
कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् : रामचन्द्र पौडेल


गोरखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरु सिद्धान्तमा कन्फ्यूज भएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काँग्रेस गोरखाले सोमबार गरेको कार्यक्रममा पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेकपाका नेताहरु अल्मलिरहेको बताए । उनले भने‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दै हुनुहुन्छ अनि प्रचण्ड समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’
नेता पौडेलले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताए । कम्युनिष्टहरुको सिद्धान्तको टुङ्गो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहिन बनेको पौडेलको भनाई थियो ।



नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको भन्दै पौडेलले भने‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढङ्ग छैन । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’
सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डैकाण्डमा फसेको पौडेलले आरोप लगाए ।
उनले वर्तमान सरकार वाइडवडी काण्ड, सुन काण्ड, चिनि काण्ड कायौ काण्डमा मुछिएको दाबी गरे । प्रधानमन्त्रीले काण्डै काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो ।
उनले पैसाको राजनीति लोकतन्त्र र सुशासनको सबैभन्दा ठुलो शत्रु भएको तर्क गरे । पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको बताए ।