
जितिया पर्व सुरु


तराई मधेशमा धुमधामका साथ मनाईने जितिया पर्व आजदेखि शुरु भएको छ । तराई मधेशका व्रतालु महिलाहरुले आज नुहाई धुवाई (जसलाई नहाई खाई भनिन्छ) चोखो भएर मात्र भोज गरेका छन् ।
विवाहित हिन्दु नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ ।
तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ ।
नहाय खाने वर्तका दिन वर्तालु महिलाहरुले स्थानीय जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पुजा गर्ने गरिन्छ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा वर्तालु महिलाहरुलाई माछा तथा मरुवाको रोटी खाने चलन छ ।



पर्वको दोस्रो दिन अर्थात अष्टमी तिथिका दिन वर्तधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन वर्तधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने तथा गीत भजन गाउने चलन पनि रहेको छ ।
यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । यो पर्व खासगरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाईने भएकोले प्रत्येक थारु समुदायको घरमा एक वा एक भन्दा बढी पहुना आएकै हुन्छन् ।
पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा च्युरा, दही तथा सखरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गरिन्छ ।