skip this
  • फिचर

    हत्कडीले बाँधिएका १५५ दिनका मेरा भोगाइहरु : क अटल

  • मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रति उसको सरोकार हुन्छ, यहि प्रवृत्ति ममा पनि हुनु कुनै अनौठो कुरा भयन, बरु आवश्यक पनि थियो ।

    यहि आवस्यकता पुर्ति गर्ने मनाशयबाट म सुन्दर समाजको परिकल्पना मा लागे । यहि परिकल्पनाले मलाई राजनीतिमा ल्यायो र राजनितीले जेलसम्म । घटना बैशाख ७ गतेको हो म गोर्खा कयापानी स्थित दिदीको घरमा बसिरहेको थिए, बिदामा मामाघर आएको भान्जा एक्लै जान नसक्ने भयको कारण म पुर्याउन गएको थिए । मकै भर्खर गोड्ने बेला भएको थियो । मित बाको घरमा मकै गोडेर आएर कोठामा बसिरहेको थिएँ । एक्कासि एक गाडी प्रहरी आएर मलाइ घेरा हाले । मैले किन ? के भो ? भनि सोध्दा इन्स्पेक्टर पदम राज थापा आएर तपाइँ सङ सोधपुछ गर्नु छ कार्यलयमा जानपर्छ भने ।

    मलाई इप्रका आरुघाटको हिरासत कक्षमा लगेर राखियो । भोलिपल्ट इन्स्पेक्टरले तपाइँको नाममा धादिङमा मुद्दा छ उतै जानपर्छ भने । के भनेर हालेको रहेछ भनी सोध्दा एनसेल टावरमा आगजानी गरेको भने । मलाइ त्यती नौलो लागेन किनकि गतवर्ष पनि अखिल (क्रान्तिकारी) रसुवाको जिल्ला सम्मेलन हुदै गर्दा म लगायत अन्य ४ जना साथिहरुलाइ यसैगरी गिरफ्तार गरेर पछि प्रहरी माथी कुटपिट भनेर मुद्दा चलाइएको थियो । मलाई थाहा थियो यिनिहरुले एउटा न एउटा मुद्दा लगाउछ भन्ने । त्यस पश्चात मलाइ जिप्रका गोरखाको हिरासतमा ल्याइयो । त्यहाँ एकदिन राखेपछी मलाइ धादिङ पठाइयो । धादिङ लैजाने क्रममा चौकी सार्दै सार्दै लगियो ।

    गोर्खाबाट आबुखैरेनी लैजादा मलाइ सार्वजनिक बसमा लगियो । बसमा खाली सिट थिएन । मेरो हातमा हतकडी भएको कारण मलाई उभिन अफ्ट्यारो भइरहेको थियो । एकजना दिदिले आफु बसेको ठाउँ दिनुभयो र सोध्नुभयो ?

    हातमा हतकडी लगाउदा पनि हसिलो अनुहार बनायर बस्ने मान्छे अपराधी त पक्कै होइन तपाइँ के मुद्दाको हो ? प्रहरी साथिहरुले मलाइ नबोल्न भनिरखेको थिए मैले भनिहाले म बिद्रोही नेकपाको मान्छे । बिप्लब ? हजुर, त्यसपछी बसमा बसिरहेको सबै मान्छेको ध्यान मतिर केन्द्रित भयो । प्रहरीको अवरोध बाबजुद धेरै जनासङ गफ भयो । सबै जना वर्तमान सत्ताको कामकारबाही प्रती असन्तुष्टि व्यक्त गर्दथे ।

    आबुखैरेनी देखि मुग्लिङ, मुग्लिङ देखि मझिमटार र मझिमटार देखि धादिङ सम्म चौकी सार्दै सार्दै धादिङ पुर्याइयो । धादिङ हिरासत गोर्खाको भन्दा अलि बढी नै अव्यवस्थित र भद्रगोल थियो । उडुस र जुम्राले टोकेर सुत्न नसक्ने, पिसाव पनि कोक्रोमा फेर्नुपर्ने, मानव अधिकारवादी आउँदा चाहि त्यो निकाल्ने गरेको रहेछ, मानव अधिकारका मान्छेहरु पनि हिरासत अध्यनको लागी आउँदा अलि छड्के तरिकाले आए हुने हो । दिशा गर्नपनि प्रहरीले भनेको बेलामा ढोका नखोलिदिने, बुढा बाहरुले सर दिशा आयो भन्दापनी, तेरो घर हो यो ? जस्ता शब्दहरु फर्काउथे । साँच्चै नै प्रहरी पेशामा मानवीय संबेदना कमी भएको मैले प्रत्यक्ष अनुभव गरेँ ।

    हिरासत सुधारको पक्षमा प्रहरी अधिकृत र अदालतका अधिकारीहरु सँग कुराकानी गर्दा सबै सकारात्मक नै देखिन्थे तर गरिहाल्ने कसले ? हिरासतमा अनेकौं मुद्दाका मानिसहरु थिए । म राजनीतिक मुद्दाको भएको कारणले सबैजना मसङ बोल्न खोज्थे, सबैसङ गफगाफ हुन्थ्यो । कोठा सानो र मान्छे धेरै भएको कारणले गर्दा एकजनाको शरिरमाथी अर्काको खुट्टा नराखी कहिल्यै सुत्न पाइएन । नुहाउन, धुन त परको कुरा १५–२० दिनमा पालो आए भाग्यमानी भनिदो रहेछ ।

    कर्तव्य ज्यान देखि लिएर १५० चोर्ने सम्म हिरासतमा थिए, साच्चै नै समाज यतिसम्म परजिवी भएछ कि १५० चोर्ने, एउटा थाल चोर्नेलाइ समेत समाजमा नमिलाएर मुद्दा दर्ता गराएर मुद्दा लडिराखेका थिए । सबैखाले मुद्दाका साथिहरु सङ रमाइला, रमाइला कुरा गरेर समय बिताईन्थ्यो, मुद्दा ममिलाको तनाब, प्रहरीको अभद्र व्यवहार, हिरासत भित्रको तनावपुर्ण वातावरण तथा सबै खाले आन्तरिक र बाह्र पिडाहरुलाई भुल्दै हामी रमाइलो गर्थौ । भनिन्छ जव हामी प्रतिकुल अवस्थामा पनि खुसी हुने कला सिक्छौ तव हाहीलाइ दुखी बनाउने तागत दुनियाँमा कसैको हुदैन । हामी सोहि कला एक अर्कालाई सिक्ने र सिकाउने गर्दथौ ।

    एकपटक प्रहरी उपरीक्षक राजकुमार बैदवारले उनको कार्यकक्षम भेट्न बोलाएपछि मैले उनलाई पत्रिकाको लागी अनुरोध गरे, त्यसपछी उनले पत्रिकाको व्यवस्था गरिदिए ।

    त्यहा पुगेको एक हप्ता पुग (नपुग भएको थियो एकदिन मलाइ अ. अ. शाखामा बोलाएर सो शाखामा बस्ने एकजना सिपाहीले तपाईंको नाममा अर्को पनि मुद्दा छ भने ,मैलै अझै अरु पनि हाल्नुस न यहाँ भएका हत्या, बलात्कार जस्ता सबै घटनामा मेरो नाममा मुद्दा लगाउनुस भने । शिक्षाबिद माथेमाले एकपटक भन्नुभयको रहेछ– नागरिकले प्रश्न गर्छ, जे दिएको हो, त्यो चुपचाप गर्दैन, उसले हेर्छ जाच्छ आवश्यक पर्यो भने चुनौती दिन्छ, अझ आवश्यक पर्यो भने अपोजिशनमा पनि जान्छ । यदि आदेश चुपचाप स्विकार गर्छ, प्रश्न गर्दैन, चुनौती पनि दिदैन भने त्यो रैति हो ।

    हामी नागरिक हुन चाहन्थ्यौ र राज्यका हरेक मानिस नागरिक बनुन भन्ने चाहन्न्थ्यौ । त्यसैले रैतिकरणका रहस्योद्घाटन गरिसकेका शासकहरुले हामिलाई घुमाइ–घुमाइ झुटा मुद्दा लगाइ हिरासतको कठोर भित्ताहरुमा छेकेर, यातना दिएर रैती बनाउन चाहन्छ । यसैगरी मेरो नाउँमा २ वटा मुद्दा भयो, एनसेल टावरमा आगजानी र बम बम बिस्फोट जवकी यो घटना भएको समेत थाहा नभयको र उनिहरुले भनेअनुसार घटना भएको मितिमा म चितवन रहेका कुरा यिनका प्राविधियुक्त अनुसन्धानले पत्ता लगाउन नसकेका कि यिनिपनी रैतिकरण रुचाउने शासककै सदस्य भयर यसो गरेका मनले यहि सोच रहेको थियो ?

    एसपी सापले पत्रिकाको ब्यबस्था गरेपछि बाहिरको घटन/परिघटना हरुको बारेमा थाहा हुन थाल्यो । म पत्रिकाको सुरुदेखी अन्त्यसम्म कुनैपनी अक्षर समेत नछुट्टाइ पढ्थे र राम्रा लेखहरु संकलन गरेर राख्थे । जेष्ठ ८ गते नागरिक दैनिकको एउटा कुनामा बिप्लपका जिल्ला स्तरिय नेता तिर्थराज घिमिरेको प्रहरी सङको मुठभेडमा मृत्यु भनेर आयो, सो घटनलाइ पार्टीले मुठभेड नभइ इन्काउन्टर हो भनेर भन्यो र त्यसको बिरोध गर्दै जेष्ठ १२ गते नेपाल बन्दको आह्वान गर्यो । सो बन्दको पुर्बसन्ध्यामा भयको बम बिस्फोटमा परि अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मेरो प्रीय मित्र क. प्रज्वल लगायतले सहादत गर्नु भएछ, मैले भोलिपल्टको पत्रिका पढेर थाहा पाएँ । म अवाक भय, मेरो आखाबाट आशु झर्यो ।

    जेष्ठ १४ गते ३८ दिनको दिन हाम्रो फाइल न्यायाधीश समक्ष पेश गरियो । हाम्रो तर्फबाट वकिल रामकृष्ण अधिकारी र सरकारको तर्फबाट सरकाली वकिलले बहस गर्नुभयो । केहिबेरमा न्यायाधीसले फैसला सुनाउनु भयो । एनसेल टावरमा आगजनी ५० र बम बिस्फोटमा ५० हजार गरि जम्मा १ लाख धरौटी खोलियो ।

    अदालत र त्यहा वरपरका हामी प्रति सकारात्मक रहने साथिहरुले धरौटी नतिर्न अनुरोध गरे । यदि धरौटी तिरेमा प्रहरीले अन्य मुद्दा लगाउछ र पुनः हिरासतमा लैजान्छ बरु कारागार जानुस बस्न पनि सजिलो हुन्छ भन्ने कुराहरु आयो र अन्य जिल्लामा अन्य साथिहरुलाइ पनि यस्तै हर्कतहरु गरेको हुनाले हामी धरौटी नतिर्ने र कारागार जाने निधो गर्यौ ।

    जेलमा अलि फराकिलो ठाउँ, पत्रपत्रिका तथा पुस्तक हरु पढ्न पाइने, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइने तथा घण्टौ लाइन बसेर भयपनि फोन गर्न पाइने भएकोले समय कटाउन अलि सजिलो भयो । साथिहरु पनि धेरै भए, प्राय सबै सङ बोल्थे म । वृद्ध, युवा, किशोर सबै मेरा साथी हुन्थे । सबैको कुरा सुन्थे र सुनाउथे, पार्टीको बिचार, वर्तमान राज्य ब्यबस्थाको अवस्था तथा क्रान्तिमा लाग्न र आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्थे ।

    जेल स्वयम् रुखो र जर्जर ठाउँ हो । जहाँ सद्ब्यबहार र सहानुभूति कमै पाइन्छ । यहाँको शासन ब्यबस्था झनै राणा शासन जस्तो छ । नाइकेहरुले अन्य बन्दिहरुमाथी चरम दमन गर्ने, नाइकेहरु हिड्दा बाटो खाली गरिदिनुपर्ने, नयाँ जाने साथिहरुलाई केहि दिनसम्म बोल्न नदिइ अध्यारो कोठामा थुनेर राख्ने, सामान्य कुरामा पनि हप्काउने कुटपिट गर्ने जस्ता कार्यकहरु गरेको मैले प्रत्यक्ष अनुभव गरें ।

    बेलायती राजनितीज्ञ विलियम पिटरले लेखेका रहेछन्– असीमित शक्ति जसले हात पारेको हुन्छ उसको मनलाई त्यही त्यही शक्तिले भ्रष्ट बनाइदिन्छ । एउटा बन्दिले त शक्ति आफ्नो हातमा पारेपछी यस्ता हर्कतहरु गर्दा रहेछन् भने कैयौं वर्षदेखी शासन सत्ताको बागडोर सम्हालेर बसेका नेपालका वर्तमान शासकलाईजनताको के माया ? बाहिरी दुनियाँमा सत्ताका सामाजिक अबस्थाहरुको कारण अपराध गरि गएकाहरु भित्र गइसकेपछि उनीहरुको हातमा सत्ता आएपछी बाहिरी शासक भन्दा पनि कठोर हुने रहेछन् ।

    बाहिरी सत्ताको असफलता र त्यसका कामकारबाहीहरुको बैचारिक र भौतिक रुपमा नै बिरोधमा उत्रेपछि नेकपालाइ राज्यले आफ्नै संविधान बिपरित गएर प्रतिबन्ध गर्यो र आफ्ना असफलताको उजागत हुने डरले यसका नेता कार्यकर्ता र सुभचिन्तकलाइ समेत जेलमा कोच्न थाल्यो ।

    त्यसै अन्तरगत म पनि जेलमा परे । राजनीतिक धर्मअनुसार दमन, उत्पिडन र शासन एउटा वर्गको राजनीति हुन्छ भने त्यसको प्रतिरोधमा अर्को वर्गको राजनीति हुन्छ । हामी हाम्रो धर्मको कारणले जेल परेको मान्छे जेल पर्दैमा आफ्नो धर्म किन छोडिन्थ्यो र ? त्यसै अनुरुप त्यहाँ हुने हरेक अमानवीय गतिविधिको बिरोध गर्ने थाले ।

    सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि हर आउँदापनि त्यहाँको समस्या र सुधारको पक्षमा जानकारी तथा सुझाबहरु पेश गर्ने गर्थे । यी सबै कुराहरु त्यहाँ अन्य कोहि पनि बन्दी गर्न सक्दैनथे । कारण त्यहाँ सो गर्नका लागी बन्देज लगाइएको थियो । यदि कसैले त्यसो गर्ने हिम्मत गरेमा नाइकेहरुद्वारा उमाथी हप्काउने, कुटपिट गर्ने वा अझै भएन भने दुर्गम ठाउँहरुमा फालिदिने गर्ने गरिदो रहेछ ।मलाइ पनि त्यहाँको नाइकेहरुद्वारा भेटेर घुमाउरो पाराले सम्झाउथे, तर म आफ्नो राजनीतिक धर्मको लागी जेल त बस्न तयार हुने मान्छे यस्ता कुराले मलाइ किन छुन्थ्यो र ?

    अझै भनौं खराब गतिविधिहरु देख्दा देख्दै बिरोध नगरी बस्न नै सक्दैन थिए । यो सायद क्रान्तिकारी आन्दोलनमा लाग्ने सबैमा हुने स्वभाव पनि होला । सामान्य मानिसहरुमा भन्दा क्रान्तिकारी आन्दोलनमा लागेका मानिसहरुमा भावुगता, मनोवेग पुर्ण भावुगता हुन्छ भन्ने मलाइ लाग्छ । नत्र उसलाइ कसरी सामाजिक विकृतीले सत्याउथ्यो ? नत्र उ कसरी यो बिकृती विरुद्ध आगो भएर उम्लिन्थ्यो ? त्यसैले परिवर्तनकारी हिम्मत राख्नेहरु सँग नै समाजलाइ सबैभन्दा बढी माया गर्ने चेतना हुन्छ ।

    मानिसहरु ठान्दछन्, क्रान्तिकारी भएपछी हरेक पक्षमा शोक न सुर्ता भोक न भकारी हुन्छ । तर खासमा त्यसो होइन, त्यस्तो शोक न सुर्ता हुनेहरु क्रान्तिकारी हुदैनन् ति त समाजबाट पलाएन भयर स्वार्थि बन्छन् हुन्छन् । क्रान्तिकारीहरु आफ्नो मात्र हैन विश्वको मुक्ति पाउनका लागी पर्छन् । संकट र दुखबाट छुटकारा लिन उन्नत जिवन, मानवीयता र न्यायपुर्ण समाज स्थापनाको लागी, आफु समर्पित हुन्छन् । त्यसैले उनमा शुर्ता गर्ने क्षमता हुन्छ माया गर्ने भावना हुन्छ ।

    कारागारमा महिनामा २ दिन १५ गते र १ गते चाही हिसाब किताब मिलाउने दिन हुँदा रहेछ । सो दिन आउने बित्तिकै उधारो हुनेहरु छट्पटी गर्न थाल्छन् घरबाट नियमित पैसा आउने संभावना धेरै मुद्दा आउनेहरुको हकमा कमै हुन्छ । उत्पादन गर्ने भनेको मुडाबाट हो त्योपनी एकदमै कम ज्यालामा र सो को पैसा पनि ५–६ महिना नभई पाइदैन ।त्यसैले यो दिन आउने बित्तिकै बन्दीहरु छट्पटाउछन् । नदिउ पिटाइ खाने दिउँ गोजिमा नहुने र यहाँको अर्को समस्या भनेको उधारो खाता बढाइदिने ।

    टेलीफोन, पसल, क्यान्टिन, खेलकुद जताततै १५ दिनमा हिसाब गर्दा रु ५०–१०० त सामान्य रुपमा बढेकै हुन्छ । बढेको थाहा पाएतापनी केहि बोल्न सक्दैनन् बन्दिहरु त्यसमा अनेकौं कारण छन् । यो रोगबाट त्यहाँका नाइकेहरु समेत पिडित छन् । उनिहरुलाइ पनि त्यहाँको संरचनाले नै चुप लाग्न बाध्य बनाउछ ।

    सम्मानित अदालतले छाड्ने आदेश गर्दापनी अदालतको गेट बाटै साथिहरुलाइ पुनः समातेर झुटा मुद्दा लगाउन थालियो त्यती मात्रै नभयर साथिहरुलाइ मुठभेडको नाममा हत्या समेत गर्न थालियो । हामी शान्तिपुर्ण राजनीतिमा सङ्लग्न हुदाहुदै, हामी वार्ताको लागी तयार छौं भन्दाभन्दै जिम्मेवार भनिने पक्षहरु हाम्रो यो धारणालाइ बुझ्न चाहदैन ।

    पुर्वाग्रही भएर राजनीतिक मर्यादालाइ कुल्चिदैछ । आफैंले बनायको संविधान र कानुन बिपरित गइरहेको छ । राज्यमा यतिखेर भइरहेको दलालतन्त्र र लुटतन्त्रको बिरोध गर्नु हरेक देशभक्त नागरिकको कर्तव्य हो । यहि गर्दा हामी माथी राज्य निर्मम भएर लागिरहेको छ । माफियाहरुको बिरोध गर्दा दलाल पुजिपतीहरुको बिरोध गर्दा समाजवाद उन्मुख राज्य ब्यबस्था र आफुलाइ कम्युनिस्ट हु भन्ने राज्यका शासकहरुले हामिलाइ सम्मान र बधाई दिनुपर्ने ठाउँमा उल्टो हामि माथी नै दमन गर्नुले यि शासकहरु को हुन् र यो राज्य कहाँबाट परिचालित छ भन्ने कुरा छर्लङ्ग देखिन्छ ।

    कुनैपनी चिज अकारण जन्मदैन हरेक दर्शन र आन्दोलनहरु तत्कालीन समयको सामाजिक अबस्थाको उपज हुन् । सबै बिचार र प्रतिभाहरु उ बाचेको युगले निर्देशित हुन्छ । आफुलाइ माक्र्सवादी भन्न रुचाउने र हिजो आन्दोलनकै जगबाट आएका वर्तमान नेपालको शासकहरुले यी र यस्ता कुराहरुलाइ नबुझी आफ्नो पृष्ठभुमिलाइ बिर्सेर अहिले राज्य आतंक मच्चाउन थालेको छ र आतंक चाहिरहेको छ । राज्यले अघोषित रुपमा युद्धको घोषणा गरेको छ र बिद्रोहिहरुलाइ युद्धको निम्ती आमन्त्रण गरिरहेको छ ।

    राजनीतिक नेता कार्यकर्ताहरुलाइ दिन दाहाडै गोलि चलाउनु, हत्या गर्नु, आस्थाकै आधारमा नागरिकलाइ जेल हाल्नु र राजनीतिक संघर्षहरुलाइ कानुनी रुपबाट हल गर्छु भनी प्रधानमन्त्रीले अभिव्यक्ति दिनु यसको प्रमाण हो । कानुन भनेको प्राबिधिक कुरा हो । प्राबिधिक तरिकाले समाजको अन्तरबिरोध सुल्झदैन बरु झनै चर्को हुन्छ । यतिबेला यो ब्यबस्थाको असफलताको झिल्काहरु सडकमा छर्लङ्ग देखिन थालेको छन् । जनता आन्दोलनमा आउन थालेको छन् । त्यसैले सत्ताशिनहरु आत्तियर बेलैमा निमोठ्न तयार हुँदैछन् । यहि हो असार ५ गतेको कुमार पौडेलको हत्यापनी । हरेक सत्ताले आफ्नो सत्तालाइ चिरञ्जीवी बनाउनको लागी बिद्रोहिहरुलाइ दमन गर्ने गर्छन् ।

    क्रान्तिकारीहरुको हत्या गरेपछी स्वभाबिक रुपमा आन्दोलन सेलाएर जान्छ भन्ने धारणा सत्ताधारीहरुको हुन्छ । तर यो कुरा साचो होला त ? खड्क प्रसाद ओलि जि ? प्रहरीले पक्रेर सुखानी जङ्गलमा तपाईंको सहयोद्वाहरुको हत्या गरेपछी तपाईहरुको आन्दोलन सेलायो ? अनि बादल इच्छुकहरुको हत्याले जनयुद्ध सेलायो ? तपाईंहरु माक्र्सवादका विद्यार्थीहरु किन सत्तामा गइसकेपछि माक्र्स, लेनिन माओको बिचार र कार्यक्रमबाट पन्छियर जार मुसोलिनी, हिटलर र च्याङ काइ सेकका गतिविधीहरु गर्न चाहनुहुन्छ । त्यो बाटो पनतको बाटो हो भन्ने था हुँदा हुँदै पनि किन सोहि बाटो हिंड्न् चाहानुहुन्छ ?

    वर्तमान व्यवस्थाका कामकारबाही हेर्दा या यस्तै जनबिरोधी हर्कतहरु हेर्दा मालाइ सो व्यवस्थाको विरुद्ध जेल बसेकोमा गर्वले छाति फुल्छ र भन्न मन लाग्छ । जनबिरोधी सत्ता यस्तै हुन्छ र यसको अन्त्य चाहनेले मारिनु, दुःख पाउनु या काराबासको सजाय पाउनु स्वभाबिक छ । मेरो हकमा पनि यहि भयो कुनै अनौठो कुरा होईन ।

    हिरासतमा प्रहरीले अनुसन्धान गरिसकेपछि वा अदालतले अपराध ठहर गरिसकेपछि मात्र कारागारमा थुनुवा वा बन्दिहरु आउँछन् । तर यहाँ सबै अपराधी मात्र भने छैनन् । धान खाने मुसो, चोट खाने भ्यागुतो बिद्दमान सामाजिक व्यबस्थाले आत्मासात गरेको यहि बिधानले थुप्रै निर्दोषहरुलाइ फन्दामा पारेको छ, पारिरहेको छ ।

    आज यि निर्दोषका अनगिन्ती आत्माकथा कसले सुनिदिने ? उनिहरुका निर्दोष दिलका ब्यथा कसले सुनिदिने ? कारागार क्षमता १०० जनाको मात्रै भयतपनि थुनुवा र बन्दी गरि करिब ३०० जना थिए । सबैको आ–आफ्नो व्यथा थियो । एउटा रुणिवादी समाजको वस्तविकता झल्काउने घटना थियो त्यहाँ धादिङको उत्तरी भेगमा अवस्थित रि भन्ने ठाउँको सो घटनामा बिरामी भएर मान्छे मरेपछी झाक्रीले भेद हालेर मारेको आरोप लगायर सबै गाउँले मिलेर २ जना झाक्रीलाइ कुटिकुटी मारेर लास समेत आफन्तलाइ नदिइ जलायछन्, सोहि मुद्दामा २६ जनालाइ मुद्दा चलाइएको रहेछ ।

    अझै पनि नेपाली ग्रामीण क्षेत्रमा, समाजमा परेको अकाल टार्न धामी झाक्रीलाइ धुप चढाउछन् । धामी झाक्रीले नै टि भि, पहेलो रोग, सुत्केरी ब्यथा र बालरोग जस्ता रोग निको पार्न घोडाको घन्टीका माला बजाउदै वनझाक्री र कुलाइन बक्सायर ओखतिमुलो गर्दैछन् ।

    यहाँका गाउँलेहरु र झाक्री यि सबैलाई यि रोगका जड, भनेको भुत वा डायनि भन्ने लागिरहेछ तर ति बिचरलाइ रोगको जड भनेको डायनी हैन महलका डायनी हुन्न भन्ने थाहा छैन । बिचरा झाक्री बा अझैपनी बोक्सी खोज्न गरिबको चेली र बिधवाहरुको चेहरा खोजिरहेछन । काला माला लगायर हटहट, गर्दै समाजमा आराम र शान्ति ल्याउने प्रयासमा लागिरहेको छन् । तर जबसम्म हामी काला माला लियर अदृश्य होइन, आफ्नो मनको भुतलाइ फ्याकेर दृश्य शत्रुका विरुद्ध उढ्दैनौ, तबसम्म शान्ती र अमनचयन समाजले पाउने छैनन् ।

    अब तपाईंहरुले खोलानाला, भिरपाखा, चिहानघारी र उजाड खोरियाहरु, मासानघाट र दोबाटोमा खेल्ने अदृश्य भुतलाइ होईन, सिंह दरबारमा खेल्ने भुतहरुलाइ हटहट गर्नुपर्छ तब मात्र तिम्रा काला माला, घोडाका वर्गटहरुले तिम्रा बूढो शरीर र तिम्रा सबै सन्तानहरुले र सारा गाउलेहरुले आराम पाउनेछन ।कारागारमा सबै भन्दा बढी थुनुवा र बन्दी ज.ज.क उद्योगमा थिए । यो नेपालमा पछिल्लो समय अलि ल बढी नै पाइएको छ । यसमा अनुसन्धान अलि बढी नै पृथक ढङ्गले गरिएन भने यसले समाजमा विकृति ल्याउछ ।

    जेलमा सबैभन्दा रमाइलो लाग्ने पल भनेको जब गेटमा आफ्नो नामको पछाडी भेटघाट भनेर बोलाइन्छ, मलाइ भेट्न आउने मान्छेहरु राजनीतिज्ञ, शिक्षा क्षेत्रका मान्छेहरु आफन्तजन र मित्र हरु हुन्छन । भेटघाट पछि बाहिरी संसारको याद आउँछ, आफन्तजनको याद आउँछ र आफ्ना प्रिय मित्रहरुको याद आउछ र पुनः सामान्य अवस्थामा आउन समय लाग्ने रहेछ ।

    म दैनिक घण्टौ लाइन बसेर फोन गर्दथे । आफन्तजन, घरपरिवार र मित्रहरुलाई फोन गर्दथे । घण्टौलाई बसेर गरेको फोन नउठ्दा चाहिँ खिन्न लाग्थ्यो । जेलजिवन नै यस्तै हुन्छ, सामान्य कुराले पनि हल्लाउछ किनकी हाम्रो मन अगम्भिर हुन्छ, घरमा फोन गर्दा चिन्ता लिन्छन, आतिन्छन भनेर म फोन गर्दा हासिहासी बोल्थे ।

    आमालाई थाहा दिएको थिएन चिन्ता लिन्छन भनेर दाइहरुले आमालाई नभन्ने सल्लाह गरेछन् । आमाले कहाँ छ भनेर सोध्दा इन्डिया घुम्न गएको छ भनेछन् । हिरासत र जेलमा छुट्नका लागी थुप्रै प्रस्ताबहरु आउथे र त्यसका लागी मैले सम्झौता गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव ल्याउनेहरु राजनितिक दल र प्रशासनक मान्छेहरु हुन्थे । तर म अराजनीतिक तरिकाबाट छुट्न चाहन्नथे बरु राजनीतिक तरिकाबाट जेलमा नै बस्न तयार थिए । भन्थे राजनीतिक तरिकाबाट थुन्न जान्नेले छोड्नपनी राजनीतिक तरिकाबाट नै जान्नुपर्छ । तर सत्ता त्यसो गर्न जान्दैन किनकि यो निर्मोही र निर्दयिहरुको भिडबाट संचालित हुन्छ । निरंकुश सत्ताको उन्मादले उ मानिसबाट पशुमा गिर्नेछ र पशु भएपछी मानिसले उनलाइ घृणा गर्नेछन् र मानिसको शासन मानिसलाइ नै दिनेछन् । यो समाजको नियम पनि हो । क्रमसः

    (लेखक विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हुन्)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु