skip this
  • blog

    जातसहितका कम्युनिष्ट :अधिकांस कार्यकर्ताको घरभित्र पस्नै पाएको छैन । कि त छिँडीमा हो, कि त गोठमा, बस्नुपर्छ

  • २० साउन, काठमाडौं । वाम विश्लेषक विश्वभक्त दुलाल अर्थात् आहुति अहिले नयाँ पार्टी निर्माणको अभियानमा छन् । पार्टीको नाम जुरिसकेको छ, र अनामनगरमा सम्पर्क कार्यालयमा पनि खुलिसकेको छ । तर, औपचारिक घोषणा गरिएको छैन ।

    तीन दशकभन्दा बढिदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहे पनि आहुति एक लेखक वा सामाजिक चिन्तकका रुपमा बढी चर्चित छन् । खासगरी जातीय विभेदका मुद्दाहरुमा उनको कलम निकै दौडिन्छ । जातीय विभेदलाई ऐतिहासिकतासित जोडेर वर्तमानमा यसको हल खोज्नुपर्ने तर्क गर्छन् उनी ।

     

    व्यक्तिगत जीवनको कुरा गर्दा आहुति काठमाडौंका रैथाने हुन् । यद्यपि, अहिले डेरामा बस्छन् । ओभरसियरको पढाइ छाडेर उनी राजनीतिमा होमिएका थिए । पहिलो विवाह असफल भएपछि उनले पार्टीकै सहयोद्धासँग दोस्रो बिहे गरेर घरजम गरिरहेका छन् । पहिली श्रीमतीतर्फ एक छोरी र दोस्रीतर्फ दुई छोरी छन् ।

    आहुतिसँग उनको व्यक्तिगत जीवन तथा दर्शनहरुमाथि करिब तीन घण्टा कुराकानी भयो । व्यक्तिगत जीवनका विषयमा कुरा गर्दा ‘कुल’ भएर जवाफ दिएका उनी सैद्धान्तिक प्रश्नहरुमा भने खुबै ताते ।

    प्रस्तुत छ, अन्तरवार्ताको पूर्णपाठ:

    आहुतिलाई कसरी चिन्ने ?

    ठोसरुपमा आफैंले कसरी भन्ने र ? राजनीतिक कार्यकर्ता त भइहालेँ । लेख्ने गरिएको छ, त्यसैले लेखक पनि भइयो । यही दुईवटा नै मुख्य परिचय हुन् । अरु त भइपरी आउने काम गरिरहेको छु ।

    पछिल्लो समय जातीय अभियन्ताको छवि पनि बनाउनुभएको छ नि ?

    राजनीतिमा आइसकेपछि जुन–जुन विषयमा आवश्यक हुन्छ, लेख्नुपर्ने–बोल्नुपर्ने हुन्छ । मुलभुत रुपमा म कम्युनिष्ट हुँ । यसअन्तर्गत नै जिम्मेवारी अनुसार कहिले कुन काम प्राथमिकतामा हुन्छ कहिले कुन । जातीय अभियन्ताकै मात्र छवी बनेको छ जस्तो चाहिँ लाग्दैन ।

    तपाईंका लेख तथा अभिव्यक्ति जातीय मुद्दाहरुमा बढी केन्द्रित भएको र जातीय संकीर्णता तपाईंमा हावी हुँदै आएको आरोप लगाउनेलाई के जवाफ दिनुहुन्छ ?

    त्यस्तो मलाई कसैले भनेको छैन । मैले लेखेका वा बोलेको कुराले कसैलाई त्यस्तो महसुस भएको छ भने बहसमा आउन तयार छु । मैले वर्ण व्यवस्थाका केही तथ्यहरुलाई उजागर गरेको छु । त्यो जातीयभन्दा सामाजिक संरचनाको विषय हो ।

    कतिपय मान्छेलाई आफ्नो बुझाइभन्दा फरक विषय आउनासाथ सुरुमा झनक्क रीस उठ्छ । तर, भन्दै गइसकेपछि चाख लाग्छ । तेस्रो चरणमा मात्रै उसले कुरा बुझ्छ र तटस्थ भावमा आउँछ । मैले इतिहास, समाजशास्त्र, राजनीति तथा सामाजिक चेतनाका विविध आयाममा नौलो ढंगले विश्लेषण गरेको छु । यस्तो विश्लेषण सुन्दा एकथरीलाई इरिटेसन हुन्छ । तिक्तता अनुभव हुन्छ । त्यसलाई मैले अस्वाभाविकरुपमा लिएको छैन । छलफल गर्दै जाँदा र श्रृंखलामा पढ्दै जाँदा कन्भिन्स हुने स्थिति पनि आउँछ ।

    तपाईं विश्वभक्त दुलालबाट कहिले र किन ‘आहुति’ बन्नुभयो ?

    पञ्चायतकालमा साहित्यिक लेखनमा उपनाम प्रयोग गर्ने लहर थियो । पारिजात, मञ्जुल, श्यामल, रामेश, रायनलगायत धेरैले उपनाम प्रयोग गर्नुभएको छ । दोस्रो कारणचाहिँ तत्कालीन परिस्थितिमा पञ्चायती दमनबाट जोगिनका लागि छद्म नाम प्रयोग गर्नुपर्ने वाध्यता पनि थियो । वास्तविक नामबाट व्यवस्थाविरोधी साहित्य लेख्दा प्रहरीको टार्गेटमा परिहालिन्थ्यो ।

    मैले एउटा रुसी उपन्यासको हिन्दी अनुवाद पढेको थिएँ, जसको नाम ‘आहुति’ थियो । त्यो नाम मन परेर प्रयोग गर्न थालेको हुँ । मेरा साहित्यक रचनामा सुरुदेखि अहिलेसम्म यही नाम प्रयोग गरिरहेको छु ।

    राजनीतिक रचनामा चैं थरीथरी नामले लेखेँ । आकाश, अमरसिंह सिन्धुलीय, अरुणकुमार, आयुषमान श्रेष्ठलगायत नामबाट लेखेको छु । एउटा नामबाट चिनिन थालेँ भने फेरिहाल्थेँ ।

    प्रजातन्त्र आएपछि राजनीति लेखहरुमा छद्म नाम प्रयोग गरिरहनुपर्ने भएन । त्यसैले सबैतिर आहुति नै लेख्न थालेँ । राजनीति र साहित्य दुबैमा अन्ततः यही नाम स्थापित भयो ।

    आजकाल व्यक्तिको जातीय पहिचान निकै खोज्ने गरिएको छ । तपाईंले चाहिँ आफ्नो नाममा जातीय पहिचान खुलाउनुपर्ने आवश्यकता बोध गर्नुभएन ?

    उपनाममा थर जोड्ने प्रचलन छैन । मेरो जात पनि सबैलाई थाहै छ, चिनाइरहनु पर्दैन । मेरो नागरिकताको नाम विश्वभक्त दुलाल नै हो । आवश्यक पर्दा यो नाम पनि प्रयोग गर्न मलाई अप्ठेरो लाग्दैन ।

    तपाईको पारिवारिक पृष्ठभूमि बताइदिनुस न ।

    म दस्तकार परिवारमा जन्मेको हुँ । हाम्रो पुख्र्यौली पेशा भनेको छाला जुत्ता बनाएर बेच्ने नै थियो । अलिअलि खेतबारी पनि थियो । आर्थिक हिसाबले निम्न मध्यमवर्गीय परिवार भन्न सकिएला । म जन्मिनु अगावै क्यान्सरका कारण बुवा बित्नुभयो । मेरा दुई दाजु र दुई दिदी हुनुहुन्थ्यो । परिवारमा स्कुल जान पाएको मैले मात्र हो ।

    तपाईंले वाल्यकालमा कहिलेबाट जातीय विभेद वा छुवाछुतको पीडा महसुस गर्न थाल्नुभयो ?

    विभेद त जीवनका सबै आयाममा भोगियो । घरबाट निस्किनासाथ विभेद सुरु हुन्थ्यो । गाउँमा मुलत ३/४ जाति थिए । नेवार, क्षेत्री, मगर र दलित । हामी घरबाट निस्केर समाजमा प्रवेश गरेदेखि नै विभेद विभेदको श्रृंखला प्रारम्भ हुन्थ्यो । बाटोमा पुग्नेवित्तिकै मानिसहरुसँग छोइछाई हुन्थ्यो कि भनेर डराउनुपथ्र्यो । पँधेरामा पानी भर्दादेखि स्कुलमा पढ्न जाँदासम्म जातीय विभेदको अनुभव गरियो । मैले कहिल्यै स्कुलमा पानी खाइनँ । गाग्रीमा पानी राखिएको हुन्थ्यो । तर, आफूले सार्न नपाउने । अर्काले माथिबाट हालिदिएर आफूले तल दुई हात थापेर खानुपथ्र्यो । मैले त्यसरी कहिले पनि खाइनँ । बरु तिर्खाएरै दिन बिताएँ ।

    स्कुलमा शिक्षक र साथीहरुले पनि अवहेलना गर्थे ?

    त्यस्तोचाहिँ भएन । मचाहिँ ५ कक्षादेखि लगातार फस्र्ट भएँ । पढाइमा जेहेन्दार भएकाले गर्दा मलाई सोझै हेप्न सक्दैनथे । शिक्षकबाट पनि त्यस्तोखालको दुव्र्यवहार भएन । विद्यामन्दिर माविको हामी पहिलो एसएलसी ब्याच थियौं । त्यसैले स्कुलले मबाट आशा राखेको थियो ।
    स्कुलमा नभए पनि गाउँ समाजमा चाहिँ विभेद उत्कर्षमा नै थियो ।

    यही सामाजिक विभेदका कारणले हो तपाईं कम्युनिष्ट बन्नुभएको ?

    सानैदेखि हजुरबाले मभित्र एकखालको जागरण पैदा गरिदिनुभएको थियो । हामी र हाम्रो जातका मानिसहरुमाथि सामाजिक विभेद भइरहेको छ भन्ने बुझ्न थालेको थिएँ ।

    उहाँले एक दिन मेरो किताबमा ‘चीन सचित्र’ भन्ने नेपाली भाषाको पत्रिकाको गाता हालिदिनुभयो । गातामा माओत्सेतुङको फोटो थियो । उहाँले सुनाउनुभयो, ‘यो मान्छे जन्मिनेवित्तिकै ७ पाइला हिँडेको हो । यसले धनी–गरिब, जातपात सबै हटाउँछ । त्यतिबेला नै मेरो मनभित्र कम्युनिष्टप्रति आकर्षण पैदा भयो ।

    यद्यपि, हाम्रो गाउँमा त्यतिबेला कम्युनिष्ट थिएनन् । तत्कालीन पञ्चायती व्यवस्थाविरोधी भनेर कांग्रेसलाई मात्र बुझिन्थ्यो । म पनि ०३६ सालको जनमत संग्रहमा नबुझी–नबुझी कांग्रेसको जुलसमा हिँड्थेँ । कम्युनिष्टमा लागेको एसएलसीपछि मात्र हो ।

    तपाईंले बाल्यकालमा आफ्नो पुर्ख्यौली पेसाचाहिँ सिक्नुभएको थिएन ?

    अहँ, मैले सिक्ने मौका पाइनँ । खासमा बुवा बित्नुभएपछि परिवार धान्ने जिम्मेवारी दाइ–दिदीहरुले लिनुभयो । कान्छो सन्तान भएकाले मैले त्यो काममा हात हाल्नु परेन । मैले पढेर राम्रो जागिर खाएको हेर्न चाहनुहुन्थ्यो सबैजना ।

    एसएलसीपछि क्याम्पस भर्ना भएर पनि पढाइ किन छोड्नुभयो ?

    जेहेन्दार विद्यार्थीले साइन्स पढेर डाक्टर, इन्जिनियर नै हुने लक्ष्य राख्थे त्यतिबेला । मैले पनि राखेको थिएँ । डाक्टर बन्न चाहिँ समय लाग्ने । चाँडै जागिर खाएर पैसा कमाओस् भन्ने परिवारको चाहना थियो । त्यसैले मैले ओभरसियर पढ्ने भएँ । जम्मा दुई वर्षको पढाइपछि ओभरसियर भइन्थ्यो र तुरुन्तै जागिर पनि पाइन्थ्यो ।

    म पुल्चोक क्याम्पसमा भर्ना भएको थिएँ । तर, १३ महिनाको पढाइपछि जाँच चलिरहँदा एकाएक मलाई पढाइबाट मोहभंग भयो । जाँच दिन साइकल चढेर पुल्चोक क्याम्पस जाने क्रममा मैले थापाथलीबाट बाटो मोडेँ । अनि, पढाइलाई त्यहीँबाट तिलाञ्जली दिएँ ।

    के सोचाइ आयो त्यतिबेला ?

    त्यतिबेलासम्म मभित्र राजनीतिक सचेतना निकै बढिसकेको थियो । धेरैखाले पुस्तकहरु अध्ययन गरेको थिएँ । क्रान्तिकारी फिल्महरु हेरेको थिएँ । धेरै ठाउँमा भ्रमण गरेको थिएँ । राजनीतिक पार्टीको सम्पर्कमा आएको थिएँ ।

    त्यसैले इन्जिनियरिङको पढाइका क्रममा मेरो बाटो यो होइन भन्ने मलाई भइरहेको थियो । एउटा ओभरसियर वा इन्जिनियर बनेर मैले आरामको जिन्दगी त बाँच्न सक्थेँ, तर त्यस्तो जिन्दगी बिताउने रुची हराइसकेको थियो । समाज परिवर्तन गर्ने हुट्हुटी थियो मनभित्र । परिक्षा दिन गइरहँदा यही हुटहुटीले उग्ररुप लियो । मनमस्तिष्कमा आगो दन्कियो ।

    त्यसदिन इन्जिनियरिङ म्याटेरियलको परीक्षा दिन हिँडेको म थापाथलीबाट फरक्क फर्केर थानकोटतिर साथीभाइ भेट्न पुगेँ ।

    तपाईंको यस्तो निर्णयमा परिवारको आपत्ति भएन ?

    परिवारलाई एक वर्षपछि मात्र थाहा भयो । थाहा पाएपछि पनि कसैले मलाई एक शब्द केही भन्नुभएन । हाम्रो परिवारमा व्यक्तिगत स्वतन्त्रताको उच्च अभ्यास थियो । अलिकति अराजकताकै स्तरमा ।

    एक वर्षपछि दिदीले मेरा साथीहरुमार्फत थाहा पाउनुभएछ । ‘तैंले पढाइ छोडेको हो ?’ भनेर सोध्नुभयो । मैले घोसेमुन्टो लगाएर ‘हो’ भनेँ । दिदीले ‘ए’ भन्नुभयो । त्यत्ति हो । किन छोडेको भनेर पनि सोध्नुभएन । अरुले पनि केही भन्नुभएन । यो कुरा मलाई अहिले सोच्दा पनि आश्चर्य लाग्छ ।

    परिवारलाई छलेर एक वर्षसम्म चाहिँ के गर्नुभयो ?

    म बिहान कलेज जाने भनेर हिँड्थेँ । तर, जान्थेँ नेपाल–भारत सांस्कृतिक केन्द्रको लाइब्रेरीमा । दिनभरि त्यहीँ किताब पढेर बिताउँथेँ । बेलुका लाइब्रेरी बन्द भएपछि घर फर्किन्थेँ । सबैले क्याम्पस गएर आएको भन्ठान्थे । पछि त्यो लाइब्रेरीका आफ्नो रुचीका किताब सकिएपछि कीर्तिपुरको केन्द्रिय पुस्तकालय जान थालेँ । करिब २ वर्ष मैले त्यसरी बिताएँ ।

    राजनीतिक यात्राचाहिँ कसरी सुरु भयो ?

    ०४० सालको आसपासमा म सोनाम साथी, रुपलाल विश्वकर्माहरुले चलाएको नेपाल सर्वाहारावादी श्रमिक संगठनमा आवद्ध भएँ । त्यतिबेला धेरै नेताहरु भूमिगत नै थिए । आवरणमा विभिन्न पेशा अंगालेर भित्रभित्र राजनीतिक गतिविधिहरु गरिन्थ्यो ।

    मलाई चाहिँ सुरुमै सिन्धुपाल्चोकको एउटा स्कुलमा शिक्षकका रुपमा काम गर्न पठाइएको थियो । त्यहाँ सरकारी स्कुलमा पढाएर १३ महिना बसेँ । दिउँसो विद्यालयमा पढाउने र राति संगठनको काम गर्थेँ । तर, प्रहरीले पत्तो पाएपछि भाग्नुपर्‍यो।

    त्यहाँ बस्दा आफ्नो जात लुकाउनुभएको थियो क्यारे, होइन ?

    हो । मैले आफ्नो वास्तविक जात लुकाएको थिएँ । त्यो बाहुन गाउँ थियो । दुलालहरु त जैसी पनि हुन्छन् । मैले आफूलाई जैसी दुलाल भनेर चिनाएँ ।

    यति मात्र होइन, त्यतिबेला जनै लगाउने र जप गर्ने पनि गर्थेँ । पार्टीका एक नेताले मलाई गायत्री मन्त्र सिकाएका थिए । तर, उनले मलाई सही मन्त्र सिकाएका रहेनछन् ।

    पछि गाउँलेहरुले थाहा पाए कि पाएनन् ?

    जात त थाहा पाएनन् । तर, म कम्युनिष्ट हुँ भन्ने चाहिँ गाईगुई चल्न थाल्यो । प्रहरीको कानमा पनि यो कुरा पुग्यो । त्यहाँ एउटा सानो प्रहरी चौकी थियो । चौकीका एकजना हवल्दार थिए मेरा निकै मिल्ने साथी बनेका थिए । उनले मलाई ‘तिमीलाई पक्राउ गर्ने तयारी छ, भागीहाल’ भनेर एकजना प्रहरीकै साथ लगाएर गाउँबाट भगाएका हुन् ।

    त्यसपछि के गर्नुभयो ?

    त्यसपछि मलाई पार्टीले मजदुर आन्दोलनको जिम्मेवारी दियो । मैले केही समय मजदुरी नै गरेँ । टेन्ट बनाउने एउटा कम्पनीमा काम गर्न थालेँ । पछि प्रेस मजदुरका रुपमा पनि काम गरेँ । त्यो सँगै ०४५/४६ को आन्दोलन सुरु भयो ।

    फागुन ७ गते हामीले .जुलुस निकाल्ने तयारी गरेका थियौं । तर, ५ गते नै म पक्राउ परेँ । दुई दिन निकै यातना दिएर राखियो । ८ गते तारेखमा छोड्यो । आन्दोलन सफल भएर प्रजातन्त्र आएपछि मैले तारेख धाउनु परेन ।

    ०४६ सालपछि पाँचवटा साना कम्युनिष्ट पार्टी मिलेर एकताकेन्द्र बन्यो । त्यसमा नरबहादुर कर्माचार्य अध्यक्ष, रुपलाल विश्वकर्मा उपाध्यक्ष र प्रचण्ड महासचिव हुनुहुन्थ्यो । मैले त्यही पार्टीमा काम गरेँ । ०५१ सालमा एकताकेन्द्रमा फुट आएपछि हामी निर्मल लामाहरुसँग रह्यौं । प्रचण्डहरु जनयुद्धमा होमिनुभयो ।

    तर, अहिले त तपाईं पनि जनयुद्धको प्रशंसक बन्नुभएको छ, होइन ?

    जनयुद्धका केही कमी–कमजोरीहरु भए पनि यसले निश्चितरुपमा देशमा ठूला उपलब्धिहरु दिएको छ । पहिलो उपलब्धी त नेपालबाट राजतन्त्रलाई उखेल्ने काम जनयुद्धले नै गर्‍यो ।

    दोस्रो, नेपाली समाजका उत्पीडित महिला, जनजाति मधेसका ऐतिहासिक मुद्दाहरुलाई केन्द्रीय मुद्दाका रुपमा स्थापित गरिदियो । त्यसको समाधान हुने–नहुने अर्को कुरा हो ।

    तेस्रो, उत्पीडित समुदायका मानिसलाई ब्यापकरुपमा राजनीतिक कार्यकर्ताको रुपमा विकास गर्‍यो । पछि उनीहरु के भए, कसो भए अर्कै कुरा हो ।

    चौथो, ग्रामीण तहका सामन्तवादका कैयौं कडीहरु ध्वस्त पारिदियो । पाचौं, दक्षिण एसियामै पहिलोपटक महिला र दलितलाई बन्दूक बोकायो । दलितहरुले बन्दुक बनाउने मात्र हो, बोक्ने होइन भन्ने थियो । महिलालाई त झन् कमजोर सोचिन्थ्यो । त्यस्तो बेलामा उनीहरुलाई माओवादीले विश्वास गरेर बन्दुक दियो । त्यो चानचुने कुरा थिएन ।

    महिला–दलितहरुलाई बन्दुक बोकाउनुलाई पनि उपलब्धी मान्ने त्यसो भए ?

    संसारमा शक्तिको स्रोत आखिर केमा छ त ? पैसा, हतियार र बुद्धिमा छ होइन ?

    त्यसो भन्दैमा युवाहरुको हातबाट कलम खोसेर बन्दुक भिराउनु ठीक थियो त ?

    हरेक परिवर्तनमा त्यस्तो हुन्छ । मैले पनि त पढाइ छोडेको हो । कसैले जबरजस्ती छोडाएको त होइन । हतियार बोक्नु ठीक–बेठीक भन्दा पनि केको निम्ति बोक्यो भन्ने महत्वपूर्ण हुन्छ । परिवर्तन, न्याय र समानताका लागि बन्दुक बोक्नुलाई गलत ठहर गर्न मिल्दैन । जुन उत्पीडितले कहिले पनि शक्तिमा जान पाएनन्, उनीहरुले बन्दुकमार्फत शक्ति आर्जन गरे ।

    शक्ति आर्जन त गरे होला । तर, तुलना गर्ने हो भने देशका आम युवाहरु त्यसबेलाभन्दा आज बढी निराश छन् । जनयुद्धले देशलाई २० वर्ष पछाडि धकेल्यो भनेर सोच्नेहरुको तप्का ठूलो छ । तपाईंलाई के लाग्छ ?

    त्यस्तो कसरी भन्न मिल्छ ? म त देश अगाडि नै बढेको देख्छु । यदि त्यतिबेला चाहिँ रामराज्य थियो भने युवाहरु उत्साहका साथ ज्यान हत्केलामा राखेर युद्ध लड्न किन जान्थे ? अहिले एउटा जुलुसमा सय जना मान्छे पनि आउँदैनन् । त्यसैले त्योबेला बढी निराशा थियो । अहिले मध्यमवर्ग हावी भएर बढी निराशाको प्रचार गरेका मात्र हुन् ।

    जनयुद्धमा अर्बौंका विकास संरचना ध्वस्त भए । कैयौं संख्यामा महिलाहरुको सिन्दुर पुछियो । कैयौं आमाहरुका कोख रित्तिए । विद्यालयबाट निकालेर युद्धमा हिँडाइएका युवाहरु आज खाडीमा रगत–पसिना बेचिरहेका छन् । यो पक्षलाई कसरी नजरअन्दाज गर्न मिल्छ ?

    त्यो त यस्तो हो । अहिले माओवादी पार्टी र नेतृत्वले पूँजीवाद र दुश्मनसँग साँठगाठ गरेर गएकाले ती पीडा बल्झेर गएका हुन् । नेतृत्वले ठीक बाटोमा गएको भए त्यो पीडा पनि गौरव हुन्थ्यो । नेतृत्वको डप्mफा पतन भएपछि बलिदान गरेकालाई त्यो खेर गएको महसुस भएको हो । एउटै चिज गर्व पनि हुन सक्छ र प्रायश्चित पनि ।

    अहिले उभिएको ठाउँबाट हेर्दा त्यो ‘बलिदान’ खेरै गएको तपाईं पनि मान्नुहुन्छ ?

    मलाई लाग्दैन । त्यसो हो भने त १९९७ मा झुण्ड्याइएका चार योद्धाको बलिदानी खेर गएको हो त ? २००० वर्ष अगाडि मारिएको स्पार्टाकसको बलिदान खेर गएको हो ? आखिर जनयुद्ध नभएको भए नेपालमा राजतन्त्र उन्मूलन त हुने थिएन नि ।

    राजतन्त्र हटाएको त सात दलहरुको आन्दोलनले होइन र ?

    पटक्कै होइन । जनयुद्ध नभएको भए राजतन्त्र फ्याक्न असम्भव थियो । रत्नपार्कमा कति महिना कराइयो ? केही भएको थियो ? गणतन्त्रको मूल जग जनयुद्ध नै हो । जे सही हो, त्यसलाई इमान्दारितापूर्वक स्वीकार्नुपर्छ । जनयुद्धले उत्प्रेरकको भूमिका निभायो । त्यसकै वरपर जनआन्दोलन भएको हो ।

    त्यसो हो भने आफू त्यतिबेला जनयुद्धमा नलागेकोमा अहिले पछुतो हुन्छ ?

    त्यस्तो पनि होइन । त्यतिबेलाको विश्लेषण हाम्रो सही नै थियो । पछि फिल भयो कि माओवादी आन्दोलनले शक्ति आर्जन त गरिसक्यो । यद्यपि, यो टुंगोमा चैं पुग्दैन भन्नेमा हामी प्रष्ट थियौं । त्यसैले जति आर्जन गरेको छ, त्यति उपलब्धी लिइहालौं भनेर न शान्तिप्रक्रियामा गइएको हो । आफू सहभागी नभएकैले जनयुद्धको उपलब्धीलाई नजरअन्दाज गर्ने पक्षमा म छैन ।

    नेपालमा जनयुद्धले जातीयताको विष रोपिदियो र त्यसैले अहिले ठूलो रुप लिएर समृद्धिको एजेन्डा पछाडि पर्‍यो भन्ने तर्क पनि गरिन्छ । यसमा तपाईंको के भन्नु छ ?

    यो चाहिँ बनिबनाउ र रोपिएको तर्क हो । त्यो पनि सत्ताधारीहरुले रोपेको । नेपालमा जातियता भनेको के हो त ? नेपाल जातमा आधारित समाज होइन र ? पृथ्वीनारायणको पालादेखि जंगबहादुरले ल्याएको मुलुकी ऐनमा कुन जातले के गर्न पाउने भनेर प्रष्टै लेखेको छ । जातमा आधारित सोसाइटी हो यो ।

    कम्युनिष्टले त समाजलाई वर्गीय रुपमा हेर्छन् नि होइन र ?

    को कम्युनिष्टको कुरा गर्नुभएको ?

    तपाईं स्वयम्लाई भनेको ।

    मैले के भनेको छु र ?

    नेपाली समाज वर्गीय नभएर जातीय हो भन्दै हुनुहुन्छ ?

    जे कुरा हो त्यसलाई जस्ताको त्यस्तै बुझिदिनु पहिले । गलत लागे अनि भन्नु । नेपाली समाज जातमा आधारित हो कि होइन, पहिले त्यो कुरा गरौं । नेपालमा कति मन्दिर छन् ? कम्तीमा एक हजारवटा ? ती मन्दिरमा कुन जातका मान्छे पुजारी छन्, अपवादबाहेक ? पण्डित, पण्डा, महन्तहरु । कुन जातका छन् ? निजामति सेवामा दलित सचिव हुनुपर्ने नि ।

    कुनै पनि सचिव बाहुन भएको आधारमा त त्यो पदमा पुगेका होइनन् होला । प्रतिस्पर्धा गरेर आउनेसँग किन गुनासो गर्नुहुन्छ ? पण्डित, पण्डाहरु पनि सम्वन्धित विषयको ज्ञान भएरै आएका होलान् ।

    लोकसेवा आयोगले पण्डितका लागि विज्ञापन खोलोस न त कतिजना दलितले दिन्छन् जाँच । भन्न लाज छैन मान्छेहरुलाई । यो त स्पष्ट जातको व्यवस्था हो नि । यति ठाउँमा यो जात मात्रै पर्ने भन्ने प्रष्टै छ । नेपालमा लिच्छवीकालदेखि विर्ता बाँडियो । बिर्ता कसले पायो ? हिन्दू उच्च जातकाले पाए । अपवादबाहेक है । सम्पत्ति नै जुनबेला मुख्य आधार हुन्थ्यो, त्यतिबेला विर्ता निश्चित जातले मात्रै पाउने भएपछि त्यो बर्ग हो कि होइन ? बर्ग भन्या के ?

    जातले नै वर्ग सिर्जना गर्‍यो त्यसो भए ?

    विल्कुल हो । तपाईंको थर के भन्नुस त ?

    पौडेल ।

    बाहुन पौडेल हो ?

    हो ।

    त्यसोभए म ठोकुवा गरेर भन्छु, कि तपाईंको पुस्तामा कोही पनि हलिया बस्नुपरेको छैन ।

    हलिया नहोलान्, तर मेरै जात वा मेरै थरका मानिसहरु पनि विपन्न वर्गका, दुई छाक खान नसक्ने स्थितिमा धेरै देखेको छु ।

    मेरो कुरा त राम्रोसित सुन्नुस् । तपाईं किन उत्तेजित बन्नुहुन्छ ? तपाईं बाहुन हो भन्ने मैले थाहा पाउनेवित्तिकै तपाईंको पुस्तामा हली कोही थिएन भनेर भन्न सकेँ नि । अब अर्को नाम लिन्छु । असर्फी सदा मुसहर । उ हलिया मजदुर होस वा नहोस् उसको कुनै खलक सामन्तचाहिँ थिएन भनेर तपाईं भन्न सक्नुहुन्छ कि सक्नुहुन्न ? किन भन्न सकेको त भन्दा नेपालमा निश्चित जातको निश्चित स्टाटस हुन्छ । जात व्यवस्था भनेको सुरुमा वर्ग व्यस्था नै हो नि । अहिले पो केही भत्कियो ।

    एक–दुईवटा जातको त्यसरी भन्न सकिएला, तर ‘जनरलाइज’ गर्न नमिल्ला नि ? जस्तो कि नेवारलाई पिछडिएको जाति भनेर आरक्षण दिइएको छ, के सबै नेवार विपन्न नै छन् ?

    आरक्षणको कुरा अर्कै हो । त्यो वर्गसँग सम्वन्धितै छैन ।

    त्यसोभए किन दिने त आरक्षण ?

    म भन्छु नि । धेरै मान्छेले के तर्क गरे भने आरक्षण कमजोर बर्गलाई दिइयो । आरक्षण बर्गीय हिसाबले दिने नै होइन । विभिन्न सांस्कृतिक, भाषिक र सामाजिक रुपमा राज्यका संयन्त्रमा ऐतिहासिक रुपमा सामेल हुन नपाएका मानिसहरुको समुहलाई मुलधारमा ल्याउनलाई आरक्षण दिइएको हो ।

    के इतिहासतिर फर्किन आवश्यक छ, अहिले समानता भए पुग्दैन ?

    कहाँ जाने त इतिहासमा नगए ? इतिहासमा नजाने कुरामा भयंकर गडबडी छ । ऐतिहासिकरुपमा गरिएको विभेदको क्षतिपूर्ति अहिलेको उच्च भनिएका जातकाले तिर्ने कि नतिर्ने भन्ने प्रश्न हो ।

    मानौं, मेरो १० पुस्ता अगाडिले शोषण गरे अरे, तर के त्यसको सजायँ आज मैले भोग्नुपर्ने उसोभए ?

    तपाईंलाई सजायँ दिने कसले भनेको छ ? म क्षतिपूर्तिको कुरा गर्दैछु । एउटा कुरा भन्छु । महिलाहरुलाई मैले कहिले उत्पीडन गरेको छैन । तर, पुरुषहरुले नै बनाएको नीति–नियमले गर्दा आजका महिला यति कमजोर भएका हुन् नि । त्यसैले हरेक पुरुषले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ । म पनि आफ्नो हिस्साको जिम्मेवारी लिन र क्षतिपूर्ति गर्न तयार छु । तपाईं पनि तयार हुनुपर्छ ।

    तपाईं अरुको भाग खोसेर निर्माण हुनुभएको छ । सरकारलाई कर क–कसले तिरे भन्दा सबै नेपाली जनताले तिरे । तर एउटा जातविशेषले स्कुल जान पाएन । ऐतिहासिकरुपमा बहिष्कृत गरेपछि उसको पुस्ता पछि पर्‍यो कि परेन । पढ्न पाएको भए अरु कुलमानहरु निस्किहाल्छन् नि ।

    यदि जातले रोक्ने भए एउटा कुलमानचाहिँ कसरी निस्के ?

    अपवादको कुरा नगर्नुस न । त्यसो हो भने संसारमा अत्याचार केही पनि भएको थिएन भनेर मान्नुपर्‍यो । कुनै लोकतन्त्र–सोकतन्त्र पनि जरुरी छैन भन्नु परो । लोकतन्त्र भनेको इतिहासमा भएको अत्याचारको क्षतिपूर्ति हो नि । नत्र राजतन्त्र किन हटाउनुपथ्र्यो ? राजतन्त्रले आम जनतालाई अगाडि बढ्न अवरोध गरेको थियो । त्यसैले हटाइयो ।

    विगतमा अत्याचारबाट प्राप्त भएको फलको हिस्सा त उसले नचाहे पनि पायो नि । म खस भाषाबाट आएँ । त्यसैले भाषिक मामलामा दमनकर्ता हुँ । त्यसको हिस्सा मैले लिन्छु ।

    कानूनले जातीय विभेद अन्त्य गरेको धेरै भइसक्यो । नयाँ मुलुकी ऐनले नै जातपातलाई खारेज गरेको हो । त्यसयता व्यवहारमा पक्कै पनि केही अवशेषहरु होलान् । तर, राज्यको तहबाट त विभेद हटिसकेन र ?

    नयाँ मुलुक ऐनले जातपात हटायो भनेर मान्दै मान्दिनँ । कसरी हटाएन भने २० को ऐनले भेदभाव गर्न नपाइने भन्यो । तर, सनातनदेखि चली आएकोलाई भेदभाव मानिने छैन पनि भनेको छ । त्यसो भएपछि कसरी जातपात हट्छ ? आखिर यो पनि सनातनदेखि चलिआएको कुरा हो । त्यसैले पञ्चायतकालभरी कहिले पनि जातीय विभेदको मुद्दा चलेन । नयाँ मुलुकी ऐनले छद्म उन्मूलन गरेको मात्र हो । त्यो कानूनको कुनै अर्थ थिएन । त्यो कानूनलाई लिएर मुद्दा लड्दा सिधै हार्ने हो । मुद्दै नलाग्ने हो । पञ्चहरुले भाषण गर्नका लागि मात्र कानून थियो ।

    अहिलेचाहिँ कहाँ–कहाँ विभेद गरेको छ त राज्यले ?

    कानूनमा समानताको कुरा होला तर, व्यवहारमा हेर्नुपर्छ । पञ्चायतकालमा खस भाषामा आधारित शिक्षाको डिजाइन राज्यले जो गर्‍यो, त्यसबाट अर्को भाषी मानिसहरुमाथि शैक्षिक दमन भएको मान्नुहुन्छ कि मान्नुहुन्न ? त्यो शिक्षाले तयार पारेको उत्पीडित हो कि होइन ? भाषागत कमजोरीले मधेसीहरु पछि परेका छन् कि छैनन् ? मेकानिकल विषयमा बढि मधेसी किन हुन्छन् ? किनकि त्यसमा नेपाली विषय आवश्यक पर्दैन । अंग्रेजी र गणितमा राम्रो भए हुन्छ । बुझ्नुहुन्छ कुरा ?

    ४० वर्षको शैक्षिक उत्पीडनको परिणाम नै आजको कर्मचारीयन्त्र हो । त्यसको क्षतिपूर्ति गर्नुहुन्न भने तपाईं केको लोकतन्त्रवादी ? समानता निरपेक्ष हुँदैन । बक्सिङ रिंगमा समानता गर्ने भनेर पाँच वर्ष र १५ वर्षकोलाई लडाउने ? विगतमा अन्यायमा परेकोलाई बढि अवसर दिनुपरो कि परेन ?

    पहिलेदेखि अन्यायमा परेको भनेर योग्यताभन्दा जातका आधारमा कर्मचारीतन्त्रमा भर्ति गर्दा त राज्यसंयन्त्र नै कमजोर नहोला ?

    हुँदैन । जस्तो मैले कहिलेकाहीँ भन्ने गर्छु । नेपालमा १२ प्रतिशत बाहुनहरु छन् । ६० प्रतिशतभन्दा बढी कर्मचारीतन्त्र उनीहरुले हेर्नुपरेको छ । मन्त्री, प्रधानमन्त्री उनीहरु नै । राजदूत पनि उनीहरु नै । हुँदाहुँदा समावेशी आयोगको अध्यक्ष पनि बाहुनबाटै । अदालतमा ८० प्रतिशत बाहुन नै ।

    बाहुन भएका आधारमा नै उनीहरु त्यहाँ पुगेका हुन् त ?

    मेरो कुरा पहिले सुन्नुस । त्यसपछि अन्तै गएर खण्डन गर्नुहोला । मलाई लागेको के हो भने १२ प्रतिशतबाट छनोट भएर आएकाभन्दा सत प्रतिशतबाट छनोट गर्दा राम्रा आउँछन् होला नि ।

    १२ प्रतिशतभित्रबाट छनोट गर्ने व्यवस्था कुन संविधान–कानूनमा छ ?

    भएर त भनेको नि । तपाईं इतिहास नपढौं भन्नुहुन्छ, त्यसैले अप्ठेरो हुन्छ । तैपनि म सुनाउँछु । सात सालभन्दा अगाडि तागाधारीहरुभन्दा बाहेक अरुलाई गुरुकुलमा गएर पढ्ने अधिकार थिएन । नेवारभित्रको पनि तागाधारीले मात्रै त्यहाँ पढ्न पाउँथे । त्यसो भइसकेपछि ७ सालसम्म त अरु समुदायले कहीँ गएर केही गर्नै नसक्ने अवस्था थियो । नेवारमा पनि श्रेष्ठदेखि माथिका मात्र आए । खस आर्यमा क्षेत्री–बाहुन मात्र ।

    २००७ सालपछि सिंगो पञ्चायतकालभरि कुनै लोकसेवा आयोग त थिएन । टिप्दै भर्दै गर्ने हो । कीर्ते भर्ति गर्ने हो । आफ्नै नातेदार लैजाने हो ।

    अर्को, भर्ति गरौं भने पढेरै आएको छैन । यसरी बढ्दै गयो क्या । प्रशासनमा के भयो ? आफैं हेर्नुस । मलाई के भन्नु हुन्छ ? ८३/८४ प्रतिशत बाहुन क्षेत्री र नेवारमा श्रेष्ठभन्दा माथिका छन् ।

    कर्मचारी प्रशासनमा जातिभन्दा योग्यता–क्षमता हेर्ने होइन र ?

    होइन साथी, होइन । म तपाईंलाई भन्छु । राणाकालभरि बाहुनहरुलाई क्षेत्रीहरुले कार्यकारी पदमा आउन दिएनन् । जब राणाहरु गए, त्यसपछि ००७ देखि ०१७ सम्म अपवादमा एक क्षेत्रीबाहेक सबै बाहुन प्रधानमन्त्री भए । ०१७ सालको कुपछि नगेन्द्रप्रसाद रिजालबाहेक पञ्चायतकालभरि एकजना पनि बाहुन प्रधानमन्त्री भएनन् । मैले ठीक भनेँ ? त्यसपछि ०४६ सालको परिपर्वन भयो । शेरबहादुर बाहेक कोही पनि क्षेत्री प्रधानमन्त्री भएनन् । के यो संयोग मात्र हो ?

    यहाँसम्म भयो कि ज्ञानेन्द्रले प्रधानमन्त्रीमा निवेदन माग गरे । माधव नेपालले पनि हालेका थिए । तर, देउवाले पाए । क्षेत्री र ब्राह्मणबीच यति ठूलो लडाइँ छ । तपाईं नमाने नमान्नुस । भ्रममा बाँच्ने भएँ बाँच्नुस । यस्तो प्रष्ट देखिने लडाइँ त देख्नुहुन्न भने त्योबाहेक पछाडि परेका मान्छेको के अनुभूति गर्नुहुन्छ ?

    तपाईंले हरेक कुरालाई जातीय चश्माले हेरेर विश्लेषण गरेको अनूभूति भयो मलाई त ।

    जातीय चश्मा होइन यो । मैले जातजातिको कुरालाई प्रधान भनेको छैन । नेपालको वर्ग निर्माणको प्रक्रियामा जात र जातीय उत्पीडन हावी भयो । सबै बाहुन धनी नहोलान् । क्षेत्री र ब्राह्मणबाट विकसित शाषक वर्ग भनेको हुँ । नेपालको सत्ता वर्गीय पनि छ र लगातार जातीय पनि भयो । शाषक वर्ग खास जातबाट मात्रै आउने स्थिति भयो । बर्गीय शासन हो, तर साथसाथै जातीय पनि भयो ।

    जातीय प्रणालीमा खास जातीको सामन्त हुन्छ भने खास जातिबाट रैति आउँछ । नेपालको वर्ग संरचना जात व्यवस्थाबाट आधारित भयो । त्यसकारण नेपालको वर्गसंघर्षलाई बुझ्नका लागि जात व्यवस्थाको ऐतिहासिकतालाई अनदेखा गर्नु हुँदैन । माक्र्सवाद दक्षिण एसियामा असफल भएकै यसैले हो । माक्र्सवादीहरु जातको होइन वर्गको कुरा गरांै भन्थे । रुसमा यो ठीक भयो । चीनमा ठीक भयो । तर, दक्षिण एसियामा त जात व्यवस्था थियो । वर्ग–वर्गभन्दा इन्डियामा क्षेत्री–बाहुन मात्रै नेता भए । नेपालमा पनि वर्ग–वर्ग भन्दा अहिले नेकपामा के छ ? ७५ प्रतिशत क्षेत्री–बाहुन छैनन् ? हामी लडेर आएका हौं भन्छन् । अरु चाहिँ के गरेर आएका हुन् त ? शहीदहरुको संख्या गने भयो नि पार्टीमा ।

    शहिदको पनि जात छुट्याउनुपर्‍यो त्यसोभए ?

    गन्ने नि किन नगन्ने ? खानेबेलामा अर्काले मात्रै खाएपछि गन्नु परेन ? मर्ने बेलामा गन्नुपरेन ? उसले पाएको बेलामा कहाँ भनेको हो त ? उसलाई नदिएपछि गन्न थाल्ने हो नि ।

    पानवीर विश्वकर्मा केपी ओलीसँग १४ वर्ष जेल बसेर सँगै निस्केका हुन् । पानवीरले सिराहाको जिरो माइलमा १ कठ्ठा जमिन पनि किन्न सकेनन् । केपी ओलीको चाहिँ २ ठाउँ महल छ । दुईचोटि प्रधानमन्त्री भए । खोज्दैन पानवीरको खलकले ?

    प्रधानमन्त्री बन्न जेल बसाई मात्रै पर्याप्त हुन्छ त ?

    ए बाबा, मैले कहिले भने ? अरुचाहिँ के खेलाएर बसेका थिए ? घाँस काटेर बसेका थिए ? राजनीति नै त गरेका हुन् । पानवीर प्रधानमन्त्री नभए पनि सांसदसम्म त हुन्थे होला ।

    उनलाई प्रधानमन्त्री बन्न सिस्टमले रोकेको हो ?

    अरु कसले रोक्यो त ? कस्तो कुरा गर्नुहुन्छ ? सिस्टमले नै रोकेको हो । तपाईंले अलि गहिरोतिर जानुपरो । समाजले, शिक्षाले, परिवारले, साथीले, दुष्मनले हाम्रो जस्तो दिमागको संरचना बनाइदिएका हुन्छन्, त्यसको आधारमा पूर्वाग्रह बनेका हुन्छन् । ममा पनि होलान् । त्यो कुरा कति सत्य र बेठीक हो पिँधमा जानुपरो नि । पिँधमा नगइकन किन ‘इरिटेट’ हुने ?

    म भनिरहेको छु पटक–पटक । कुनै ठट्टा गरेको त होइन । नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा ठूलो संघर्ष बारा, पर्सा, रौतहटमा भयो । सबैभन्दा ठूलो किसान आन्दोलन काठमाडौंमा भयो । काठमाडौंका मुल मोही ज्यापु हुन् ।

    श्रेष्ठ त सबै जग्गावाल हुन् । २१ देखि २६ सालसम्मको किसान आन्दोलनपछि मोहियानी हक पाउने स्थिति आयो । तर, नेता चैं सबै श्रेष्ठ आए । जो वास्तविक किसान लडेका थिए, त्यसबाट कोही नेता जन्मेनन् । के यो संयोग मात्र मान्नुहुन्छ ?

    त्यतिबेलाका नेताको नियत खराब थियो भन्ने होइन । विश्वेश्वर, पुष्पलाल, मनमोहनको नियत खराब होइन । तर उनीहरुले कम्युनिष्ट पार्टीको संरचना नै यस्तो बनाए कि शासक जाति नै स्वतः नेता हुने भए । अर्को हुनै नसक्ने स्थिति भयो ।

    केले रोक्छ अरुलाई ?

    त्यही त म भन्दैछु । एउटा राजनीतिक कार्यकर्तालाई हिँड्न खर्च चाहिन्छ । दलितहरुको आर्थिक हैसियत कमजोर छ । दलित कार्यकर्ता सबै घरमा जान सक्दैन । उसको निम्ति पार्टीभित्र विशेष व्यवस्था गरेर अघि बढाए पो अरुसरह हिँड्थ्यो । एकातिर खर्चको समस्या, अर्कोतिर सामाजिक रुपमा असुरक्षित । अनि तपाईंले भनेजस्तो खुला लडेर हुन्छ ? पण्डित खलकको छोरालाई पो सबै ठाउँ जान सजिलो हुन्छ ।

    समस्या नियतमा छैन । तर्पार्इंको नियतमा दमन गर्ने भन्ने छ त ? तर तपाईंको सोच्ने तरिका गडबड हुन सक्छ नि ? त्यसकारण कम्युनिष्ट, कांग्रेसका नेताहरुको उत्पीडितलाई अझै पछि पारौं भन्ने नियत होइन । उनीहरुले जस्तो संरचना र जसरी काम गरे त्यो गलत थियो । यही कारणले सर्लक्क आउने एउटै जाति आउने हो ।

    नेपालमा विदेशी शक्तिहरुले विभिन्न जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्ने, र त्यसका लागि रकम पनि खन्याउने गरेको सुनिन्छ । यो हल्ला मात्रै हो कि यस्तोखालको प्रवृत्ति वास्तवमै छ ?

    डलर र विदेशी सहयोग सबैभन्दा बढि खाने को हो त भन्दा शासक नै हुन् । कुरा त पिँधबाटै गर्नुपर्‍यो नि । शासक नै विदेशीको पैसामा बाँच्छन् भने विविध तप्काले विदेशीको पैसा लिएनन् होला भनेर कसरी भन्ने ? बानी त परो होला ।

    सरकारले वैदेशिक सहयोग लिने कुरालाई गैरसरकारी क्षेत्रमा विदेशीले सोझै बाँड्ने पैसासँग दाँज्न मिल्छ र ?

    के कुरा गरेको ? तपाईंको दुईवटा कान छ भने जताबाट पनि समात्न सक्नुहुन्छ । यहाँ हारेकाहरु खराब देखिने हुन् । जितेपछि त्यही मान्छे असल हुन्छ नि । अपराधी दुवै हुन् । जसले सरकारमा बसेर खायो उ वैधानिक भयो । बाहिरको अवैधानिक भयो । खाएको त एउटै पैसा हो नि ।

    जातीय एजेन्डामा पैसा चैं खन्याइएकै छ ?

    देखिरहनुभएको छ नि । त्यो चलखेल भएको छैन भन्न सक्दिनँ । तर, उत्पीडीत समुदायको एउटा हिस्साले खाएछ भने पनि विशाल हिस्सा त न्यायको निम्ति साँचो लडाइँ लडिरहेको छ । विदेशीले सबैलाई ख्वाउन सक्छ र ?

    तपाईंसम्म चाहिँ यस्तोखालको अफर अहिलेसम्म आएको छ कि छैन ?

    म जसरी कुरा गर्छु, मेरो पृष्ठभूमि जे छ, त्यसले गर्दा अफर गर्ने स्तरमा सोचेका छैनन् होला जस्तो लाग्छ । म नालायक पनि हुन सक्छु । एकचोटि कुरा भएको थियो । संविधानसभामा सभासद हुँदा विभिन्न ककसहरु बनेका थिए । जनजाति, मधेसी र महिलाका ककसले युएनडीपीसँग निवेदनै हालेर पैसा लिए । दलितको पनि मञ्च बनाइएको थियो । हामीले चाहिँ नलिने भन्यौं ।

    एकजना युएनडिपीका नेपाल प्रमुख रहेछन् रोबर्ट भन्ने । उनले मसित टाइम मागेर भेटे । उनले सोधे, अरु सबैले निवेदन हालेर पैसा लिए, तर तपार्इंहरु चाहिँ हामीले पटकपटक खबर पठाउँदा पनि लिन आउनु भएन । अनि मैले जवाफ दिएँ, हामीलाई बोलाई बोलाई पैसा दिने तपाईंहरु को हो ? हामीले तपाईंहरुलाई कर बुझाएका छैनौं । तपाईंहरु हाम्रो देशको संस्था पनि होइन । हामी पैसा माग्न किन आउने ? तपाईंहरुले नै दिनुपर्ने ठूलो पैसा हामीलाई किन चाहियो ? इमेल, इन्टरनेट फ्रि छ । वैठक बस्न सिंहदरबार, बानेश्वर कोठैकोठा छन् । पहिले सडकमा हिँड्थ्यौं, अहिले ५५/६० हजार तलव बुझ्छौं । अनि, तपाईंहरुसँग पैसा माग्न किन आउने ? फेरि तपाईंहरुलाई हाम्रो यति धेरै चिन्ता किन ?

    मैले यति भनेपछि उनी चुप भए । मलाई अफर आएको यही एकचोटि हो । व्यक्तिगतरुपमा मलाईभन्दा पनि हाम्रो समुहलाई ।

    तपाईंको विचारमा उनीहरुको के स्वार्थ हुन्छ होला नेपालमा पैसा खन्याउनलाई ?

    धेरै हुन सक्छन् । सत्तालाई दिँदा के फाइदा हुन्छ ? सुरु त्यहाँबाट गर्नुपरो । विश्व बैंकले नेपालमा लगानी गर्दा फाइदा के ? अहिले झार उखल्न १५ अर्ब दिन खोजेको छ । त्यसबाट के फाइदा ?

    फाइदा त अनेक होला । त्यो अर्कै विषय हो । तर, कसैले आफ्ना सरोकारका माग राख्यो भने विदेशीबाट सञ्चालित भनिहाल्न मिल्दैन । सरोकार पो ठिक छ कि छैन हेर्नुपर्‍यो । कसैलाई अत्याचार वोध भयो भने त जित्नलाई दुनियाको सबै एक गरिाहल्छ नि । ४६ सालको आन्दोलनमा चन्द्रशेखरलाई चाक्सीवारीमा भाषण गराएको होइन ? सातबुँदे सम्झौता दिल्लीमा भएको होइन ? लड्छु भनेर कम्मर कसेपछि हजारवटा उपाय खोजिन्छ । तरबार मात्रै लिएर लड भन्न मिल्दैन ।

    भारतले नेपालमा दलित, जनजाति र मधेसीलाई एक ठाउँमा ल्याएर खस आर्यविरुद्ध उराल्ने अनि जातीय फुट पैदा गरेर आफ्नो स्वार्थको रोटी सेक्ने रणनीतिअन्तरगत काम गरिरहेको छ भन्ने तपाईंलाई कत्तिको अनुभव हुन्छ ?

    मलाई लाग्दैन । पहाडको दलित पनि त खस आर्य नै हो । मधेसमा बाहुन छैन ? कुरा त जेलिन्छ नि । आन्दोलनको फछ्र्यौंट गर्ने बेलासम्म त सबै कुरा केस्राकेस्रा आउँछ ।

    भारतको नेपालमा स्वार्थ होला । उसले यहाँबाट धेरै कुरा चाहेको होला । त्यसैले खेल्न त खोज्छ नि । सिक्किम, काश्मिर खाएर बसेको देश हो । भुटानको आधा सार्वभौमसत्ता उसको हातमा छ । तर, यति हुँदाहुँदै पनि नेपालमा जातीय रुपमा फुट भने कसैले ल्याउन सक्दैन ।

    भावनात्मकरुपमा पनि नेपालीहरु फुट्दैनन् । देशको जनसंख्या संरचना फुट्ने गरी बनेकै छैन । ब्लकमा बसाइ छैन के । ब्लक भनेको त मधेसमा मात्रै हो । मधेसको पनि पर्सादेखि सप्तरीसम्म हो । ब्लक भयो भने पृथक कुरा पनि गर्न सक्छ । अरु सबै जाति मिश्रित र अन्तरघुलित छन् । बाहुनलाई कुटेर बाहुनकै घरतिर भाग्नुपर्छ । अनि कसरी जातीय फुट हुन्छ ?

    नेपाली समाजको विशेषता पनि भारतको जस्तो छैन । नेपालका बाहुनहरु भारतका बाहुनजस्ता कठोर, संकिर्ण र लोभी छैनन् । यहाँको बाहुनले जनजातिसँग डिल गरेर धेरै उदारता सिकिसकेको छ । यहाँको जनजाति पनि अन्तको जस्तो होइन । खसआर्यसँग जिवन बिताएको छ । जाँड छुनै हुन्न भन्ने र जाँड नखाइनहुने सभ्यताबाट आएकाहरु एकैठाउँमा मिलेर बसेका छन् । कहाँबाट जातीय फुट आउनु ? तर, त्यसो भनेर शाषकहरुको व्यवहार बदलिएन भने उत्पीडीत जातिहरु सँधै चुप भने बस्दैनन् ।

    शासकको व्यवहार बदलिएको छ कि छैन त ?

    अहिलेसम्म बदलिएको देखिँदैन । भर्खर हुर्नुस न, लोकसेवाले आरक्षणमा के गर्‍यो ? चेत्ने छाँट होइन यो ।

    आरक्षणको त मोडालिटीमै समस्या छ भन्ने मान्नुहुन्छ ?

    बिल्कुल समस्या छ । अहिलेको आरक्षण नीतिले २–४ जनालाई मध्यमवर्गमा उचाल्ने बाहेक अरु केही नाप्दैन । यो पुँजीवादले दिएको एउटा राहत कार्यक्रम मात्र हो ।

    अहिले गैरदलितको संख्या प्रशासनमा कति छ ? ९७ प्रतिशत । ४५ प्रतिशत आरक्षणमध्ये दलितको भागमा ९ प्रतिशत छ । सिंगो आरक्षणलाई १०० मान्दा दलितको भागमा मुस्किलले चार पर्छ । ४ मध्ये आन्तरिक बढुवाबाट न्यूनतम एक भर्ति गरिन्छ ।

    बाँकी रह्यो ३ जना । भनेपछि सय जना सेक्सन अफिसरमा खुल्यो भने मुस्किलले तीन जना दलित जान्छन् । जबकि ३ प्रतिशत त अहिले पनि छ ।

    तर, आरक्षणबाहेक खुल्लामा पनि त दलितले प्रतिस्पर्धा गर्न सक्छन् नि । त्यताबाट थपिँदैन ?

    खुल्ला प्रतिस्पर्धाको कुरा त मैले माथि गरिसकेँ नि । यो त ५ वर्षको बच्चालाई २५ वर्षको युवकसँग रिंगमा भिडाएजस्तै हो ।

    जातीय आरक्षण हटाएर दलित समुदायलाई शिक्षामा बढीभन्दा बढी पहुँच दिनचाहिँ जोड गर्दा हुन्थ्यो कि ताकि उनीहरु पनि खुल्ला प्रतिस्पर्धाबाटै आउन सकुन् ?

    हटाउनुहुँदैन । पाइरहेको किन हटाउने ? बरु नपुगेको थप्नुपरो । कसरी भने दक्षिण अफ्रिकामा थपेको जस्तो । त्यहाँ गोराहरुको शासन गएर कालाहरुसहितको शासन आएपछि प्रशासनमा फास्ट ट्र्याकबाट ठूलो संख्यामा कालाहरुलाई भर्ती गरियो । पहिले अस्थाई भर्ना गरेर उनीहरुलाई स्थाई गराउने काम भयो । नेपालमा पनि यसो गर्न सकिन्छ । यो गाह्रो कामै होइन ।

    त्यसरी एकमुष्ट एउटौ समुदायबाट भर्ती गर्दा त अर्को समुदायको असन्तुष्टि भड्किने खतरा होला नि झन् ?

    के असन्तुष्ट हुन्छ ? क्षेत्री बाहुनको घरमा ७ जानाले जागिर खाएका छन् । उनीहरुलाई के फरक पर्छ ?

    त्यस्तो त अपवादमा न होला । रोजगारीको समस्या त क्षेत्री बाहुनमा पनि कम छैन नि ?

    अपवाद होइन । अध्ययन गर्नुस न ।

    अहिलेकै परिपाटीलाई निरन्तरता दिने हो भने कर्णालीको एउटा विपन्न बाहुन पनि सामन्तमा गनिन्छ । राज्यबाट न्याय र संरक्षणको बोध उसले कसरी गर्न सक्छ त ?

    कर्णालीको बाहुनलाई काठमाडौंको बाहुनसँग दाँज्न भएन नि । कर्णालीको बाहुन जति गरिब भए पनि स्थानीय सामन्त नै हो ।

    अहिले दलितहरुको जीवनमा पनि धेरै परिवर्तन आइसक्यो पनि भन्नुहोला । पक्कै भन्नेवाला हुनुहुन्छ । अर्थशास्त्रीहरुले ठूलो भ्रम के पारिदिए भने मलाई मेरो हजुरबासित दाँज्न सिकाइदिए । त्यसरी दाँज्दा म त अगाडि बढेकै देखिन्छु । त्यसरी हुँदैन ।

    मेरो हजुरबालाई तपाईंको हजुरबासित दाँज्ने हो, मलाई तपाईंसित दाँज्ने हो । यसरी हेर्दा अहिले उत्पीडीत र उत्पीडकबीचको फासला त बढेको छ । आफ्नो बाजेसँग दाज्यो भने त राउटेको पनि प्रगति भएको देखिन्छ । जसबाट उत्पीडित भएको हो त्यसकै बाजेसँग दाँज्नपर्छ ।

    अझै पनि महत्वपूर्ण ठाउँहरुमा जातिविशेषकै वर्चश्व छ । सेनामा हेर्नुस न, अहिले पनि मधेसीहरुलाई गाह्रो छ ।

    कुन व्यक्तिले कुन पेशामा बलियो प्रतिस्पर्धा गर्न सक्छ भन्नेमा उसको जातीय विशेषताले पनि केही काम गर्छ कि ?

    तपाईंको कुरा हो त्यो । अन्यथा नसोच्नुहोला, तपाईंको दिमागमा पञ्चायतले निर्माण गरेका यति धेरै तर्क भरिएको छ कि, त्यसबाट निस्किनै सक्नुभएको छैन वा जबरजस्ती प्रश्न जन्माउन खोज्दै हुनुहुन्छ ।

    अहिले जागिर नपाएर मधेसीको विजोक छ । सेनामा पाए भने जाँदैनन् ? पञ्चायतले मधेसीहरु लडाकु जाति नै होइन भन्थ्यो । त्यही विचारको धङ्धङी अहिले पनि बाँकी छ ।

    भन्नाले मानिसका जातिगत विशेषता र पेशाबीच कुनै सम्वन्ध हुँदैन ?

    कसरी हुन्छ ? बाबुराम भट्टराईले जस्तो कुरा गर्ने ? बेकारको कुरा हो । जन्मको आधारमा कोही सुरो, कोही कायर हुँदैन । परिस्थितिले बनाउने हो । जातिगत गुण भन्ने नै हुँदैन ।

    त्यसोभए अरु जातिको तुलनामा शेर्पाहरु हिमाल चढ्न किन अब्बल हुन्छन् ?

    फोक्सोको कारणले । लेकभन्दा माथि करिब एकदेखि २ हजार वर्षको जीवनयापन गर्ने क्रममा उनीहरुको फोक्सोको प्वाल बढी खुले । त्यो जिनमा परिणत भयो । जसको कारणले बढि यात्रा गर्न सक्ने भए । भित्री मधेसमा बस्ने थारुहरु मलेरियासँग लड्न सक्ने भए किनकि उनीहरुको रगतमा नै त्यस्तो जिन विकसित भयो । जिन भौतिक कुरा हो । म बहादुर भएँ भन्नेचाहिँ अवधारणा मात्र हो ।

    तपाईं आज जुन स्थानमा हुनुहुन्छ, यदि अर्को जात/समुदायमा जन्मेको भए योभन्दा माथि हुन्थेँ भन्ने लाग्छ ?

    स्वतः हो नि ।

    कहाँ–कहाँ तपाईंलाई रोकावट भएको छ त ?

    धेरै ठाउँमा । कहाँ रोकेको छैन भन्नुस न ? बच्चा बेलादेखि नै रोक्छ नि । स्कुलमा पढाइदेखि नै रोक्छ । पानी खाने कुरादेखि नै रोक्छ । व्यक्ति भनेको एउटा सर्टिफिकेट मात्र त होइन । राजनीतिमा आइसकेपछि पनि पार्टीभित्र एक किसिमको जातिवादी सोच थियो । साथीहरु सबैको घरभित्र पसेर काम गर्न सक्थे म सक्दिनथेँ ।

    कम्युनिष्ट पार्टीमा पनि त्यस्तो हुन्छ र ?

    किन नहुने ? कस्तो कुरा गरेको ? जातसहितका कम्युनिष्ट हुन् नि । आखिर कम्युनिष्ट पनि यही समाजबाट आउने हुन् । मैले अधिकांस कार्यकर्ताको घरभित्र पस्नै पाएको छैन । कि त छिँडीमा हो, कि त गोठमा, बस्नुपर्छ । कुनै कमिटी सञ्चालन गर्न जान एउटा समुदायको व्यक्तिलाई सहज हुन्छ भने कुनै समुदायलाई स्वीकार्य हुँदैन ।
    ्नेताकै तहबाट पनि यस्तो भेदभावको महसुस गर्नुभएको छ ?

    कुन स्तरको नेता भन्ने हुन्छ । समाजमा व्याप्त छ कि छैन भन्ने प्रमुख कुरा हो । सबैले भोगेका छन् । जसले सुविधा भोगेका छन् उसलाई अनुभुति नहुन सक्छ । भोग्नेले त भोगिरहेका छन् नि । प्रतिपल भोग्ने कुरा हो । म त अलिकति अपवाद पनि हुँ । मलाई आमरुपमा लागू नगर्नुस । मेरो व्यक्तित्वलाई कुनै उत्पिडीत समुदायको आम विकासको नियमभित्र नहाल्नुस । मिल्दैन त्यो ।

    मैले विभिन्न क्षेत्रमा हात हालेको छु । थोरै काम गरेको छु । त्यसबाट एउटा पहिचान बनेको छ । त्यसैले आफ्नो समुदायबाट विकसित हुने पात्रको भोगाई ममा लागू नहुन सक्छ । मेरा केही विशिष्ट अपवाद छन् । राजनीतिक पार्टी भनेको अलि सचेत तप्का पनि हो । ग्रामिण समाजमा जस्तो या खोला, पँधेरामा जस्तो राजनीतिक पार्टीमा वा क्याम्पसमा खुलेर विभेद हुँदैन । तर, त्यसको अनुभूति चैं प्रकट हुन्छ । परिणाममा अनुभूति हुन्छ ।

    भन्नाले ? अव्यक्तखालको भेदभाव ?

    हो । जति माथिल्लो स्तरमा जान्छ त्यति अमूर्त भेदभाव हुन्छ । यो संकेतहरुमा देखिन्छ । त्यसैले म जसरी आएँ, त्यो ठाउँमा देखिने गरी, हाकाहाकी भन्न सक्ने स्थिति हुँदैन । तर हरक पलहरुमा अविश्वासमा प्रकट हुन्छ । प्राथमिकतामा राख्ने कुरामा प्रकट हुन्छ ।

    कतिपय अवस्थामा व्यक्तिभित्रैको हीनतावोध वा कुण्ठाले पनि यस्तो अनुभूति बेसी हुन्छ कि ?

    एउटा व्यक्तिले भनेको भए हीनतावोध हुन सक्छ । सिंगो समुदायबाट विकसित हुने पात्रको अनुभूति एउटै हो भने त त्यो छ भन्ने मान्नुपर्‍यो  नि ।

    यद्यपि, समाज विस्तारै परिवर्तन हुँदैछ नि । शहरमा त छुवाछुत निकै कम भइसक्यो भनिन्छ । तपाईंले यस्तो परिवर्तन महसुस गर्नुभएको छैन ?

    हिंसात्मक रुपको विभेद गाउँमा बढी छ । तर शहरमा पनि विभिद निमिट्यान्न भएको छैन । मात्रा केही घटेको होला । किन घटेको छ भन्नुस न । शहरमा एकले अर्कालाई चिन्ने समस्या पैदा हुन्छ । जात व्यवस्था भनेको जहाँ मान्छेको पहिचान ठ्याक्कै खुल्छ, त्यहाँ न लागू हुने हो । नचिनेको ठाउँमा लागू नै हुँदैन । सहरमा एकले अर्कालाई नचिनिने अवस्था धेरै हुन्छ ।

    अर्को कुरा धेरै छुवाछुत तथा भेदभाव हुने स्थलहरु पनि घटेका छन् । जस्तो कि साझा ढुंगेधाराका ठाउँमा घरघरमा पानी आउँछ । अनि कसरी देखिन्छ छुवाछुत ? मन्दिरमा दमै कामी आउलान् भनेर गन्ति गर्न कसैले सक्दैन । त्यसैले त्यहाँ रोकावट हुँदैन । यिनै दुई कारणले शहरमा समस्या कम देखिएको हो ।

    भनेपछि, चेतनाको स्तर शहरमा पनि उही नै छ ?

    भन्दैछु । तपाईं चिनिने दलित वस्तीमा जानुस् । मानौं नेवारको च्यामे वस्तिमा । त्यहाँको अर्को नेवारले उनीहरुलाई कस्तो व्यवहार गर्छ हेर्नुस । त्यहाँ त ठ्याक्कै चिनियो नि । काँठमा जानुस । त्यहाँ दलित र गैरदलितको सम्वन्ध कस्तो छ हेर्नुस । बजार विकास भएको चियापसलमा छुवाछुत देखिँदैन, किनकी त्यहाँ नचिनिने मान्छे धेरै आउँछन् । तर, चिनिएका मान्छे मात्रै आउने चियापसलमा अहिले पनि छुवाछुत छ । यस्तो राजधानीमै पनि छ ।

    त्यसवाहेक चेतनामा परिवर्तन पनि थोरै छ । गुणात्मक होइन, मात्रात्मक । डेरा नपाउने समस्या छ, अरु के कुरा गर्नुहुन्छ ? एक हप्ता दलित भएर डेरा खोज्न जानुस त ।

    तपाईं पनि डेरामा बसिरहनुभएको छ । कत्तिको गाह्रो भयो डेरा पाउन ?

    मलाईचाहिँ गाह्रो भएको छैन । मैले आफ्नो लेखकीय र राजनीतिक हैसियत बनाइसकेपछि मात्रै डेरा बस्न थालेँ । त्यसैले म अपवादमा पर्छु । नैकापमा बस्न टाढा हुने भएकाले मात्रै डेरामा बसेको हुँ ।

    तपाईंले अन्तरजातीय बिहे पनि गर्नुभयो । त्यसमा चाहिँ समस्या आएन ?

    मेरो दोस्रो विवाह अन्तरजातीय हो । पहिलो विवाह आफ्नै जातीभित्र गरेको थिएँ । आन्तरिक कारणले हामीले डिभोर्स गर्‍याैं । अहिलेको बिहे पनि मैले राजनीतिक पार्टीको नेता र साहित्यमा परिचित भएपछि गरेको हो । त्यो पनि पार्टीभित्रकै सदस्यसँग । त्यसैले समस्या आएन । परिवारले सुरुमा बिहे नै नगरे हुन्थ्यो भन्ने चाहना त राखेको बुझ्छु । तर, पछि अवरोध भएन । ससुरालीमा मलाई कुनै किसिमको फरक व्यवहार महसुस भएको छैन ।

    तपाईंले आफ्नो बाल्यकालमा जेजस्तो विभेद भोग्नुभयो, आज तपाईंका छोराछोरीको भोगाई त्यही स्तरमा त छैन होला नि ?

    मैले जस्तो त भोगेका छैनन् । तर, पनि कैयौं ठाउँमा भोग्छन् होला ।

    एउटा अलि फरक प्रश्न । नेपालमा कतिपयले दमाई, कामीजस्ता जाति विशेषका जाति वा थरहरु खुलाउने शब्द प्रयोग गर्दा विवाद आउने गरेका छन् । हामीले सञ्चारमाध्यममा यस्तो शब्द प्रयोग गर्नु अपमानजनक हुन्छ कि हुँदैन ?

    बिलकुल हुँदैन । यी शब्द अपमानजनक होइनन् । नबुझ्नेहरुले त्यस्तो ठान्छन् । आखिर जातको नाम न हो । कर्मीबाट कामी बनेको हो । सञ्चारमाध्यममा प्रयोग गर्न किन नमिल्ने ?

    तपाईंले एकपटक भन्नुभयो, पञ्चायतकालमा सेनाभित्र वेश्यावृत्तिका लागि पनि भत्ता दिइन्थ्यो । तर, यस विषयमा एउटा संस्थाले गरेको फ्याक्ट चेकमा यो झूट ठहरियो । आफ्नो तर्क पुष्टि गर्न झूटो तथ्यको सहारा किन लिनुभयो ?

    मैले त्यो पोखरा फेस्टिबलमा बोलेको कुरा हो । कुनै आधार नभई बोल्ने कुरा हुँदैन । पब्लिक कार्यक्रममा कतिपय कुरा स्पष्ट पार्न पाइँदैन । समयको पावन्दी हुन्छ ।

    खासमा कुरा के हो भने २०३० सालभन्दा अगाडि सेनाको ऐनमै ‘मनोरञ्जन भत्ता’को व्यवस्था गरिएको थियो । नयाँ अफिसरहरुलाई मनोरञ्जन भत्ता आखिर केको लागि ?

    मनोरञ्जन भन्नाले वेश्यावृत्ति नै बुझिन्छ त ?

    के–के थियो त्यतिबेला मनोरञ्जनको विषय हेरौं न त । त्यतिबेला उपत्यकामा पाँचवटा सिनेमा हल थिए । पञ्चायतले कहिलेकाहीँ राष्ट्रिय नाचघरमा नाटक देखाउँथ्यो । खेल मनोरञ्जनको स्तरमा आइपुगेकै थिएन । मन्दिर दर्शनबाहेक घुमघामको कल्चर नै थिएन । के सिनेमा हेर्न र कहिलेकाहीँ बनाउने नाटक हेर्नका लागि मात्रै त्यो भत्ता थियो त ? त्यसभित्र सबै कुरा आउँथ्यो । मलाई त्यस्तो लागेको हो ।

    भनेपछि तपाईंको अनुमान मात्र हो ?

    सेकेन्ड लेफिट्निनेन्टको तालिम गरिसकेको युवालाई नियुक्तीमा आउनुभन्दा पहिले मनोरञ्जन भत्ता भनेर दिनुको आशय कुनै वनभोज खानलाई त होइन । यो निश्चित खलकको मानिसमा नै अफिसर केन्द्रित गर्ने समग्र रणनीतिको अंग हो । जर्नेलका छोराछोरीसहितको पिकनिक आयोजना गर्ने । ताकि एकले अर्कालाई मन पराउन् । मलाई एकजना रिटायर्ड अफिसरले न ैयो कुरा भनेका हुन् ।

    मनोरञ्जन कुनै एजेन्डै नभएको ठाउँमा यस्तो भत्ता दिनुको गम्भिर उद्देश्य छ भनेर बुझ्नुपरो नि ।

    भत्ता त जे शीर्षकमा दिए पनि व्यक्तिले आफ्नो प्राथमिकतामा खर्च गर्ने न हो ।

    ठीक छ, व्यक्तिले जे प्राथमिकता छ त्यसअनुसार गर्छ भन्ने मानेँ । तपाईं पत्रकार हुनुहुन्छ । तर प्रधानसम्पादकले जुन बाटो दिएको हुन्छ त्यसभित्र रहेर पत्रकारिता गर्ने हो कि होइन । यसैगरी सेनाका युवाहरुलाई पनि त्यसरी बाटो देखाइन्थ्यो ।

    राजनीतिको कुरा गर्दा एकथरी मानिसहरु के पनि सोच्छन् भने, बरु पञ्चायतकालमा कम्तिमा देश अहिलेजस्तो परनिर्भर थिएन । सरकारले नै धेरै उद्योगधन्दाहरु सञ्चालन गरेको थियो । प्रजातन्त्रपछि ती सबै मासिए । देशको उर्बर युवा जनशक्ति रोजगारीका लागि विदेशीन वाध्य भयो । देशको अर्थतन्त्र नै रेमिटेन्समा निर्भर छ । आखिर देश ठीक दिशामा त गइरहेको छैन । तपाईं कस्तो लाग्छ ?

    अर्थतन्त्रमा विकृति आएको अहिले मात्र होइन । जंगबहादुर र चन्द्रशमशेरका पालादेखि नै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर पार्दै देशलाई भिखमंगा बनाइएको छ । नेपालीहरु १९८० मा नै रोजगारीका लागि कतार गएका हुन् ।

    पञ्चायतले शीतयुद्धको फाइदा उठाएर चाइना र सियासँग भिख मागेर केही उद्योग बनाएको हो

    श्रोत्:अन्लाईन खबर
    विश्वभक्त दुलाल

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु