skip this
  • uncategorized

    अकथित कथा

  • मलाई राम्रोसग याद छ त्यो दिन । मंसिरको महिना सदा झै बसबाट उत्रिए । `सिउसिउ´ गर्दै हतारिदै पाईला लम्काउदै थिए, ठेस लाग्यो । आउच ! ठुल्लै स्वरमा मुखबाट निस्की हाल्यो । मर्निङ वाकमा निस्केका अङ्कल हातको पत्रीकाबाट म तिर ध्यान खिच्दै भने
    `सार्‍है ठोक्यो कि क्या हो ?´
    म मुस्कुराए मात्र । `उहाँ एउटि फायर भएर बसेकी होला ´ भन्ने सोच्दै अघि बढे । कलेजको बाताबरण हेर्दा लाग्थ्यो क्लास सुरु भै सक्यो । सिढी चढ्दा झन्डै लडिन । लाग्यो आज दिन खराब छ ।

    `मे आई कम! इन सर ?´
    हजुर को त यहीं होनि बेला भन्ने भावबङ्गीमा भने
    `या स्योर स्योर´ ।
    `यसलाई के थाहा म कहाबाट आउछु?´
    सोच्दै आफ्नो बेञ्चमा आँखा पुर्याए खाली पो छ । ए बाबा कलेज आउदिन भन्दा भन्दै जसरी भए नि आईज भन्ने अनि आफू नआउने रिस उठ्यो । गएर थपक्क बसे । सर आफू ब्यस्त हुन थालिसकेका थिए । गोजिबाट मोबाइल झिकेर ब्यागमा हाले । ब्यागको मुख अलिक आ बनाए । साइलेन्ट मुडमा राखेर मेसेज बक्समा गएर टाईप गरे
    `ओई जामा के हो पारा? कलेज आउन पर्दैन ?´। सेन्ड गरे ।

    किताब लैजाने चलन थिएन । आफ्नो कापी निकालेर पछिल्लो बेञ्चको कापी तानेर सार्न थाले । सर वाईट बोर्ड तिर के बुझाउदैथे त्यही बेला यसो ब्यागमा हात घुसाए, हेरेको मेसेज आएछ । लेखेको थ्यो `तलाई था छ त मलाई पिरियडमा कति गार्‍हो हुन्छ । ल ल इन्जोय गर।´
    सरले क्लासमा एउटा प्रश्न सोधेका रहेछ्न । मलाई ताक्दै भने `हे यु,स्टान्ड अप´
    `पार्डन सर ?´ भनेको क्लास हास्यो । यो मेरो पार्डनले गर्नु गर्या छ । के म अब ` मे आई बेग योर पार्डन सर ´ भनौं? खैर प्रश्न बुझे । उत्तर दिए । क्लास सकियो ।

    अर्को सेक्सनबाट कम्प्युटर साईन्स पढ्ने केही विद्यार्थी आए । तिनीहरुको पछिपछि सर पनि आउनु भयो । म बसेको बेञ्चमा एउटि केटि आएर बसि । मन मनै `यसलाई देखेको हो ?´ देखे पनि अर्कालाई नियाल्ने मेरो बानी छैन । `बस्छु पनि भनिन´ फेरि सोचे, गाली गरे आफैलाई `धत ! उस्लाई छु मतलव यो मेरो बेञ्च हो र ?´
    उसलाई हेरे, बोईज कट पनि होईन लेडिज कट पनि होईन सायद कुनै कोरियन कट हो उस्को हेयर स्टाईल । मैले चिन्न सकिन । मेरो फेसन प्रति अरुचिको परिणाम हो यो । खैर मलाई राम्रै लाग्यो ।

    सि प्रोगामिङ पढाउदै हुनुहुन्थ्यो सर । उसलाई हेर्छु भनेर हेरेको पनि होईन देखि हाले उसको नाडिमा खत । ठ्याक्कै हात काट्ने फेसनको झझल्को दिने खालको । दिक्दार लाग्छ यिनिहरुका नाटक देखेर । यस्तै के के सोच्दै उस्कै हात तिरै हेरिरहेछु । उस्ले `के भो ?´ भन्ने हाउभाउमा म तिर हेर्दा पो झसङ्ग भए । एकछिनमा घण्टी बज्यो । अर्को पिरियड सुरुभयो तर उ गइन किन गइन मैले बुझ्न सकिन । सोध्न त खोजेको तर उ डेक्स माथी टाउको घोप्टाएर नहल्ली बसेकी थिइ मानौ कसैले उसलाई `इस्ट्याच्यु´ भनेको थियो । सरले सोध्नुभयो ` के भो त्यसलाई? ´ `सर सन्चो छैन´ यसै मुखबाट निस्क्यो । बिस्तारै उस्ले `थ्याङ्क्यु´ भनेजस्तो लाग्यो । मतलब गरिन । थर्ड पिरियड पनि सकियो ।

    दिक्क लागिरहेको थियो हरेक कुराले । सम्भवत सृष्टि सग चिनजान भएपछी उ बिनाको कलेजमा पहिलो दिन थियो । यदि कहि कतै केही काम छ भने हामी दुबै क्लास बङ्क गर्थेउ या त दुबै कलेज नै आउदैन्थ्यौं । भोक लाग्यो । पिसाबले पनि चाप्या छ ।` के गर्ने त ? एक्लै जाने ? ´ दोधारमा परे ।
    हुन त अरु सग पनि मेरो रिलेसन राम्रै नै थ्यो तिनिहरुलाई लिएर जाउकी जस्तो लाग्यो। छेउमा एउटि मुढो ढल्या जस्तो टस न मस घोप्टिरहेकि छ।
    `एक्सक्युज मि!´ मैले भने ।
    `बाहिर जाने ?´ भनेर उ मलाई ठाउँ छोड्दिन बेञ्चबाट उठ्न खोजी । उस्का राता आँखा देखेर अ भनेको तुरुन्तै सच्याएर अहँ भने ।
    `के भयो तिम्लाई ?´ मैले सोधे ।
    `केही भा छैन´ अवरुद्ध गलालाई अलिक रुखो बनाउदै जवाफ आयो ।
    `हिड जाउ फ्रेस हुन´ भनेको `होईन म ठिक छु´ भनेर नखरा पारी ।
    `भोक ला छैन ?´ यत्ति सुनेसी उ जुरुक्क उठि र हिडि म उस्को पछि लागे । भर्‍याङ झर्ने बेला वासरुम जाउ न भने उ हुन्छ्को सहमतिमा वासरुम तिर मोडिइ ।

    यतिखेर सम्म हरेक शब्दमा हामि औपचारिकता मात्र निभाउदै थियौ । तल झर्ने क्रममा उस्ले ट्वाइलेटमा धेरै टाइम लाएको कुरोलाई व्यंग्य गर्दै भने `वासरुम जाउ नभनेको भए आज कसैकसैको ब्लाडर फुट्थ्यो होला´ सुरुमा त उस्ले बुझिन । एकछिन पछि उ खित्का छोडेर हासी ।
    क्यान्टिन छिर्न लाग्दा मैले उस्को नाम सोधे ।`आकांक्षा´ । मैले मनमनै दोहोर्‍याए `आंकाक्षा´ । नाम भनेर सिध्याउदा नसिध्याउदै भनी `ठाउँ नै छैन कहाँ बस्ने? जाउ बाहिर´।
    अब गेटमा बस्ने अङ्कल सग आनाकानी गर्नैपर्छ । बिचराले कहिलेकाही प्रीन्सिपलको गाली खाएको देखेको छु । कुरो मिलाउन सिपालु छु म। अघिपछि सृष्टि सग बाहिर निस्किन मन हुँदा म नै हो कन्भिन्स गर्ने । धेरै जसो चै दाईलाई रुमको चावी दिनु छ भनेर निस्किन्थेउ । यसो गर्दा अङ्कललाई पनि बिश्वास लागि सकेको थियो। जाने बेलामा पो पर्मिसन माग्नु पर्ने, धेरै स्टुडेन्ट आउने बेलामा को कति खेर आयो अङ्कललाई मतलब नहुने भएकोले यो बहानाको प्रभाव मज्जाले जमेको थियो ।
    `गुड मर्निङ अङ्कल´ मैले भने ।
    मुस्कुराउदै भन्नुभयो `गुड मर्निङ नानी´
    `चावी दिन जाने गेट खोल्दिनुन ´ मैले भने ।
    अंकलले थपक्क खोलिदिनु भयो ।
    बाहिरी निस्किदै गर्दा सृष्टिले भनेको सम्झेर मनमनै हास उठ्यो `चावी हेरौ भनेको दिन चै के देखाउछेस नि ?´
    म बिल्कुलै अनौठो अनुभव गर्दै थिए । नौलो मान्छे सग बोल्नु मेरो लागि ठुलो कुरा थिएन । तर खोइ किन किन आज हरेक चिज अनौठो लागेको छ ।
    बाटोको छेउमा पोलेको मकैको बास्नाले कुतकुत्यायो । तर खाई हाल्न मन लागेन । `उस्ले खान्थिकी? ह्या मलाई के´।

    हामी त नबोली निकै अघि पुगिसकेका रहेछौं ।
    मौनतालाई चिर्दै उ बोलि `आफ्नो नाम भनिनौ त ´
    `समृद्धि´
    `वाह´ उसले भनी ।
    `थ्याङ्क गड कम्तिमा तिम्लाई मेरो नाम त मन पर्यो´ मैले भने तर किन भने भन्ने भयो ।
    `दात झन मन पर्यो´ उस्ले यसो भन्दा उस्को गालामा डिम्पल देखेकी थिए । मलाई मनपर्यो उसको खुलेको अनुहार ।
    मैले हास्दै भने `हे हे बाङ्गा बाङ्गा कुरा नै मन पर्ने रैछ ´
    `सिधा त यहाँ केही चिज पनि छैन´ उस्ले भनी ।
    `केही? कोहि भन्न सक्छेउ ´।
    `मेरो अनुभव´ उसले भनी ।
    एकदम मलिन देखिई । म बहस गर्न सक्थे तर चाहिन ।
    `त्यस्तो अनुभवी´ भन्दै कुरो टुङ्गाउने भावमा सोधे
    `का जाने हामि ?´
    `ग्रीन कप´
    `कलेज ड्रेस मा कसैले देखे भने ?´ मैले अप्ठ्यारो मान्दै भने ।
    `बिर्तामोड भरी तिम्रा आफन्त छ्न ?´
    हास्दै मैले भने `एक जनाले सबैको काम गर्न सक्छ्न´
    यति भन्दाभन्दै ग्रीन कप आइपुग्यौ । क्याबिन नं ३ मा गएर बस्यौ । वेटर आउन भ्याएको थिएन । मैले सोधे `के खाने ?´
    ठाडै भनी `तिमि खाउ म खान्न ´
    `भोक छैन कि मन छैन?´
    `दुबै छैन ´ उस्ले भनी ।
    मैले मजाकको शैलीमा भने `दुबै त का हुनु यहा यो नेपाल हो´ मात्रै के भन्दै थिए वेटर आइपुग्यो । उस्ले सोध्नु भन्दा पहिला मैले दुई कप चिया मगाए । उ गयो ।
    उसको हाउभाउ बाट प्रष्ट थियो उसलाई राम्रो लागि रहेको थिएन ।
    `सन्चो छैन हो तिमिलाई ?´ मैले सोधे ।
    अलिक मुहारमा उज्यालो ल्याउने चेष्टा गर्दै उ बोली `केही त भएको छैन´ अनि तुरुन्तै भनी पनि हाली `एउटा चुरोट खुवाउछेउ ?´ म झस्के तर अनुहारमा बिल्कुलै परिवर्तन आउन दिन । मैले सोधे `तिमी चुरोट पिउछेउ?´
    उस्ले अलिक मजाकको शैलीमा भनी `होईन खेलाउछु´।
    `हे हे खेलाउने भए एउटा किन, बट्टै मगाउला न´ यसो भनेर म जुरुक्क उठेर बाहिर निस्के र काउन्टर बाट दुइटा चुरोट मागे ।

    क्याबिन भित्र पस्दै मैले भने `तिम्लाई हेर्दा त त्यस्तो देखिन्न´ उस्का चिम्सा आखा झन सानो बनाएर भनी `मान्छे भित्रको बोझ अनुहारमा देखिने भए जीवन जिउन अलिक सजिलो हुन्थ्यो´। म ट्वाल्ल परेछु ।
    उस्को मङ्गोलिएन कट परेको अनुहार, चिम्सा आखा , गोरो छाला , ओठ माथिको कालो कोठी, थेप्चो पनि भन्न नमिलो चुच्यो पनि भन्न नमिल्ने चिटिक्क परेको नाक । यति नै त थियो उस्को मैले देख्न सक्ने ।
    हात काटिके छे । चुरोट पिउछे । अरु के के गर्दि हो । पुस्तकको गाता हेरेर जर्ज नगर्नु भन्छ्न तर मेरो पुर्वाग्रहि सोच । उसले त कतिखेर टेवलमा राखेको चुरोट तानेर सल्काउन भ्याई सकिछे । म मनमनै कति सम्म सोच्न भ्याईसकेछु । उस्को मोबाइलको रिङ बज्दा पो झस्के ।
    मोबाइल उठाउदै उ अलिक रुखो भएर बोली ` फोन नगर मलाई ´। आईफोन को लेटेस्ट भर्सन थ्यो त्यो ।
    वेटर आयो चिया लिएर । मस्केर गयो । मैले अनुमान गरे `आकांक्षाको हातको चुरोट देखेर मस्केको हुनुपर्छ नत्र बिना सित्तिमा त्यसलाई मस्किने कारण के ?´

    चिया सुरुप्प पारे । आज पनि जिब्रो पिल्साए । जिन्दगी भरि नजान्ने भए चिया पिउन । यति खेर सम्म उस्ले मोबाइल राखिसकेकी थिई । दोस्रोपटक सुरुप्प पारे उस्ले चै चुरोट एक पफ तानेर फाली । चुरोट तान्न एकदम सिपालु रहिछे ।
    कहिले देखि होला तान्ने गरिके ? सोधौ ? भै हाल्यो, मलाई के खसखस ।
    उस्ले चिया तिर वास्ता नगरेकाले भने `चिया र चुरोट खान त मज्जा हुन्छ रे, चिया त सेलायो ´ उ चुरोटको सर्को सग यति ब्यस्त थिई कि मेरो कुरा वास्ता गरिन ।

    स्वाट तानेर फोक्सो सम्म पुर्याउथी अनि त्यसरिनै बाहिर फाल्थी । चुरोटको अम्मलि हुनुपर्छ। म हेरेको हेरै भए । बास्तबमा मलाई केटिले चुरोट तानेको हेर्न सार्‍है मनपर्ने । एकचोटी त म हिड्दा हिड्दै रोकिएर एउटिले थाहा नपाउने गरि रोकिएरै हेरेकी थिए । यो त झन मेरै अघि निर्धक्क तान्दै छे भने किन नहेरौ ?

    मैले नै फेरि कोट्याए `अनि तिम्रो घर का पो रे´
    उस्ले भनी `यसरी सोधेउ कि मैले भनिसकेको अनि तिम्ले बिर्सेको´
    म हासे उ पनि हासी अनि भनी `शनिश्चरे रोड´ । `ए ए ´ मेरो जवाफ । उस्ले मेरो बारे सोधिन मैले भन्न पनि जरुरी ठानिन ।

    मलाई चुरोटको गन्ध मन पर्दैन तर यसलाई इन्कार गर्न पनि त सक्दिन । मलाई वास्तवमा निकै गार्‍हो भई सकेको थियो । `म भित्र हुडुलिएको गन्ध यस्ले के बुझोस´…

    मैले चिया सके
    उस्ले त चियालाई हात पनि लगाईन ।
    चुरोट एक पफ म तिर फाली अनि हातले पन्छाउदै भनी `कस्ति बिग्रेकि होलि भन्ने लाग्यो होला है ?´
    `लौ किन र?´ मेरो जवाफ ।
    `चुरोट खाने बिग्रेका हुन्छ्न रे नि त ´
    `रे नि त´ ले प्रष्ट हुन्थ्यो उसलाई कसैले भनेको हुनुपर्छ ।
    मैले यसै भनिदिए `खोइ मलाई त त्यस्तो लाग्दैन´
    `मैले ड्रग्स लिएको कुराले पनि लाग्दैन ?´
    म झस्के । नराम्ररी झस्के । म झस्केको उस्ले थाहा पाई । के भनौ भनौ हुदै थिए उहीँ बोली ` म चार महिना रिहाव सेन्टर बसेर फर्केकि केटी हो । ड्रग्स छाडे चुरोट छाडन गार्‍हो भाछ । कोहीकोहि बेला टाउको दुखेर फुट्ला जस्तो हुन्छ । बढीमा दिनको तीन चार वटा खानेगर्छु ।´ म के भनौं उसलाई ? यत्ती भने ` ठिक्कै छ त एकैचोटि केहिपनी छोड्नु हुन्न । हाम्रो शरीर जुन चिजमा बानी परेको हुन्छ त्यो एकैचोटि छोडदा हामिलाई नै हानी हुन्छ । तिमि बिस्तारै छोड्न सक्छेउ ।´ मेरो उत्तर सुनेर उ सहज देखिइ ।
    अघिको वेटर फेरि आयो । `हजुरहरुलाई के ल्याउ´ मस्किदै सोध्यो । मलाई चियाको घित नमरेकाले दुईटा चिया नै मगाए । उस्ले `मलाई पर्दैन ´ भनी । ` ल एउटा मात्र लेउ ´ मैले भने । उ गयो ।
    मलाई उस्को बारे अझै जान्ने रहर जागिरहेको थियो । के फरक पर्छ र ? सोधौ ? ह्या जे पर्छ पर्छ सोधे `कसरी ड्रग्स सम्म पुगेउ त ?´ उस्ले लामो सास फेर्दै भनी `कहानी लामो छ मान्छेहरू मलाई बुझ्दैनन´
    `म बुझ्न सक्छु कि ?´ म जिद्दी पल्टिए ।

    उस्ले घाटिको स्काफ निकालेर छेउको कुर्सीमा राखी अनि भि गला भएको कालो रङको स्वेटर फुकालेर त्यसै माथी राखि । उसलाई गर्मी लागेको हुनुपर्छ ।
    मंसिरको महिना बिहान चिसो भएपनी दिउँसो टन्टलापुर घाम लाग्थ्यो । ९ को हाराहारी बजेको हुदो हो । जे होस् चिसो खासै थिएन ।

    अघि त मैले उस्को हातको खत मात्रै देखेको रहेछु । अहिले सर्टको बाहुला माथी सार्दा पो देखे नाडिमा ट्याटु पनि रहेछ । पंख फिजाइ उडेको चरा अनि त्यसको छेउमा लेखेको थियो `Peace´ यसको मतलब `शान्ति´। सानो तर अति नै ओजस्वी र आकर्षक थियो त्यो । `खत त छैन त ? ए ए दाहिने हातमा पो रैछ !´

    चिया आईपुग्यो । सुरुप्प पारे । `अ बल्ल भने जस्तो चिया आयो ।´
    उसले टेबलमा रहेको अर्को चुरोट तानेर सल्काई अनि भनी `म लगातार खान्न अचेल तर तिमी साथ छेउ खाउखाउ लाग्यो ´ ।
    `मैले किन खाको भनेर ?´ मैले यसो भन्दा देब्रे गालामा खोपिल्टो पार्दै मुसुक्क हासि ।

    `तिमिलाई मेरो बारे जान्न मन लाग्या हो ?´
    `म त मजाक गर्ने मुड्मा छैन´ मैले भने ।
    उ सतर्क देखिइ । आखिभौं खुम्चाई, चिम्सा आँखा अझै चिम्सा पार्दै बोल्न सुरु गरि `म काठमाडौंको धनी परिवारमा जन्मिए । बच्चै देखि खान लाउनमा सौखिन थिए । मेरो आवश्यकता के हो चिन्नै पाईन मतलब सबै थोक अघिपछि थिए । मेरो सानै देखि सौन्दर्य प्रती झुकाव थियो । बोर्डिङमा साथिहरुको भन्दा मेरा खेलाउना, कपड़ा बिशेष हुन्थे । सर म्यामहरुको मनपर्दो विद्यार्थी पनि थिए । पढाई पनि राम्रो थियो । परिवारमा हामी चार जना मात्रव। हजुरबुबा रिटार्यड इन्डियन लाउरे, ड्याडिको आफ्नै बिजनेस, ममि प्रोजेक्टमा जागीर खानुहुन्थ्यो । पहिलो रहरको सन्तान भएपनि ड्याडिको बिजनेस, मम्मिको प्रोजेक्टको जागिरले गर्दा म हजुरबुबा सगै हुर्केकी थिए । जब म पाँच कक्षामा थिए हजुरबुबा प्रेसरले बित्नुभयो । अनि म एक्लिए । ममि र म बिहान घरबाट सगै निस्किन्थ्यौ । ममि आउन कहिलेकाही ढिलो हुदा बेलुका प्राय म एक्लै हुन्थे । ड्याडी बिजनेसको क्रममा हप्तौं हराउने हुन्थ्यो । यहीँ बिचमा ममि पिउन थाल्नु भएको थियो । ममिको यो बानी थाहापाएर ड्याडिले सरिता आन्टीलाई मेरो स्याहार सुसारको लागि राख्नु भएको थियो । उहाँहरु बिचको कहिलेकाहीको खटपट अब दैनिकी बनिसकेको थियो । ड्याडी त हराउने हराउने ममि पनि दुई तीन दिन हराउने हुनुभयो । यो काण्डले झन घरमा उग्र रुप लियो । म कक्षा ८ मा थिए । डि एल इ आउन लागेकाले मर्निङमा कोचिङ क्लास थियो । बिहानै जान्थे सरिता आन्टिले खाना उतै लगिदिनुहुन्थ्यो । अनि एकैचोटि बेलुकाको ट्युसन पढेर फर्किन्थे । घर फर्कदा अलिक अबेलै हुन्थ्यो । एकदिन मेरो ट्युसन पढाई भएन घर आए ममि ड्याडी घरै हुनुदो रहेछ। खुसी लाग्यो । कपडा चेन्ज गर्न रुम मात्र के छिरेको थिए ड्याङ्ड्याङ डुङ्डुङ आवाज आयो । कुरो बुझ्न बेर लागेन । मम्मी प्रेग्नेन्ट हुनुहुदो रहेछ । ड्याडिले ममि माथि संका पो गर्नुभएको रहेछ । त्यो कुराले घरमा सधैको झगडा हुन थाल्यो । ममिले पछि एबोर्सन गर्नुभयो। ममिले त्यसो गर्नु हुन्थेन । यहि कुराले झन झगडा मच्चियो । मेरो नभएर त फालिस नि भन्ने ड्याडिको तर्क थियो । त्यस ताका मलाई निद्रा पर्न छाडिसकेको थियो । मानसिक अवस्था नै बिग्रीन थालिसकेको थियो । त्यसपछि ममि ड्याडी कसैले पनि म प्रती ध्यान दिनु भएन । कती रात आखै चिम्म नगरी उज्यालो हुन्थ्यो । म एक प्रकारले डिप्रेसनमा गई सकेको रहेछु । कक्षा ९मा मेरो पढाई बिग्रेकाले कक्षा १० मा होस्टेल राख्दिने निर्णय मेरो मामाघर बाट भयो । होस्टेलमा झन निस्सासिएको फिल हुन्थ्यो । घरमा ममि ड्याडिको मात्र याद आउने । जोल्पिडेम खाएर मात्र निद्रा लाग्ने भयो । साथिहरु प्रती मैले बेवास्ता गरेकाले उनिहरु आजित भएर म तिर ध्यान दिन छोडिसकेका थिए । एस एल सि सकिएपछि घर आए । सरिता आन्टी अर्कै घरमा काम गर्न गई सक्नुभएछ । हुन त घरमा ममि ड्याडी दुबैको टुङ्गो नभए पछि उहाको काम नै भएन । घर गएपछि म झन एक्लिए बल्ल बल्ल होस्टेलमा बानी परेको थिए । साथिहरुले हत्ते गरेपनि बिर्जकोर्ष लिन मन लागेको थिएन । लिएर के नै गर्नु छ र भन्ने लाग्यो । घरमा सबै ठिक भयो होला भन्ने मेरो अनुमान थियो तर बिपरित त्यहाँ त बोलचाल नभएको पनि निकै समय भएछ । को कहिले कतिखेर घर आउँछ केही मतलब छैन। ११ जोईन गरे । कलेज कहिलेकाही जान्थे । त्यती खेर सम्म म चुरोट खाने भइसकेको थिए । जिन्दगी प्रती नै एक प्रकारको वितृष्णा आइसकेको थियो । कलेजमा एक दिन केटाहरु खासखुस गरेको सुने ड्रग्स बारे । आन्नद हुन्छ कुनि के के भन्दै थिए । मलाई चाहिएको त्यही आनन्द त थियो नी । अनि म बिग्रीए, नराम्ररी बिग्रीए । बिस्तारै डोज बढाउदै लगे । झ्यापझ्याप हुन्थ्यो निद्रा मजैले लाग्न थाल्यो । निदाउनकै लागि भए पनि मलाई ड्रग्स चाहिने भयो । सायद ११ को एक्जाम सकिएको भोलि पर्सि पल्ट हुदो हो, ड्याडिको बाहिरी अफेयर्सको कारणले झगडा पर्यो मैले सहन सकिन के गरौं गरौ भयो । बाथरुम छिरे यताउता हेरेको ब्लेड देखे । आफैलाई सिध्याउने उद्देश्यले छ सात पटक नाडी चिरे । मलाई अलिकति पनि दुखेको थिएन । संसारमा मन नै रहेछ धेरै दुख्ने । मनको अगाडि अरु जुनसुकै पीडा पनि फिक्का पर्दो रहेछ त्यस दिन थाहाभयो ।´
    यति भनेर लामो सास फेरेर म तिर हेरेर छक्क पर्दै सोधी `लौ किन रोको ?´ उस्को इशारा थियो आखामा टिलपिल गरेको आशुमा । मैले आँसु झर्न नदिने चेष्टा गर्दै भने `को रोयो र ?´ `तिमिलाई बोर त लागेको छैन नि ?´
    `किन लाग्नु, भन न बरु त्यसपछि के भयो ।´

    म उस्को कुरामा यति विधि ध्यान दिएछु कि मेरो चिया सेलाउन भ्याईसकेको थियो ।

    उ फेरि बेलि बिस्तार लगाउन थाली `धेरै ब्लड ब्लिडिङ भएर कति खेर म बेहोस भएछु थाहा पाईन । बाथरुमको ढोका लगाएको थिए भने म जिउदो रहन्न थिए ।´
    फेरि रोकिई,अनि दुई घुड्की पानी पिउदै भन्न थाली `दुई दिन पछि बल्ल मलाई होस् आएछ। म सन्चो भइ सकेको थिए तर मलाई घर लगिएको थिएन । किन मैले बुझिन पनि । मलाई एकदम गार्‍हो भइरहेको थियो । १५ दिन पछि मलाई रिहाव सेन्टर पो लगियो म झन आत्तिए । चार महिना पछि ममि ड्याडी सगै लिन आउनुभयो । खुशी लाग्यो अब त सब ठिक भएछ भनेर तर खुशी धेरै समय टिक्न पाएन । उनिहरुले त मिलेको ढोंग पो गर्या रैछ्न । डाक्टरले मानसिक तनाब नदिनु भन्या रैछ । अझ उनिहरुलाई त मेरो कुनै केटासँग अफेयर चल्या थ्यो भन्ने भ्रम रैछ । यो कुरा मैले धेरै पछि थाहा पाए । प्रष्ट्याईमा मैले केही भन्न चाहिन । त्यसको दुई महिना पछि हामी झापा आयौ । त्यसको केही समय पछि १२ मा यहाँ भर्ना गर्दिनुभयो । सुरु सुरुमा त मलाई कलेज आउनै मन लाग्थेन पछि आफैलाई लाग्न थाल्यो जे भयो भयो अब म राम्रो बाटो लाग्छु । त्यसैले कलेज आउछु अचेल ।´ यति भनेर उ रोकिइ ।

    मलाई लागेको एउटा खसखस थ्यो, सोधे `अहिले त राम्रो होला नि है ममि ड्याडिको ?´
    `एकचोटि भत्केको घर पहिले जस्तै कहाँ हुन्छ् र ?… उहाँ दोहोरो बोल्ने भनेको बाज्दा मात्रै हो । यसपालि डिभोर्स हुने कुरा छ´ यत्ति भन्दै उ जुरुक्क उठि र कम्मरमा स्वेटर बाधी र गलामा स्काफ । मलाई हिड्न मन थिएन म उस्को कुरोले फतकै गलेको थिए ।

    `यति साधारण केटि सग यत्रो ठूलो बिगत यत्रो सब भोग्न बडेमानको छातिको जरुरत पर्छ´ मन मनै सोच्दै उठे । उसलाई बढिमा के भनौं यत्ती भने `तिमी साच्चै नै स्ट्रङ गर्ल हौं अरुले के भन्छ त्यो नसोच । तिमी निकै अघिबढ्न सक्छेउ ।´
    पैसा तिरे अनि उसलाई पछ्याउन थाले। लाग्यो `कुनै फिल्मको कहानी जस्तो यसको जीवन कथा अनि जिउ चै त्यही फिल्मको हिरोईनको जस्तो´।

    बाटामा मान्छेको भिड बढिसकेको थियो । बाटोको छेउको ठेलामा चटपटे बेच्ने आन्टी आफ्नो सानो छोरोलाई कम्मर मुनिका भाषा प्रयोग गर्दै गाली गर्दैथिन। त्यो सुनेर छेउछाउका मान्छे अप्ठ्यारो मान्दै थिए । मलाई पनि सार्‍है अप्ठ्यारो लाग्यो सायद उसलाई पनि लाग्यो होला ।

    केही नबोली हामी निक्कै अघिनै पुगिसकेकाले मैले नै कोट्याए `यति राम्रि मान्छेको ब्याईफ्रेन्ड पनि त होलानी´ उस्ले `छैन´ मात्र भनी ।
    `अघि फोन गर्ने को हो त ?´ मैले भने ।
    `ए त्यो बौलाहा दिक्क लगाउन मात्र जानेको छ´ उस्ले भनी । `किन ?´ मैले भने ।
    दिक्क मान्दै उस्ले भनी `एकचोटि मैले हुन्न भनेपछि त मान्नु नि फोन गरेर दिक्क लगाउछ´
    `का को केटो हो र ? ´ मैले सोधे ।
    उ कुरो टुङग्याउने दाउमा हुदि हो त्यसैले `काठमाडौ ´ मात्र भनी ।
    म झन पुरै बुझन चाहान्थे सोधे `कलेज पढ्दाको ?´
    `स्कुल सगै पढ्या हो । टेन क्लासमा हुदा प्रपोज गर्या थ्यो वास्ता गरिन पछि म रिहाव सेन्टर हुँदा घरै आउथ्योरे मेरो बारे बुझ्न । त्यहि सग अफेयर छ भन्ने बुझयारैछ्न घरमा । पछि म यहाँ आएपछि नम्बर चेन्ज गरे तर कहाँबाट थाहा पायो कल गरिरहन्छ ।´

    उसको कुरो सुनेर अचम्म परे । रिहाव सेन्टर छे भन्ने जान्दाजान्दै पनि माया गर्छ के यो साचो माया होईन र ?
    सानो सानो कुरालाई निहुँ बनाएर झगडा गर्ने र छुटिने परिपाटी बिद्यमान छ । मानौ गल्ती औल्याउँनु मात्रै उनीहरुको कर्तव्य हो । कतिपय त देखेका र सुनेका कुरा पनि सत्य हुदैनन् तर स्वयं आफू प्रेमी/प्रेमिका भनेर दावी गर्नेले कतिले पो साचो कुरो बुझ्ने कोसिस गर्लान र ? अनि कतिले पो बिगतलाई माफ गरेर नयाँ सुरवात गर्लान र ? बाहिरी कुरा सुनेर चटक्क छोड्न सक्नुलाई कसरी प्रेमको नाम दिने । मैले यहि कुरा उसलाई बुझाउन खोजे ।
    `यस्तो माया गर्ने मान्छे कहाँ पाउनु । दुनियाँले बिग्रेकी केटिको उपमा दिएको बेला पनि उ तिमिलाई खोज्दै आउँछ भने साचो माया होईन र ? हेर जिन्दगीमा सुख दुख सेयर गर्ने कोहि भयो भने जिन्दगी जिउन सजिलो हुन्छ ।´
    उसले व्यग्र भएर भनी`रिलेसनसिपमा बिश्वास लाग्दैन´
    निश्चय पनि हो उ त्यस्तै वातावरणमा हुर्की । `सबैको एउटै हुन्छ भन्ने छैन । उसलाई बिश्वास गरेर हेर तिमिलाई पछुतो हुनेछैन ।´ यत्ति भने ।

    यति खेर सम्म हामी गेटमा आइपुगीसकेका थियौ । घडी हेरे पाँचौ पिरियड सकिन्न १० मिनेट बाकी थियो । एकठाउ भर्र्याङमै उभिएर त्यही केटाको बिषयमा कुरा गर्यौ । उ त्यस केटालाई ओके भन्ने मनस्थितिमा पुगिसकेकि थिइ । बेल बज्यो सर क्लास बाहिर आउनुभयो । हामी भित्र गयौं ब्याग लिएर बाहिर निस्किदा उसका साथिहरुले उसलाई छोपीहाले । केरकार गर्न थाले `का गाथिस यत्रो बेर´ भनेर । हामिले राम्रोसग बाई पनि भन्न पाएनौं । उ गइ म पनि सृष्टिका तिर पाईला भारी गर्दै लम्किए ।

    धत! म कस्तो हुस्सु ,नम्बर माग्न बिर्सेकोमा थक्क थक्क भए । भोलि भेटेर माग्नुपर्ला भन्दै आफ्नो पुर्वाग्रहि धारणालाई गाली गर्दै बाटा भरी उसकै बारेमा सोचिरहे …त्यो दिन त्यसरिनै बित्यो ।
    त्यो भोलि उ कलेज आईन । किन आईन अनुमान लाउन सकिन । कति भोलि आए । भोलिका पर्सि आए तर पनि उ आईन । …

    दुई महिना पछि हासेको अनुहार देखाउदै मेरो फेसबुकको टाईमलाइनमा आइ । उ हासेको देखेर म रुनमात्र सकिन जसमा ठुला ठुला अक्षरमा लेखिएको थियो `RIP´….

    उ प्रती आएका नराम्रा प्रतिक्रिया देखेर मन थाम्न सकिन अनि मैले पनि आफ्नो फेसबुके भित्तामा यस्तो लेखे …

    “साधारण मान्छे पनि जिवनका असाधारण परिस्थितिले असाधारण बन्न पुग्छ। सानो खुशीमा के उ रम्न सक्दिन ? अवस्य सक्छे । यत्रो पीडा र तनावका बाबजुद पनि उ सानो सानो कुरामा खुलेर हास्न हिच्किचाउदिन भने निश्चय पनि उ सानो कुराले धेरै खुशी हुन सक्छे । बाउ आमाको उ एक मात्र सन्तान उसको खुसी देखि पर भागेर उनीहरु के को पछि दौडेका थिए मैले बुझन सकिन । एउटा टिन एजर केटि जो आफ्नो जिवनको आरम्भमै यस्तो मानसिक पीडाबाट गुज्रिएकि थिइ भने उसमा जिन्दगी प्रती वितृष्णा उब्जनु स्वभाविक हो। केही अपबाद बाहेक बाकिलाई भन्ने हो भने यो उमेरका केटिहरुको जिन्दगी लभको चक्करमै पर्दा पर्दै बित्छ । फरक यति हो कोहि यौवनको प्रथम चरणमा उन्मत्त भएरै जिन्दगी बिगार्छन । कोहि असफल हुदै आतिन्छ्न। भने कोहि दोस्रो रोज्छ्न । तर उ त बिल्कुल अलग परिवेश कि थिइ । न त उसले कुनै केटा साथिको प्रेमको आवश्यकता ठानी न त महशुस नै गरि । जिन्दगीमा बिल्कुल एक्लै भएर पनि उ कुनै साथ चाहान्न भने उसमा बिश्वासको कुनै अंश नै छैन भन्ने प्रष्ट हुन्छ । उसको यो अवस्थाको जिम्मेवार सरासर उसको परिवार होईन ? समाजले कहिले बुझ्ने कुरा ? कहिले सम्म उसलाई बिग्रेकि केटिको संज्ञा दिइरहने । बिग्रेकि भनेर भनिरहदा के कारणले बिग्री चुरो कुरो पत्ता लाउने कि नलाउने ? बाउ आमाले आफ्नो कर्तव्य के हो बुझ्ने कि नबुझ्ने ? उ त एउटा नमुना मात्र हो यस्ता कति छोरी होलान् जो पारिवारिक खटपट्का कारण आफुलाई दाउमा राख्न डराउन्नन । छोरी भनेर यहाँ छोरिको मात्र समस्या होईन हरेक युवाको समस्या हो यो । हो म मान्छु यस्ता युवा युवती पनि छ्न जो परिवारमा राम्रो संस्कार पाएर पनि बिग्रेका छ्न । घर बाहिर पनि उ तपाईकै सन्तान हो भने बाहिर के गर्दैछ नियाल्ने तपाईकै जिम्मेवारी हो नि होईन र ? उसको सफलतामा तपाई श्रेय पाउन लालायित हुनुहुन्छ भने असफलतामा आफु त्यसको जिम्मेवार ठान्ने कि नठान्ने बिचार गरि हेर्नुस् त । यसो भनिरहदा युवाहरुको गल्ती नै छैन जे गल्ती गरेपनी परिवार/साथिमा दोष थुपारेर पन्छिन सक्छ्न भन्ने मेरो आशय होईन । यति मात्र हो, हर कदममा उनिहरुलाई तपाईहरुको साथ र सहयोगको खाचो छ अनि आवस्यकता अनुसार स्पेसको पनि उत्तिकै खाचो छ ।
    केही समय अघि पढेको थिए ।
    एउटा तथ्यांक अनुसार नेपालमा १५ देखि ४९ बर्षका महिलामा प्रमुख मृत्युको कारण आत्महत्या रहेको छ । ९०% भन्दा बढी आत्महत्याको प्रमुख कारण डिप्रेसन नै रहेको उत्त अध्यनको निश्कर्ष थियो । नेपालमा २०% बढी जनसंख्या डिप्रेसनबाट प्रभावित छ्न । डिप्रेसनमा जाने अधिकांश युवा बर्ग छ्न । केही समय अघिको लागू औषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार लागू औषध प्रयोग गर्नुको पहिलो कारण साथिको दबाब थियो भने दोस्रो र तेस्रोमा लगातार उत्सुकता र पारिवारिक समस्या थियो । आफ्नो सन्तान कता को सग छ, के गर्दै छ यावत बिषयमा बेलैमा ध्यान दिन सके भविष्यमा आउन सक्ने समस्याबाट बाच्न सकिन्थ्यो । डिप्रेसन बाट छुटकारा दिलाउन या जानै नदिन मुख्य भुमिका परिवारबाटै खेलौ । युवा बर्ग मात्र होईन जुनसुकै उमेर समुदायका मान्छे पनि डिप्रेसनमा जान सक्ने हुँदा साना ठुला सबै तिर ध्यान दिऔ । आफु पनि डिप्रेसनबाट जोगिन कोशिश गरौं । मन भुलाउन आ-आफ्नो रुचि अनुसारका पुस्तक, पत्र पत्रीका पढौं, फिल्म हेरौं, धेरै भन्दा धेरै समय परिवार सग बिताऔ, धेर थोर टाइम निकालेर ब्यायाम गरौं, मेडिटेसन गरौं । आफू बचौं, अरुलाई पनि बचाऔं ।´´

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु