skip this
  • खेल

    ट्रम्पले आफ्नो कार्यकालको एक चौथाई समय गल्फ खेलेरै बिताए, कुनैबेला ओबामालाई टार्गेटमा राखेका थिए

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिलेसम्मको आफ्नो कार्यकालको एक–चौथाई (२५.३२) समय गल्फ खेलेर बिताए । ट्रम्पले सन् २०१७ को जनवरी २० तारिखमा राष्ट्रपतिको पद सम्हालेका थिए । त्यतिबेलादेखि अहिलेसम्म ६ सय १६ दिनमा ट्रम्प एक सय ५६ पटक गल्फको मैदानमा गएको द गल्फ न्यूज नेटले बताएको छ । यो अमेरिकाका पछिल्ला तीन राष्ट्रपति बिल क्लिंटन, जर्ज डब्ल्यू बुश र बराक ओबामाको तुलनामा सबैभन्दा धेरै हो ।

    पहिलो सय दिनमा नै तोडेका थिए पछिल्ला तीन राष्ट्रपतिको रेकर्डः

    सन् २०१६ मा ट्रम्प राष्ट्रपति पदको उम्मेद्वारीका लागि प्रचार गरिरहेका थिए । त्यतिबेलाका तत्कालीन राष्ट्रपति बराक ओबामा बारे ट्रम्पले भर्जिनियाको र्यालीमा भनेका थिए, ‘एउटा राष्ट्रपतिले गल्फ खेलेर आफ्नो समय बर्बाद गर्नुहुँदैन । म तपाईंको लागि काम गर्नेछु, मसँग गल्फ खेल्ने समय हुनेछैन ।’

    यद्यपी, आफ्नो कार्यकालको पहिलो सय दिनमा नै उनले १९ पटक गल्फ कोर्सको भ्रमण गरे । उनको तुलनामा सुरुवाती सय दिनमा ओबामा मात्र एकपटक र क्लिंटन पाँच पटक गल्फ कोर्स गएका थिए । अझ बुश त एकपटक पनि गएनन् । ट्रम्प विशेषगरी विकेन्डमा आफ्नो गल्फ कोर्समा खेलिरहेको देख्न सकिन्छ । यद्यपी, ह्वाइट हाउसको तर्फबाट यसबारे कुनै आँकडा जारी गरिएको छैन ।

    गल्फ खेलेका कारण ट्रम्पको टार्गेटमा थिए ओबामाः

    ट्रम्पले आफ्नो चुनावी र्यालीमा ओबामाको गल्फको शौखलाई हतियार बनाएका थिए । चार वर्ष अघि पनि उनले ओबामाको गल्फ खेल्नेमाथि निशाना साँधेका थिए । सन् २०१४ अक्टोबर १४ तारिखको ट्वीटमा ट्रम्पले भनेका थिए, ‘अमेरिकाले यस्ता समस्याको सामना गरिरहेका बेला राष्ट्रपति ओबामाले आफ्नो समय गल्फ खेलेर बिताइरहेका छन् ।’ सन् २०१५ मा एक अन्तर्वार्ताको क्रममा ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो जिम्मेवारी निभाउनका लागि ह्वाइट हाउस कहिले पनि नछोड्ने बताएका थिए ।

    म्याक्केनलाई श्रद्धाञ्जली दिइएको दिन पनि गल्फ खेलिरहेका थिए ट्रम्पः

    अगस्ट २५ तारिखमा रिपब्लिकन सांसद जोन म्याक्केनको निधनपछि ट्रम्पले उनलाई श्रद्धाञ्जली दिन पुगेका थिएनन् । जुन दिन देशभरीका मानिसहरु वासिङ्टनमा जम्मा भएका थिए त्यो दिन ट्रम्प आफ्नो गल्फ मैदानमा शट्स लगाइरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु