skip this
  • फिचर

    हेमन्त प्रकाशविरूद्ध चार मुद्दाः संगठित, राज्यविरुद्ध, हातहतियार र बम बिस्फोट

  • नेकपा ‘विप्लव’ माओवादीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका नेता-कार्यकर्तालाई चार मुद्दामा अनुसन्धान थालिएको छ।

    प्रहरीका अनुसार ओलीसहितका माओवादीहरूलाई संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान थालिएको हो। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आइतबार जिल्ला अदालत ललितपुरले सबैलाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ।

    मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्य रहेका रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक छन्।

    बा१७च ४८९३ नम्बरको स्कोर्पियोका चालक राजबाहकलाई पनि प्रहरीले मुद्दा चलाएको हो। विप्लव नेता कार्यकर्ताले राजबाहकले चलाउँदै आएको स्कोर्पियो भाडामा लिएका थिए।

    प्रारम्भिक अनुसन्धानमा चार मुद्दा आकर्षित हुने ठानेर ललितपुर प्रहरीले सबैलाई अदालतबाट म्याद थप गरेको हो। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाउने प्रहरीको तयारी छ। ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चल्ने ललितपुर प्रहरीले जनायो। प्रहरीका अनुसार ओलीसँगै पक्राउ परेकाहरु बम बिस्फोट घटनामा संलग्न छन्।

    नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। बिस्फोटमा ललितपुर-४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए।

    मुलुकी अपराध संहिता अनुसार राज्यविरुद्धको अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ। कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ। यस्तै, बम बिस्फोटमा मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।

    संगठित अपराध मुद्दामा तीनदेखि पाँच वर्ष सजाय हुने व्यवस्था छ। संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ।

    यसअघि पक्राउ परेका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइएको छ।

    प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका-४ बरुणबेसीबाट शनिबार विप्लव माओवादीमा तेस्रो वरियताका नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो।

    महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पेस्तोल, गोली तथा बम बिस्फोटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो।

    खानीखोलाबाट ‘सुदर्शन’ले नेता तथा सदस्यहरू लिएर काठमाडौं हिँडेका थिए। त्यसक्रममा चालक राजबाहकको स्कोर्पियो भाडामा लिइएको थियो।

    बरुणबेसीमा प्रहरीले चेकजाँच गर्दा उक्त स्कोर्पियोमा सवारमध्ये सुदर्शनको साथमा जापानिज गोली लोड गरिएको पेस्तोल एक थान, त्यसको म्यागजिन र २१ राउन्ड गोली फेला परेको अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताए।

    यस्तै, स्कोर्पियोमा बम बिस्फोटमा प्रयोग हुने जिलेटिन पाँच थान, डेटोनेटर पाँच थान फेला परेको थियो।

    सुदर्शनसहितका व्यक्तिहरू बम बिस्फोटको योजना बनाएर हिँडेको भन्ने शंका प्रहरीको छ। ‘कुनै ठाउँमा बम बिस्फोट गराउन आवश्यक सरसामग्रीसहित हिँडेको हाम्रो अनुमान छ,’ एक प्रहरी अधिकृतले भने, ‘तर, उनीहरूले काभ्रेकै अर्को ठाउँमा सर्न खोजेको बयान दिएका छन्।’

    प्रहरी स्रोतका अनुसार ओलीले आफू विप्लव माओवादीको प्रवक्ता भनेका छन्। खड्गबहादुर विश्वकर्मालाई प्रवक्ता भनिँदै आएको थियो। विश्वकर्मा र विप्लवबीच ‘मनमुटाव’ रहेकाले केही समयअघिबाट ओलीलाई प्रवक्ताको जिम्मेवारी दिइएको स्रोत बताउँछ।

    के हो गृहको सर्कुलर?

    सरकारले प्रतिबन्धको निर्णय गरेसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका विध्वंशात्मक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई ‘सर्कुलर’ गरेको छ।

    गृह स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले फागुन २८ गते विप्लव माओवादीलाई प्रतिबन्ध गर्ने निर्णय गरेपछि सो निर्णय कार्यान्वयन गर्न प्रहरीलाई ‘सर्कुलर’ गरिएको हो। तर, त्यो ‘सर्कुलर’को व्याख्याबारे भने गृहले प्रतिक्रिया दिएको छैन।

    गृह स्रोतले सरकारको उक्त निर्णय गरेसँगै सो कार्यान्वयन गर्न प्रहरीलाई ‘भनिएको’ हो। ‘सरकारले विप्लव माओवादीका विध्वंशात्मक गतिविधि नियन्त्रण र प्रतिबन्धको निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्न गृहले प्रहरीलाई चिठी लेखेको हो,’ गृह उच्च स्रोतले सेतोपाटीसँग भन्यो।

    गृहले लेखेको चिठीमा ‘मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउनू’ भनिएको प्रहरी स्रोतले बतायो। ‘मन्त्रिपरिषदको निर्णय कार्यार्थ निर्देशनानुसार अनुरोध गरिएको छ,’ गृहको पत्रबारे प्रधान कार्यालय स्रोतले भन्यो।

    गृहका अधिकारीहरूका अनुसार यो निर्देशन कार्यान्वयन गर्न प्रहरीले विप्लव माओवादीका कुनै पनि गतिविधिमाथि फराकिलो अधिकार राख्छ। त्यसमा पक्राउ गर्ने, मुद्दा चलाउने र विध्वंशात्मक गतिविधि नियन्त्रणको अख्तियारी छ। त्यस्ता गतिविधिमा संलग्न विप्लव माओवादीका जो कोही पक्राउ पर्ने र उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुन्छ।

    देशभरिका ठूला अपराधका घटनामा प्रहरीले विप्लव माओवादीका कार्यकर्तालाई कर्तव्य ज्यान मुद्दा, संगठित अपराध, हातहतियार तथा खरखजना र बम बिस्फोटको मुद्दा चलाइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु