skip this
  • फिचर

    शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

  • कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ ।

    वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार यसवर्ष कृष्णसारका वयस्क भाले २४, पोथी २७, अर्ध वयस्क भाले ४, पोथी चार र एक हप्तादेखि पाँच महिनासम्मका बच्चाको सङ्ख्या ३१ रहेको छ ।

    सन् २०१७ मा कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले ८, पोथी दुई र एक हप्तादेखि पाँच महीनासम्मकाको सङ्ख्या १६ रहेको थियो । सन् २०१६ मा कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै थियो । सोमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो ।

    वि.सं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको छ । अतिरिक्त खानाको व्यवस्थाका कारण कृष्णसारको सङ«ख्या बढेको अधिकृत चौधरीले बताए ।

    कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ । निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन २५ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ ।

    चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताए । उनका अनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनाबर त्यस क्षेत्रमा जान डराउने गर्दछन् । पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा निकुञ्ज कार्यालयले ग्राभेल गरेको छ भने कृष्णसारलाई हेर्न मचानको समेत व्यवस्था गरिएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी शिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ ।

    नेपालमा कृष्णसार सबैभन्दा बढी झण्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ । घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ । यसले ६÷६ महिनामा बच्चा जन्माउने गर्दछ । वर्षमा अन्य जनावर जस्तो कृष्णसारको सिङ्ग झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङखैरो हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु