
सडककाे अतिक्रमण हटाउँदै वीरगञ्ज महानगरपालिका


१७ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडक कब्जा गरेर राखिएका सामान हटाउने कार्यलाई तीव्रता दिएको छ ।
अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित पार्न नागरिक स्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ अभियानको पहलमा सडककाे अतिक्रमण हटाउन थालिएको हो ।
सडकमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन ठप्प पारेपछि अभियान सञ्चालन गरिएको अभियानका संयोेजक दिलीपराज कार्कीले बताए ।



सडक अतिक्रमण गरेर जथाभावी सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध हुने भएका कारण अभियानको पहलमा महानगरपालिका, स्थानीय जनप्रतिनीधिहरु, सुरक्षा निकाय समेतको सहकार्यमा सामग्री जफत गरी कारबाही गर्न थालिएको छ । सोही क्रममा सेकेन्ड बाइपास, रानीघाट तथा वाइपासमा सडकमा अतिक्रमण राखिएका सामान जफत गरिएको छ ।
बुधबार वीरगञ्जको बाईपास सडकखण्डअन्र्तगत बसपार्कदेखि ब्रह्मचोकसम्मको सडकमा भएको अतिक्रमण हटाइएको छ । संयुक्त टोलीले वीरगञ्जको बाईपास सडकमा बसपार्कदेखि उत्तरतर्फ अतिक्रमण हटाएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
पटकपटक सूचना गरेर त्यस्ता सामान हटाउन अनुरोध गर्दा पनि व्यवसायीहरुले अटेर गर्दै आएका छन् ।
यसरी सडकबाट उठाइएका गाडी बसपार्कमा, अन्य सामग्रीहरु नेशनल ट्रेडिङमा राख्ने गरिएको र निर्माण सामग्रीहरु लागेर सडकका खाल्डा–खुल्डी पुर्ने काममा महानगरपालिकाले प्रयोग गरिरहेको छ ।
सामान धनीले आफैं सामान नहटाएपछि जफत गरी जरीवाना असुल गर्न थालिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुषालले जानकारी दिए ।
‘धेरैले त समान लिनै आएका छैनन्’, उनले भने ‘तर आउनेहरुसँग जरीवाना लिएर समान पठाइदिएका छौं ।’
महानगरपालिकाले जफत गरेको सामाग्रीहरुबाट ४० हजारभन्दा बढी जरीवाना असुल गरिसकेको छ । त्यसैगरी छाडा पशु चौपाया नियन्त्रण अभियानबाट पनि ४० हजार जरीवाना उठिसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालले जानकारी गराए ।