skip this
  • नेपाल सेरोफेरो

    यी हुन् निर्मलाका हत्यारा लुकाएको आरोप लागेका एसपी विष्ट, रहस्यमय घर, शंकास्पद वस्तुस्थिति

  • गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। शनिबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा तानिएपछि गृहले अनुसन्धानका लागि विष्टलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

    स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएपछि गृहले प्रहरी उच्च अधिकारीमाथि नै अनुसन्धान सुरु गर्न लागेको हो ।

    शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शंकाको घेरामा रहेका सबैमाथि अनुसन्धान गर्न निर्देशन दिए लगत्तै विष्टलाई निलम्बन गर्न गृहले निर्देशन दिएको हो । प्रधानमन्त्रीले व्यक्तिको नाम नतोकी शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका थिए ।

    शनिबार दिउँसो गृहमन्त्री ‘बादल’, सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्याको घटनाको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो।

    त्यस्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डीएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक यकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तान्ने निर्णय बैठकले गरेको छ।

    कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या घटनामा एसपी विष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै निलम्बन गर्नुपर्ने अवस्था आएको गृहले जनाएको छ।

    गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार मन्त्री बादलले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बलप्रयोग गर्दा संयमता अपनाउन निर्देशन दिएका थिए।

    ‘घटनाको विस्तृत प्रतिवेदन नआएसम्म एसपी विष्टलाई निलम्बनमै राख्ने निर्णय बैठकले गरेको छ,’ भट्टराईले भने, ‘तत्कालीन सिडिओ, डीएसपी र प्रहरी निरिक्षकलाई केन्द्रमा तानेर छानबिन गरिने भएको छ।’

    रहस्यमय घर, शंकास्पद वस्तुस्थिति

    निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्, त्यही घरदेखि नै यो घटना रहस्य सुरु हुन्छ । र, अनुसन्धानको सुरुवात पनि त्यही घरबाट सुरु गर्नुपर्ने देखिन्छ ।

    बम दिदीबहिनीमात्रै बस्ने त्यो घर दुईतल्ले छ । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । बबिता र रोशनीका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा छोरीहरु रोशनी  र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । निर्मला उक्त घरमा होमवर्क गर्न राति नभएर बिहान ११ बजेतिर गएकी थिइन् ।

    स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

    त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झनै रहस्यमय छन् । घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयको भनाइ छ ।

    प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई सुरुमा पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो । र, उनीहरुलाई बुबाआमा आइसकेपछि बुबाआमाको जिम्मा लगाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु