
सनराइज र गुरुकुल विजयी


सनराइज र गुरुकुल विजयी
भरतपुर, ११ मंसिर
भरतपुरमा जारी सेन्ट जेभियर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई खेल गरिएका छन् । जसमा गुरुकुल र सनराईज इङ्लीस स्कूल भरतपुर विजयी भएका छन् ।
पहिलो खेलमा गुरुकुलले मनशिक्षा मन्दिरलाई १० विकेटले हरायो ।
समय अभावका कारण १६ ओभरमा छोट्याइएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको मनशिक्षाले ९.२ ओभरमा ५५ रनमात्रै बनाएर सबै विकेट गुमायो । जवाफी व्याटिङमा सामान्य लक्ष्य पछ्याएको गुरुकुलले कुनै विकेट नगुमाई ३.५ ओभरमात्रै खेलेर जित निकाल्यो । खेलमा गुरुकुलका संगम न्यौपाने म्यान अफ दी म्याच घोषित भए ।
मंगलबार नै भएको अर्को खेलमा सनराईजले स्मल हेभन स्कूललाई ४० रनले हरायो । टस जितेर पहिले व्याटिङ गरी सनराईजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो । १५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको स्मल हेभन पूरै ओभरमा ११० रन मात्रै बनाउन सफल भयो । दोस्रो खेलमा ३५ बलमा ५६ रन हानेका सनराइजका अमूल्य थापा म्यान अफ दी म्याच भए ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा १६ वटा टिम सहभागी रहेको आयोजक नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्ष प्रशान्त अधिकारीले जानकारी दिए ।
भरतपुरको गेष्टहाउस चौरमा जारी प्रतियोगिता जित्नेले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।


