skip this
  • फिचर

    आलम पक्राउ प्रकरण : तत्कालीन गृहमन्त्री सिटौलाको ‘बयान’

  • काठमाडौं – रौतहटको राजपुर बम बिस्फोट प्रकरणका मुख्य आयोजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलममाथि अनुसन्धान जारी छ ।

    राजपुर नगरपालिकाको फरदवा गाउँमा पहिलो संविधानसभा निर्वाचनलाई प्रभावित पार्न बम बनाउँदै गर्दा बिस्फोट हुँदा घाइते र मृत्यु भएकाहरुलाई प्रमाण नष्ट गर्नका लागि इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि असोज २६ गते आलम पक्राउ परेका हुन् ।

    पक्राउ परेसँगै संसद सचिवालयल आलमको सेवा सुविधा रोक्का गरिसकेको छ । असोज २९ गते सचिवालयले उपसभामुखलाई आलमको पक्राउ बारे जानकारी गराइएको र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उनको सेवा सुविधा रोक्का भएको जानकारी गराएको थियो ।

    आज (असोज ४ गते) जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणि अर्यालको ईजलासले आलमलाई अझै ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको छ ।

    यसअघि असोज २८ गते जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको थियो । तर आलमले आफूलाई कपोलकल्पित मुद्दामा फसाइएको भन्दै बयान दिन मानेको छैनन् । महान्याधिवक्ताको कार्यालयले पहिले नै मुद्दा नचल्ने निर्णय गरिसकेको भन्दै सरकारले आफूमाथि षड्यन्त्र चरिरहेको उनको भनाइ छ ।

    १२ वर्ष पुरानो यो घटनामा सर्वोच्च अदालतको तारन्तारको ताकेतापछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । तर, महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो ।

    यो ‘हाइप्रोफाइल’ प्रकरणमा आलमबाहेक थप नयाँ ‘हाइप्रोफाइल’ नामहरु पनि जोडिन पुगेका छन् । यो घटना सामसुम पार्नमा तत्कालीन सरकार र प्रहरी प्रशासनले पनि भूमिका खेलेको आरोप यतिबेला लागेको छ । यसमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओमविक्रम राणा रौतहट पुगेको र उजुरी दर्ता नगराउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई दबाब दिएको पीडितहरूको आरोप छ ।

    यस विषयमा तत्कालीन गृहमन्त्री सिटौलाले भने सो समयमा आफू रौतहट नै नगएको दाबी गरेका छन् । रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म कहाँ निरीक्षणमा निस्कनु, फोकटिया कुरा । म रौतहट निरीक्षणमा गएको भन्ने कुरा सरकार गलत हो ।

    म रौतहट एक पटकमात्र गएको थिएँ । सुरुका दिनमा माओवादी कार्यकर्ताको हत्या गरिदाँ त्यहाँ लास उठाएर काठमाडौँ ल्याउँदा गएको हो । काठमाडौँको टुडिखेलमा प्रचण्डजीहरुले श्रद्धाञ्जली गरेका थिए । त्यसपछि म रौटहट गएको नै छैन ।’

    तत्कालीन समयम सो घटनाबारे आफूलाई कुनै जानकारी नै नआएको सिटौलाले बताए । ‘यो घटनाबारे जाहेरी गृह मन्त्रालयमा नै आएन । यस घटनाको अनुसन्धान प्रहरी र सरकारी वकिलले नै गर्ने हो । घटनाबारे जानकारी आउँदा सचिवमार्फत् आउने हो । मलाई कुनै पनि कुराको जानकारी आएको छैन । अनि म कसरी रौतहट गए होला र ?,’ उनले प्रश्न गरे ।

    घटना भएको भनिएको दिन चुनावी प्रचारका क्रममा झापामा रहेको भन्दै उनले भने, ‘२०६४ सालका चैत २७ गते रौतहटमा घटना भएको भन्ने छ । २८ गते संविधानसभाको निर्वाचन थियो । निर्वाचनपछि रौतहट जाने कुरा भएन । त्यतिबेला म आफै झापाबाट निर्वाचन हारेको थिएँ । निर्वाचन हारेको गृहमन्त्री कता जिल्ला दौडन्छ ?’

    यसअघि शुक्रबार काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमीको बोडेमा आयोजित दुई दिने प्रशिक्षणमा समेत सिटौलाले षडयन्त्रपूर्ण रुपमा काँग्रेसबिरुद्ध सञ्चारमाध्यम लागेको सिटौलाको आरोप लगाएका थिए ।

    ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काँग्रेसविरुद्ध लागेका छन् । काँग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो,’ उनले भनेका थिए ।  रातोपाटीसँग पनि सिटौलाले सोही कुरा दोहोर्याए ।

    उनले भने, ‘म रौटहट गएर घटना दबाउन प्रहरीलाई दबाब दिएको भनेर मिडियामा समाचार आउनुमा ठूलो षडयन्त्र भइरहेको प्रस्ट हुन्छ । होइन भने समाचारमा सत्यतथ्य कुरा नआएर मेरोविरुद्ध प्रचार किन गरियो ?’

    निर्वाचनपछि आफूले गृहमन्त्रीको हैसियतले गरेको काम स्मरण गर्दै सिटौलाले भने, ‘चुनाव हारेपछि काठमाडौँ आएँ । नयाँ सरकार निर्माणको प्रबन्धमा लाग्यौँ । निर्वाचनपछि तत्कालीन सरकारले मन्त्रिपरिषद्बाट गणतन्त्रको प्रस्ताव पारित गर्यो । त्यो लगेर संविधानसभामा राखियो । त्यो राख्ने काम प्रधानमन्त्रीको निर्देशनमा मैले गरेको थिएँ । निर्वाचनपछि मैले गरेको काम त्यति हो ।’

    यस घटनामा आफ्नो पनि नाम जोडेर हेरिनुले ठूलो षड्यन्त्र भइरहेको आभाष देखिएको भनाइ छ । आफ्नो गृह जिल्ला झापामा रहेका सिटौलाले कार्तिक ६ गते काठमाडौँ आएर आफूविरुद्ध मिडियामा छरिएको भ्रमणबारे पत्रकार सम्मेलन गर्ने जनाकारी दिए ।

    १२ वर्षपछि आलम पक्राउ पर्नुलाई पनि उनी शंकाको नजरले हेर्छन् । ‘कयौँ सरकार परिवर्तन भए, अहिले आएर महोम्मद अफताब आलमलाई पक्राउ गरिएको छ । उहाँले त्यस्तो घटना घटाएको भए अहिलेसम्म किन बाहिर आएन । योबीचमा काँग्रेसको मात्र सरकार त थिएन । गिरिजाबाबु, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, फेरि प्रचण्ड, शेरबहादुर देउवा र अहिले आएर केपी ओलीले सरकार सञ्चालन गरिरहनुभएको छ,’ सिटौलाले भने, ‘अहिले कम्युनिस्टको दुई तिहाइको बलियो सरकार छ । अचानक उनी (आलम)माथि यो किसिमको चर्चा आउँदा अफताब आलममाथि षड्यन्त्र भयो भन्ने मलाई आशंका लागेको छ ।’

    यद्यपि उनले आफूहरु अनुसन्धानको विपक्षमा नरहेको भन्दै बाँकी कुरा अदालतले गर्ने निर्णयमा भर पर्ने बताए । यता, शुक्रबार प्रशिक्षण कार्यक्रममा सिटौलाले आलमको बचाउ गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बचाउमा उत्रिएका थिए । १२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै देउवाले ‘त्यतिबेला के हेरेर बसेको ?,’ भन्दै प्रश्न गरेका थिए ।

    तर शनिबार उक्त अभिव्यक्तिलाई संशोधन गर्दै विज्ञप्तिमार्फत देउवाले भनेका छन्, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’ कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क थियो ।
    ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमार्फत उनले भनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु