१५ चैत, वीरगञ्ज । सामाजिक विषयको परीक्षा रद्द भएपछि वीरगञ्जमा एसईईमा सहभागी हुन आएका विद्यार्थी तोडफोडमा उत्रिएका छन् । एसईईको पाँचौं दिन शुक्रबारका लागि तय भएको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको छ ।
विद्यार्थीहरुले भने आफूहरुलाई अन्योलमा पारेको भन्दै तोडफोडमै उत्रिएका हुन् । विहानैदेखि विद्यार्थीहरुको प्रदशैनले उग्र रुप लिएपछि वीरगञ्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो ।



आक्रोशित विद्यार्थीहरुले वीरगञ्जको घण्टाघर आसपासमा प्रदर्शनका साथै ना१ख ७७८७ नम्बरको म्याजिक भ्यानमा तोडफोड गरेका छन् । उनीहरुले नजिकैको कलेज र अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रेवती ढकाललाई सामान्य चोट लागेको छ । विद्यार्थीले प्रहार गरेको ढुंगाले खुट्टामा सामान्य चोट लागेको एसपी ढकालले बताए । उनको मोवाइलसमेत फुटेको छ ।
विहानैदेखि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु करिब १२ बजेतिर घरतिर लागेपछि स्थिति सामान्य बनेको प्रहरीले जानकारी दिएको छ ।
एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा पनि प्रदर्शन गरेका थिए । प्रदेश २ मा बिहीबार नै विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएको थियो ।