
काठमाण्डौ मा तामाङ्ग महोत्सब


भाद्र ६ काठमाडौं :
आँगनभरि लुङ्दर फहराइएको छ। कतै टुंना, कतै डम्फू, कतै ढ्यांग्रो सजाइएको छ। सेतो वस्त्र लगाएर हातमा डम्फू बोकी परिसरको ढोकामै उभिरहेको स्ट्याच्यु। तामाङ तागी र बख्खु लगाएका तामाङ युवायुवतीको भीड। तामाङसम्बन्धी पुस्तक र पेन्टिङ झुन्डिरहेको रमाइलो दृश्य। नेपथ्यमा गुञ्जिरहेको टुंनाको धुन। डम्फूको मधुरो ताल। यो रमाइलो वातावरण राजधानीमा जारी दुईदिने तामाङ ज्ञान महोत्सवको हो।
विगत तीन वर्षदेखि वार्षिक रूपमा आयोजना गर्दै आएको ज्ञान महोत्सव यसपटक भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरिएको हो। महोत्सवको उद्घाटन ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले गरिन्। बिहीबार पनि सञ्चालन हुने महोत्सवलाई नेपाल तामाङ घेदुङ, तामाङ डाजाङ, तामाङ पत्रकार संघ, ताम्बा संघ नेपाललगायतले आयोजना गरेका हुन्।



आयोजक समितिका संयोजक डा.गणेश योञ्जनले महोत्सवमा २८ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए। प्रस्तुत पत्रहरू तामाङ भाषा, संस्कृति, साहित्य, इतिहास, राजनीति, विकास र सांस्कृतिक सम्पदासँग सम्बन्धित हुनेछन्। उदघाट्न समारोहमा साहित्यकार बैरागी काइँला, मानवशास्त्री डा.मुक्तसिंह लामा, साहित्यकार आहुति, लेखक युग पाठक, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामालगायतको उपस्थिति थियो।