
क्रिकेटर विराट कोहली पुनः टेस्ट बरियतामा शीर्ष स्थानमा


भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पुनः टेष्ट बरियतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा उक्लिएका हुन्।
कोहलीले अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथलाई फेरि पछि पारेका हुन्।



इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहली शीर्ष स्थानमा फर्किएका हुन्। नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन्।
तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका केन विलियम्सनले ८४७ अंक जोडेका छन् । यस्तै अष्ट्रेलियाका पुर्व उपकप्तान डेभिड वार्नर ९२० अंकसहित चौथो र ८१८ अंकसहित इंग्ल्यान्डका जोए रुट पाँचौ स्थानमा रहेका छन् ।
स्मिथ विराट शीर्ष स्थानमा आउनुअघि ३२ महिनादेखि लगातार टेस्ट ब्याट्सम्यानको बरियतामा शीर्ष स्थानमा रहँदै आएका थिए।
बल–टेम्परिङ मामिलामा १२ महिनाको प्रतिबन्धमा रहे पनि फेरि उनी शीर्ष बरियतामा कायमै थिए।
इंग्ल्याण्डसँगको पहिलो टेस्टमा बनाएको शतक र अर्थशतकपछि कोहली टेस्ट ब्याट्सम्यानको विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएका थिए। तर, दोस्रो टेस्टमा खराब प्रदर्शन गर्दै कुल ४० रन बनाएपछि शीर्ष स्थानमा पुगेको एक सातामै पछि परेका थिए। फेरि तेस्रो टेष्टमा उत्कृष्ट लय समातेका कोहली पुन शीर्षमा फर्किएका हुन्।
टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ भारतका चेतेश्वर पुजारा, श्रीलंकाका दिमुथ करुनारत्ने, श्रीलंकाकै दिनेश चण्डीमाल, दक्षिण अफ्रिकाका डीन एल्गेर र अफ्रिकाकै एडीन मार्क्रम क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।
शीर्ष १० भित्र पर्न सफल टेष्ट खेलाडीहरू
विराट कोहली, भारत
स्टिभ स्मिथ, अस्ट्रेलिया
केन विलियम्सन, न्युजिल्याण्ड
डेविड वार्नर, अस्ट्रेलिया
जो रुट, इंग्ल्याण्ड
चेतेश्वर पुजारा, भारत
दिमुथ कारुनारात्ने, श्रीलंका
दिनेश चण्डिमाल, श्रीलंका
डिन एल्गर, दक्षिण अफ्रिका
एडीन मार्क्रम, दक्षिण अफ्रिका
विराट कोहली दुई साताबीचमा दोस्रो पटक नम्बर १ टेस्ट ब्याट्सम्यान बनेका हुन्। साथै सात वर्षपछि कुनै पनि भारतीय ब्याट्सम्यान नम्बर १ मा पुगेका हुन् ।
यसभन्दा अघि जुन २०११ मा सचिन तेन्दुलकर नम्बर १ टेस्ट ब्याट्सम्यान बनेका थिए।
सचिनका अलावा टेस्ट क्रिकेटमा राहुल द्रविड़, गौतम गम्भीर, सुनिल गावस्कर, वीरेन्द्र सहवाग र दिलीप वेङ्गसरकरले नम्बर १ ब्याट्सम्यान बनेका थिए।
टेष्टसँगै कोहली ओडिआईका पनि नम्बर एक खेलाडी हुन्।