skip this
  • फिचर

    वैशाखदेखि काठमाडौंका ५ ठाउँमा स्मार्ट पार्किङ

  • के तपाईंलाई न्यूरोड र आसपासको क्षेत्रमा जाँदा पार्किङको चिन्ता हुन्छ?

    यो तपाईंको मात्र होइन, धेरै काठमाडौंवासीको चिन्ताको विषय हो।

    घना बस्ती, न्यून खुला ठाउँ र मानिसको बाक्लो चहलपहल हुने नेपालको प्रमुख व्यापारिक केन्द्रमध्येको न्यूरोडमा धेरै सवारीधनीको समस्या पार्किङ नै हो।

    सर्वसाधारणको यही समस्यालाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले नयाँ वर्ष लागेसँगै न्यूरोड र आसपासका ५ वटा स्थानमा स्मार्ट पार्किङको सुरूआत गर्न लागेको छ।

    महानगरले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आर बि कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको हो।

    त्यस क्षेत्र जानु अघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्न सकिन्छ। बुकिङ भने १५ मिनेट अगाडिमात्र गर्न सकिने प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले जानकारी दिए।

    त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्क्रिन राखिएको हुन्छ। रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्।

    पार्किङको लागि २ पांग्रेले घण्टाको २५, ४ पांग्रेले घण्टाको ६० , ६ पांग्रे वा सो भन्दामाथिका सवारी साधनले घण्टाको २००  रुपैयाँ तिर्नुपर्ने छ।

    यी स्थानहरूमा एकपटकमा करिब ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने महानगरको अनुमान छ।

    पार्किङलाई मर्यादित र व्यवस्थित बनाउन २४ जना पार्किङ अटेण्डेन्डकै शरीरमा गोप्रो लगाउने अग्रवालले जानकारी दिए।

    यो सेवा लिन अफ्नो एप्पल वा एन्ड्रोइड मोबाइलमा ‘पार्क केटिएम’ नामक एप्लिकेसन डाउनलोड गर्न सकिने छ। नयाँ वर्ष अगावै यो एप एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध हुने अग्रवालले जानकारी दिए।

    काठमाडौं सहरको पार्किङ व्यवस्थापनमा प्राथमिकतामा रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन्।

    ‘काठमाडौंको प्रमुख बजारहरूमा सवारी लिएर जानु पर्‍यो भने उपभोक्ताहरूलाई पार्किङ गर्ने ठाउँ खोज्दा खोज्दै दिक्क हुन्छ’ उनले भने ‘पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु