
सर्वोच्चले खोलेन ‘सांसद’ रेशम चौधरीको रिहाइको ढोका (आदेशसहित)


सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त ‘सांसद’ रेशम चौधरीलाई रिहा गर्ने अस्वीकार गरेको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उनलाई रिहा गर्न अस्वीकार गरेको हो । सर्वोच्चले चौधरीलाई कानुन अनुसार कारबाही गर्न पनि आदेश दिएको छ ।
‘चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको र २०७४ फागुन १४ को आदेश तथा उच्च अदालत दिपायलको ०७४ चैत २२ को आदेश मिलेकै देखिन्छ’ सर्वोच्चको आदेशमा भनिएको छ । कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।



जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए । जाहेरीकर्ताले चौधरीविरुद्ध किटानी पोल गरेको र अन्य अभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए ।
चौधरीलाई पुस १९ गतेमा डिल्लीबजार कारागार सिंहदरबारस्थित सभामुखको सचिवालयमा सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि उनलाई डिल्लीबजार कारागारमै लगिएको थिए ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक र सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र १ जना नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।