skip this
  • फिचर

    राजधानीमै कसले पड्कायो बम ? प्रहरी यसो भन्छ

  • काठमाडौँ : मानिसहरु आफ्नो निवासतर्फ फर्कन व्यस्त भइरहेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो । एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी भएको यो विस्फोटमा फुटपाथमा हिँडिरहेका दुई महिला र एक पुरुष गम्भीर घाइते भए ।

    एनसेलको मुख्य कार्यालय बाहिर बम पड्किए लगत्तै राजधानीको कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्स भित्र बम रहेको खबर केही बेरमै राजधानी उपत्यकाभरी फैलियो ।

    आँगन स्विट्समा बम राखिएको खबर पाउनेबित्तिकै पुगेको प्रहरीले तत्कालै नेपाली सेनाको बम डिस्पोजल टोली झिकायो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बमको सूचना पाएलगत्तै सेनाको डिस्पोजल टोली आँगन मिठाइ पसलमा परिचालित भइसकेको बताए ।

    क-कसलाई चोट लाग्यो ?

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बम विस्फोटबाट घाइते भएकामा स्टाफ नर्स छन् । एनसेल अगाडि भएको विस्फोटमा परेर नर्सहरू प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएका हुन् । अर्का घाइतेमा  सिंहप्रसाद गुरुङ रहेका छन् ।

    बम विस्फोछि ढलेकी उरूषाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरू प्रतीक्षाको सुरूमा अल्का अस्पतालमा उपचार गरिए पनि उनको पनि अहिले मेडिसिटीमै उपचार हुँदेछ । प्रहरीका अनुसार सिंहप्रसाद र प्रतिक्षाको अवस्था गम्भीर रहेको छ। सुरूमा ग्वार्कोस्थित बिएण्डबी अस्पताल भर्ना गरिएका सिंहबहादुरलाई पनि मेडिसिटी नै लगेको खुलेको छ ।

    एनसेलमा बम पड्काउने को ? 

    नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट हुँदा फुटपाथमा हिँडिरहेका दुई महिला र एक पुरुष घाइते भएका छन् ।

    बम पड्किएपछि घटनास्थलमा पुगेको ललितपुर प्रहरीले त्यहाँबाट कुनै पनि दल या समूहको पर्चा पम्प्लेट भेट्टाएन । एनसेल परिसरमा बम पड्किएको सूचना पाएसँगै अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयबाट पनि विशेष अनुसन्धान टोली पुगेको थियो । तर प्रहरीले त्यहाँ घटना गराउने समूहको सुराक पाउन सकेको छैन ।

    ‘बम पड्किएको स्थानमा अनुसन्धान गर्दा अहिलेसम्म कुनै पनि समूहका पर्चा भेटिएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ’, नेपाल प्रहरीका प्रवक्ता सुवेदीले भने, ‘घटनापछि कसैलाई पक्राउ नगरिएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

    आँगनमा कुकर बम 

    एनसेलमा बम विस्फोट भएलगत्तै कमल पोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्समा राखिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख एसपी अशोक सिंहका अनुसार आँगन स्विट्समा रहेको कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

    उपत्यकामा सुरक्षा कडा

    एनसेलमा बम विस्फोट र कमल पोखरीको आँगन स्विट्समा कुकर बम भेटिएको सूचनासँगै प्रहरी प्रधान कार्यालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ ।

    ‘उपत्यकाका सबै जिल्लाका युनिटहरुलाई एलर्ट गराइसकेका छौँ, सुरक्षा व्यवस्था कडा भएको छ’, प्रवक्ता सुवेदीले भने, ‘ठाउँ ठाउँमा चेक जाँच खानतलासी र शंकास्पदहरुमाथि निगरानी बढाइरहेका छौँ ।’

    महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले चेक जाँचमा कडाइ गरिएको जनाउँदै परिसर अन्तरगतका सबै युनिट अहिले सुरक्षा व्यवस्था कडा बनाउन जुटेको बताए ।

    कसले पड्कायो ? 

    प्रहरीका अनुसार एनसेलमा बम पड्काउने समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन । कमल पोखरीस्थित आँगन स्विट्समा पनि बम राख्नेको कुनै विवरण खुलेको छैन ।

    दुवै ठाउँबाट कुनै पनि किसिमको पर्चा पम्प्लेट नभेटिएकाले प्रहरीले बम राख्ने समूहको पहिचान गर्न नसकेको हो । एनसेलले सरकारलाई कर नतिरेको भन्दै यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले आक्रमण गर्दै आएको थियो ।

    विप्लव समूहले एक वर्षअघि देशका विभिन्न स्थानमा रहेका एनसेलका तीन दर्जन बढी टावरमा बम विस्फोट र आगजनी गरेर क्षति गरेको थियो । उसले यसअघि एनसेलमा आक्रमण गर्दा घटना स्वीकारेको पर्चा पम्प्लेट छाड्ने गरेको थियो । तर एनसेलको काठमाडौँकै कार्यालयमा भएको आक्रमणमा कुनै समूहले पनि तत्काल घटना स्वीकारेका छैनन् ।

    दुई साता अघि मात्रै सर्वोच्च अदालतले एनसेलले तिर्न बाँकी रहेको करिब ७० अर्ब लाभकर सरकारलाई बुझाउन आदेश दिएको थियो । तर सर्वोच्चको त्यो आदेश कार्यान्वयनमा सरकारले अहिलेसम्म चासो दिएको छैन । विप्लव समूहले यसअघि लाभकर नतिरेको भन्दै एनसेलका पूर्वाधारमाथि आक्रमण गर्दै आएको थियो ।

    विप्लव नबोल्ने

    नख्खुस्थित एनसेलमा भएको आक्रमणबारे विप्लवको नेकपाले तत्काल मौन बस्ने रणनीति लिएको छ । बम विस्फोटको घटनापछि विप्लव नेतृत्वको नेकपाका एक नेतासँग अन्नपूर्णले सम्पर्क गर्दा यसबारे तत्काल कुनै प्रतिक्रिया नदिने बताए ।

    तर उनले एनसेलले कर तिर्नुपर्ने कुरामा यसअघि नै आफ्नो विद्यार्थी संगठनले एनसेललाई चेतावनी दिइसकेको कुरा भने खुलाए । तर उनले आफूहरुले नै आक्रमण गरेको भन्नेबारे अहिले नै केही नबोल्ने भन्दै पन्छिए । सर्वोच्चको आदेशपछि विप्लवको विद्यार्थी संगठनले कर तिर्न एनसेललाई चेतावनी दिँदै आएको थियो । यदि कर नतिरेको खण्डमा भौतिक आक्रमणसम्म हुन सक्ने चेतावनी उसले दिएको थियो

    किन आक्रमण ?

    फागुन ७ टुँडीखेलमा भएको ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैतमा हुन लागेको लगानी सम्मेलन भाँड्ने शक्तिहरु देशमा सक्रिय भएको बताएका थिए ।

    प्रधानमन्त्रीले भारतीय कम्पनीले निर्माण गरिरहेको संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनमा भएको बम विस्फोट र आगजनीको घटनालाई लिएर लगानी सम्मेलन भाँड्ने शक्ति सक्रिय भएको जनाउ दिएका थिए ।

    अरुण तेस्रोमा भएको बम विस्फोट र आगजनीको घटनाको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन । त्यो आक्रमण शंकास्पद भन्दै सरकारले छानबिन पनि अघि बढाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु