skip this
  • फिचर

    चितवनका बैँकहरुले भने : शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन कोही आएन, ऋण कसरी लिने ? पुरा पढ्नुस

  • मधुसूदन दवाडी

    चितवन, फागुन ८

    www.narayanionline.com

    सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म ऋण दिने व्यवस्था गरे पनि चितवनमा यसको कार्यान्वयन हुन सकेको छैन ।

    यसबारे आवश्यक जानकारी नभएकोले पनि मानिसहरु द्विविधामा रहेको बैँकहरुले जनाएका छन् । नेपाल बैँक नारायणगढका शाखा प्रबन्धक खड्ग सिंह मोक्तानले कार्यविधि बनेर सर्कुलर आइसकेको छ तर यसबारे जानकारी लिन आउने मानिसहरुले प्रक्रिया नबुझेको बताए । उनले भने, ‘ आममानिसमा शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण तिर्नु पर्देन, सिधै लिन सकिन्छ भन्ने मनोभावना रहेको पाइन्छ ।’ उनले ऋणको बारेमा सोध्न बुझ्न आए पनि के गर्ने भन्ने युवाहरुमा स्पष्ट सोच भने नपाइएको बताए ।

    बैँकहरुमा राष्ट्र बैँकले जारी गरेको सर्कुलर अनुसार युवाहरुले कुनै स्पष्ट प्रस्ताव लिएर आएमा जग्गा जमिनको सट्टामा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लैजान सक्छन् । पैसा दिने वा नदिने भन्ने अन्तिम अख्तियारी भने स्वयं बैँकको नै रहन्छ । प्रभु बैँक नारायणगढका प्रबन्धक राजु पन्तले राष्ट्र बैँकबाट कार्यविधि र सर्कुलर आइसकेको भए पनि प्रभु बैँकमा बुझ्न कोही नआएको जानकारी दिए । उनले भने, ‘स्पष्ट उद्देश्यसहित आएमा ऋण लिने प्रक्रिया पूरा गरेर बैँकबाट युवाहरुले कर्जा लैजान सक्छन् । ’

    कृषि कर्जा प्रवाहमा पनि विस्तारै वाणिज्य बैँकबाट सुरु भएर विकास बैँकमा आएको र अहिले विकास बैँकहरु पूर्णतया सफल भएको उनको भनाइ थियो ।

    शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने सरकारी कार्यविधिमा एउटै परिवारका सदस्यमा एक जनाले भन्दा बढीले धितो लिन नपाउने व्यवस्था गरिएको छ । जसको मुख्य उद्देश्य धेरै भन्दा धेरै परिवार लाभान्वित हुन् भन्ने नै हो । त्यस्तै सात लाख रुपैयाँ मात्र लियो भने सरकारले अनुदान दिएर जम्माजम्मी ३० हजार रुपैयाँ मात्र व्याज तिर्नुपर्ने नेपाल बैँक लिमिटेड चितवनका प्रबन्धक मोक्तानले बताए । केही न केही व्यवसाय सुरु गरेका युवाहरुलाई यस योजनाले सहयोग पु¥याउने तर सबै बैँकको पैसाले मात्र व्यवसाय गर्छु भन्नेलाई गाहे भएको उनले बताए । काठमाडौँमा नेपाल बैँक लिमिटेडको मुख्य कार्यालयबाट १० जना जतिले लिएको भए पनि चितवनमा भने कसैले नलिएको नेपाल बैँक लिमिटेड नारायणगढका प्रबन्धक मोक्तानले जानकारी दिए ।

    कतिपय अर्थ विश्लेषकहरुले भने यसअघि डा बाबुराम भट्टराईको समयमा सरकारको स्वरोजगार कोष असफल भएको तितो अनुभव भएकोले पनि यस्ता योजनामा बैँकहरुले दिल खोलेर लगानी गर्न नसक्ने दाबी गरे । यस्ता योजनामा ऋण तिर्न नपर्ने र सिधै मिनाहा पाइन्छ भन्ने जस्ता सोच धेरै मानिसहरुले राख्ने गर्नाले यस्ता लोकप्रिय योजनाहरु असफल हुने उनीहरुको विश्लेषण छ । यति कसैसँग व्यवसायको बारेमा स्पष्ट योजना छ र ऊसँग धितो राख्ने जग्गाजमिन छैन भने बैँकबाट सिधै शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लान सकिने बैँकहरुले बताएका छन् ।

    कसरी लिने कर्जा  ?

    काठमाडौँ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो ।

    आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो ।

    अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् ।

    स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्र्तीण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बंैकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा रु पाँच लाखसम्म ऋण पाउनसक्ने व्यवस्था छ ।

    उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ ।

    उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राखुपर्छ । यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ । यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् ।

    (रासस)

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु