
३६ वर्षपछि नेपालको गोल


३ भदौ, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको छ ।
नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती भएको हो । पाकिस्तानका युनस सहबाजले क्लियर गर्न खोजेको बलले जाली चुमेर नेपालले उपहार गोल पाएको हो ।
खेल इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा चलिरहेको छ ।



सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यसपछि एसियाली खेलकुदमा नेपालले खेलेका १७ खेलमा ६८ गोल खाएको थियो ।
यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो ।