skip this
  • फिचर

    विप्लव समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र, शंकास्पद सबैमाथि निगरानी

  • काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई कठोर बनाएको छ । देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ता देख्नासाथ सबैलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

    प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार विप्लव समूहका सबै प्रकारका गतिविधिमाथि निगरानी बढाइएको छ । सोमबारमात्रै विप्लव समूहले कालीकोटमा प्रहरी भ्यानमाथि विष्फोटको प्रयास गरेको थियो ।

    तर, सरकारले प्रतिबन्धको घोषणा गरेपछि भने विप्लव समूहका गतिविधि केही कम भएका छन् । त्यसअघि विप्लव समूहले दैनिकजसो देशका विभिन्न स्थानमा बम राख्दै र विष्फोट गराउँदै आएको थियो । सरकारको प्रतिबन्धलगत्तै प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र उनीहरुको भातृ संगठनले गर्ने सम्पूर्ण क्रियाकलाप निषेधित भएकाले कुनै पनि क्रियाकलाप हुन नदिने र त्यसो भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने’ भन्दै आन्तरिक सर्कुलर जारी गरेको छ ।

    सशस्त्र प्रहरीले पनि विप्लव समूहमाथि निगरानी बढाएको डिआईजी सुरज श्रेष्ठले जानकारी दिए । ‘‘उनीहरुविरुद्ध सक्रियता बढाएका छौं । कतिपय स्थानमा नेपाल प्रहरीसँग संयुक्त सुरक्षा गस्ती पनि गरिरहेका छौं । उनीहरुले गोप्य वा सार्वजनिक रुपमा कुनै पनि प्रकारको कार्य गरेको पाइए तत्काल नियन्त्रणमा लिन्छौं,’’ श्रेष्ठले भने ।

    नेपाल प्रहरीका प्रवक्ता सुवेदीका अनुसार पछिल्लो एक महिनामा मात्रै विप्लव समूहका १ सय ४६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १२५ जनामाथि अनुसन्धान सुरु गरिएको छ । नख्खु बम विष्फोटपछि प्रहरी विप्लव समूहविरुद्ध आक्रामक बनेको थियो । पक्राउ पर्नेमा हेमन्तप्रकाश ओली स्थायी समितिका सदस्य हुन् । उनी नै पक्राउ परेकामध्ये सबैभन्दा ठूला नेता हुन् । यो अवधिमा विभिन्न स्थानबाट हतियार, विष्फोटक पदार्थ पनि बरामद भएको एसएसपी सुवेदीले बताए ।

    मुलुकका प्रमुख दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी भौतिक रुपमै ‘हाइ अलर्ट’मा छन् भने राष्ट्रिय अनुसन्धान विभागलाई सूचना संकलनका लागि प्रभावकारी रुपमा लाग्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

    विभिन्न पहाडी जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । प्रहरीले देशभर विप्लवका नेता–कार्यकर्ता रहने सम्भावित स्थानमा छापासमेत मारेको छ । पछिल्लो समय विप्लव समूहका सबैजसो केन्द्रीय तहका नेताहरूको मोबाइल अफ छ । विप्लव समूहकै कारण सीमा नाका, ग्रामीण क्षेत्र, राजमार्गलगायत क्षेत्रमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सरकारले गतिविधिमा प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् । यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । प्रहरी अधिकारीका अनुसार शंकास्पद गतिविधि गर्ने जाेकोही पनि निगरानीमा रहन्छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु