skip this
  • चितवन विशेष

    भरतपुरमा रिङरोड बन्ने, दुई अर्ब बजेट, दुई वर्षभित्र सक्ने लक्ष्य

  • ३० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले रिङरोड निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–२२ घौलाघारी र भरतपुरमहानगरपालिका–३ पुलचोक गरी दुई स्थानबाट रिङरोड निर्माण कार्य शुरु हुनेछ ।

    डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमार प्रसाद घिमिरेका अनुसार रिङरोडको कालो पत्रेको चौडाइ ७ मिटरको हुनेछ । रिङरोड निर्माणका लागि पुराना बाटाहरुलाई नै समावेश गरिएको भए पनि त्यसबाहेक ८ किलोमिटर नयाँ स्थानबाट पनि बाटो विस्तार हुनेछ ।

    रिङरोड निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिसक्न कान्छाराम सन्तोषी डाँफे जेभी र रमन शिवशक्ति जेभीसँग सम्झौता पनि भइसकेको घिमिरेले जानकारी दिए । रिङरोडका लागि भरतपुर महानगरपालिकाभित्र ९५ किलोमिटर कालोपत्रे गरिने उनले बताए ।

    सडक निर्माणका लागि दुई वटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।

    सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ ।

    यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ ।

    नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार रिंगरोडको शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिंकरोड चितवन विकासको कडी भएको उल्लेख गर्दै त्यसका लागि दुई अर्ब बजेट अघिल्लो सरकारको पालामा विनियोजन भइसकेको जानकारी दिए ।

    अहिलेको बजेटले चितवनलाई सम्बोधन गर्न नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुँदै जाने आश्वासन उनले दिए । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकताअनुसार पूर्वाधार विकास हुने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु