बिदा भयो। त्यही भएर समस्या भएको हो।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु