skip this
  • फिचर

    “प्रकाशको बलिदानको उज्यालोमा”:नारायण शर्मा “विपिन”

  • “प्रकाशको बलिदानको उज्यालोमा”
    नारायण शर्मा ‘विपिन’
    चितवन रत्ननगर टाँडी बजारबाट पूर्वपट्टी एउटा स-सानो फलफूल बजार छ । सडक छेउमा व्यापार गर्ने फूटपाथका व्यापारीहरूलाई व्यवस्थापन गर्न शुरु भएको यही बजारमा यौटा ठेला पसलमा रसिलो फलफूल बेच्दै निरस जीवन काटीरहेको भेटिनुहुन्छ देबी भाउजु । देबी भाउजु अर्थात् देव कुमारी घिमिरे अर्थात् जनयुद्धका महान् शहीद क. प्रकाश घिमिरेकी जीवन साथी । देवी भाउजुको फरासिलो अनुहारमा जेठको उखरमाउलो गर्मीमा पनि मस्तसँग फुलेर सुर्यलाई चुनौती दिइरहने शिरीषको फूल झैँ जीवनका अनकौँ हुण्डरीलाई अटेर गर्दै स्वाभिमानी जीवनको मुस्कान फुलीरहेको हुन्छ । शायद निष्ठुरी समयसँग पैँठेजोरी खेल्दै खुशी रहेको भान पार्न अभ्यस्त भइसकेर होला । मनमा आइरहेका अनेकौँ भावलाई सहज बनाउँदै शहीद प्रकाश घिमिरेको जीवनलाई चियाउने प्रयास गर्दा देबि भाउजुको खाटा बसेको मनको घाउ आलो बनेर रसायो ।
    गोर्खा दरौंफाँट रामपुरका टंकबहादुर घिमिरे र सन्तकुमारी घिमिरेको काइँला छोराको रूपमा प्रकाश घिमिरेको जन्म भरको थियो । शायद त्यतीबेलाको उत्पादन सम्बन्ध र सामाजिक संरचनाले होला उहाँको परिवारको बसाइ सराईको रफ्तार अलिक तिब्र थियो । २०२० सालको श्रावण महिनामा जन्मनु भएका उहाँले धादिङ जिल्लाको पुर्सुकबाट कक्षा ९ सम्म अध्ययन गर्नुभयो । कक्षा ९ मा अध्ययन गर्दा गर्दै उहाँको नवलपरासी जिल्ला सुनवल गा.वि.स. वडा नं. ८ का क्षेत्र बहादुर र एककुमारी खड्काकी छोरी देवकुमारी खड्कासँग २०४५ माघ २० गतेका दिन मागी विवाह भयो । विवाहको समय प्रकाश २५ र देवकुमारी १३ वर्षको हुनुहुन्थ्यो । हाम्रो सामाजिक परम्पराको एउटा कुरूप पाटो अनमेल विवाहको सुन्दर तस्बिर हो । विवाह र सम्बन्धलाई ठिकसँग बुझ्ने उमेर पनि नपुगेकी किशोरीको ९ कक्षा पढ्ने २५ वर्षको तन्नेरीसँग मागी विवाहले हाम्रो समाजको त्यसबेलाको चित्र स्पष्ट पार्छ । सामन्ती उत्पादन सम्बन्धको एउटा क्रुर कोलाज देखिन्छ ।
    विवाहपश्‍चात प्रकाश घिमिरेले ससुरालीको सहयोगमा सुनवलबाटै एस एल सी उत्तीर्ण गर्नुभयो । गोर्खाबाट सहज जीवनका लागि बसाई सर्दासर्दै पर्सा जिल्लाको वीरगञ्‍ज, बारा जिल्लाको निजगढ हुँदै चितवनको पिप्लेमा आइ स्थायी बसोबास गर्न थाल्यो घिमिरे परिवार ।
    चितवन रत्ननगरको शहीद स्मृति कलेज टाँडीबाट कक्षा १२ सम्म अध्ययन गर्नुभएका शहीद प्रकाशका कलेज पढ्ने बेलामा सहपाठी विद्यार्थी नेता कञ्‍चन खनाल, शोभा कट्टेल लगायत हुनुहुन्थ्यो । ’ उहाँलाई ०४५-०४६ बाटै राजनीतिप्रति चासो र सक्रियता बढ्न थालेको थियो । शोभा ‚ कञ्चन लगायतको संगतले उहाँलाई माओवादी आन्दोलनको नजिक पुर्‍यायो । सक्रियता झनै बढ्न थाल्यो ’ देबी भाउजुको आँखामा बिगत छल्कियो ।
    प्रकाश घिमिरेको परिवार चितवन, पिप्ले गा.वि.स. वडा नं. ४मा बस्थ्यो । उहाँ त्यस गाउँकै अगुवा मध्येमा पर्नुहुन्थ्यो । उहाँकै सक्रियता र पहलमा झ्यालाचौरमा स्कुल स्थापना भएको थियो । ०५६-०५७ तिर त्यस स्कुलको सञ्‍चालनसँगै शिक्षणमा व्यस्त हुनुहुन्थ्यो प्रकाश । उहाँ एक राम्रो सामाजिक व्यक्तित्त्व भएको सम्झिनु हुन्छ देवी भाउजु । उहाँ सामाजिक र राजनीतिक रूपले अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । गाउँमा कसैलाई दुःख विमार पर्दा होस् वा अरु नै केही अप्ठ्यारो पर्दा होस् प्रकाश घिमिरेको सुझाव सल्लाह र उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो त्यस भेगमा ।
    जनयुद्धको कठिन समयमा उहाँहरुको घर त्यस क्षेत्रको माओवादी नेता कार्यकर्ताको सुरक्षित आश्रय स्थल र छाक टार्ने थलो थियो । कञ्‍चन खनाल, सावित्री आचार्य, शुष्मा खनाल लगायतका माओवादी नेता कार्यकर्ता बाक्लो आवत जावत गर्थे । ईश्‍वरी खनाल ‘प्रतीक’ र अम्बिका मुडभरी ‘अञ्जना’ले त्यस क्षेत्रमा लामो समय काम गरेको सम्झनुहुन्छ प्रकाशकी जीवनसँगी देवी । ‘कान्छी छोरी किरण त अम्बिकाजीले नै हुर्काउनुभएको भन्दा पनि हुन्छ, सुत्केरी बेलामा उहाँले मेरो पनि धेरै स्याहार गर्नु भएको थियो’ भन्दै अतिततिर फर्कनु भयो देवी भाउजु । ‘ प्रकाश दाई पूर्णकालीन हुने बेलामा पार्टी ACM (इलाका सदस्य) हुनुहुन्थ्यो । पूर्णकालीन नहुँदा पनि सो सरह भूमिका निर्वाह गर्नुहुन्थ्यो । अंशकालीन कार्यकर्ताको जोखिम धेरै थियो । घर परिवारको काम र पार्टीको जिम्मेवारी दुवै पूरा गर्नु पर्ने हुन्थ्यो । देवी भाउजू सुत्केरी (कान्छी छोरीको जन्म) भएपछि अरु साथीहरू त्यस घरमा जान कम गर्नु भयो । म नियमित जस्तो जान्थेँ । कान्छी छोरी ‘किरण’ को नामै मैले जुराइदिएको हो । केदार खरेल ‘आकाश’, रामजी कडेल ‘मुकेश’ र प्रकाश घिमिरे त्यस क्षेत्रका नेता हुनुहुन्थ्यो । प्रकाश दाइमा तुरुन्त निर्णय गर्न सक्ने र सबैलाई परिचालित गर्न सक्ने क्षमता बढी थियो ’ विगतका दिन सम्झनु हुन्छ अम्बिका मुडभरी अञ्जना । शहीद प्रकाश घिमिरेका तीन छोरहीहरू छन् । जेठी छोरी सिता, माइली शोभा र कान्छी कीरण क्रमशः ०५० असोज, ०५६ भाद्र र २०५८ मंसिर २७ मा जन्म भएको हो । बुवाको सहादत भयो । छोरीहरूले बुवाको माया त पाएनन् नै सहिद परिवारको हैसियतले पाउने सामान्य शैक्षिक सहुलियत पनी न पाएको गुनासो छ उहाँहरुको ।
    ‘शिक्षणसँगै पार्टीको काम गर्दै स्थानीय रूपमा सहयोग गर्नुहुन्थ्यो, सुराकीका कारण स्कुल छाड्नु पर्‍यो । छोरीहरू ठुली र माइलीलाई त बाबाको केही केही सम्झना छ । कान्छी छोरी जन्मेकी १५– २० दिनपछि पूर्णकालीन हुनुभयो‚ ०५८ पौष १५ का दिन । बिचरी त्यो बच्चीले बाबाको माया र स्पर्श अनुभूति गर्न पनि पाइन । सम्झेर पनि कहाली लाग्छ ।‘ देबी भाउजु ‚ टाँडीको फलफूल पसलमा दिनहुँ फलफूलसँगै भावना कति जोखिन्छ होला ? सिंगो परिवारको अभिभावक जो स्वाधीन र सम्मुन्नत राष्ट्र निर्माणका लागि बलिदान भैसक्यो उसको नासो ३ छोरहीहरू सहित एकल महिलाले जीवन संघर्ष चलाइ राख्न दिनहुँ बिहानदेखि बेलुकासम्म तराजुले फलफूल जोख्दा अस्थिर हुने तौल र मान्छेको जीवन ‚ कुन चाँहि बढी अस्थिर हुन्छ होला ।
    “प्रकाश घिमिरे त्यस समय पहाडी इलाकाको सेक्रेटरी हुनुहुन्थ्यो “ टंक रेग्मी गोर्खाली विगत सम्झँदै भावुक बन्नु भयो । ‘पूर्व तर्फबाट पार्टीका केन्द्रीय नेताहरू बैठकका निम्ति पश्‍चिम जाने क्रम थियो । हामी सबै चनाखो थियौँ । चितवनको जिल्ला पार्टीको काँधमा धेरै ठूलो जिम्मेवारी थियो त्यसबेला । सबै नेताहरूको सुरक्षित यात्रा र योजना गोप्य राख्नु चानचुने काम थिएन । सबैले आ-आफ्नो भूगोल र जिम्मेवारीका सबै काम पूरा गर्नु थियो । ठुलो मुभमेन्ट कहीँ कतैबाट पनि सुचना नचुहियोस् भनेर हामी सतर्क थियौँ । शायद दुश्मनले कतैबाट सुइँको पायो की ? केशव क्षेत्री विदुर र प्रकाशजी दाहाखानी गा.वि.स. र त्यस क्षेत्रको रेकी गर्ने काममा खटिनु भएको थियो । दाहाखनी गा.वि.स. भवन‚ हेल्थपोष्ट र स्कुल नजिकै छन् । त्यहाँ बस्ती पनि बाक्लो छ । उहाँहरू त्यही क्षेत्रमा हुनुहुन्थ्यो’ त्यस बखत सपरिवार युद्धमोर्चामा सहभागि गोर्खालीको अनुभूति तिब्र बनेर आँउछ । युद्धको नियम पनि अनौठो हुन्छ । अर्काको निगरानी गरीरहँदा आफू पनि अर्काको निगरानीमा परि राखिएको हुन्छ । जनताको मुक्तिको बाटो अप्ठ्यारो र लामो मात्र हैन बलिदानले भरिपूर्ण छ । नेपाली जनताको शान्तिको कामनालाई पूरा गर्न रक्तपातपूर्ण अभियानमा सहभागी आफ्नो सहयोद्धा केशव क्षेत्री ‘विदुर’ सँगै प्रकाश घिमिरे र अर्का एक जना कमरेड जुगेडीबाट आएको शाही सेनाको विशेष दस्ताको नियन्त्रणम पर्नु भयो । शाही सेनाले उहाँहरू तिनैजनालाई गिरफ्तार गर्‍यो र विभिन्न यातना दियो । पार्टीको योजना खोलेर आत्मसमर्पण गरे जीवन दान दिने प्रलोभन पनि दियो । उहाँहरूले मृत्यु स्वीकार्नु भयो तर आत्मसमर्पण गर्नु भएन । केही पर पुर्‍याएर सेनाले उहाँहरू दुवै जनालाई गोली हानी नेपाली जनताको मुक्ति आन्दोलनलाई दबाउने असफल कोशिस गर्‍यो । उहाँहरूको रगतले दाहाखानी डाँडा रक्तमुछेल भयो , एउटै जिल्ला समितीमा सँगै काम गरेका टंक रेग्मी गोर्खाली बलीदानी संघर्षको रातो पर्दा उघार्न खोज्दै हुनुहुन्थ्यो । २०६१ पौष १४ को घटना चितवन जिल्लाको माओवादी पार्टीले आफ्ना होनहार कार्यकर्ता गुमायो ,नेपाली जनताले आफ्ना नेता र परिवारले आफ्नो सर्बस्व गुमायो ।
    यत्रो ठूलो बलिदानको जंघार तरेर आएको माओवादी आन्दोलन संसदीय व्यवस्थाको खहरेमै बगेको देख्दा देवी भाउजुको मनको ढुकढुकी तराजुको काँटाभन्दा बढी अस्थिर हुन्छ । ‘परिवार गुमायौँ, खुशी गुमायौँ, जसको बलिदानका कारण परिवर्तन आयो, उनको परिवारको जीवनमा कहिल्यै सकारात्मक परिवर्तन आएन’ आँशुको घुट्को पिएर भाउजुले पिडा दबाउनु भयो । आफन्त गुमाएर उजाड बनेको परिवारलाई सरकारले राहत स्वरुप दशलाख रूपैयाँ किस्ता किस्तामा दियो तर चुनौतीका चाङ ज्यूँका त्यूँ छन् । खुशी‚ रहर‚ सपना सबै बन्दुकको यौटै गोलीले गरल्याम्मै ढाल्यो तर स्वाभिमान ढाल्न सकेन । ‘हाम्रो पनि त दिन आउला नि ‚ सँधैँ एकैनाश कहाँ हुन्छ र ?
    आज पनि मनको एउटा कुनामा परिवर्तनप्रतिको आशा साँचेर बाँची रहनु भएको छ प्रकाशको बलिदानको उज्यालोमा देवी भाउजु र छोरीहरु । मोटरसाइकल चढेर दिपेन्द्र लामीछाने भाइसंगै भरतपुर फर्कने बेला मनमा कवि ब्रेख्तले कहीँ लेख्नु भएको सम्झे

    ‘के अँध्यारोमा पनि
    गीत गाइने छ ?
    अँ ‚ अँध्यारोमा पनि
    उज्यालोको गीत गाइने छ ।’

    “प्रकाशको बलिदानको उज्यालोमा”:नारायण शर्मा “विपिन”

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु