skip this
  • चितवन विशेष

    व्यङ्ग्यात्मक कविता “समाजवादको तिम्रो बजारमा” : नारायण शर्मा ( बिपिन)

  • साउन १७,भरतपुर

    रचनाकार:- नारायण  शर्मा(विपिन)

    शीर्षक  : समाजवादको तिम्रो बजारमा

    साहुजी , ओ साहुजी ;
    अलिकति न्याय पाइन्छ ?
    बिक्रीमा सेल लागेकोछ
    भन्दै थियो जेठाले
    त्यसैले किन्न आएकी ।

    धेरै महंगो पो रैछ त साहुजी
    पैसा तिर्न त सक्दिन
    हात पाखुरा
    धडकी रहेको मुटु
    उम्लि रहेको रगत
    हातका ठेला
    खिल परेका खुट्टा !
    के रे ; बिक्दैनन ?

    अरु पनि छन्
    तर ती त काम नलाग्ने
    भइ सके होलान साहुजी ;
    अँ के लिनु हुन्छ
    ज्युँदै आँखा झिकिएकी
    कुमारी बुढाको आँखाको सपना ?
    बारम्बार गिद्धहरुले झैँ
    जल्लादहरुबाट पालैपालो
    बलात्कारका सिकार
    देवी खड्का र कमला भट्टहरुको चित्कार ?
    राता मान्छे लुकाएको निहुँमा
    च्युरि पेल्ने कोलमा
    ज्युँदै रगत निचोर्दै पेल्दै मारिएका
    गाउँले चेपाङको अगाध आस्था ?
    बमको छर्रा टाउकोमा लिएर
    युद्धमा एउटा आँखा गुम्दा
    अब त निशाना लगाउन सजिलो भयो भनेर
    रमाउने मेरो कान्छाको त्यो विश्वास ?
    काखको छोराछोरी अर्कैलाइ जिम्मा लाएर
    काँधमा बन्दुक बोकेर हिडेकी सुन्तलीको त्यो ममता ?
    आमा – आप्पा फर्केर आउँछ भनी
    बाटोमै आँखा ओछ्याएर बसेको लाक्पाले
    मेरो आमा – आप्पा त
    उ त्यहाँ पो छ अरे भनेर
    जून देखाँउदा आँखाबाट बगेको बालपन ?
    आफ्नो शरीरभरि समाजवादको लागि परेको किरा
    आफ्नै हातले सफा गर्दा
    जेल भित्र चहर्‍याएका घाउ
    मुस्कानसंगै दबाउने त्यो बन्दी जीवन ?
    साहुजी;
    जेल भित्रै अस्मिता लुटिँदा पनि
    समाजवादका निम्ति अट्टहास गर्ने ती साहसहरु ?
    विवाहको हप्ता दिन नबित्दै
    जीवनसाथी गुमाउने ती आलिगंनहरु
    ती प्रेमिल स्पन्दनहरु ?
    योजना खोल्नु भन्दा यातना खप्नु बेश मानेर
    आततायी बन्दुकको संगिनमा लाज झुन्ड्याएर
    निर्वस्त्र गाउँ डुलाइएका
    उर्मिलाहरुको त्यो त्याग ?
    बुढेसकालका सहारा आफ्ना छोराछोरी
    युद्धमा गुमाउँदा पनि
    छोराछोरी गए पनि समाजवाद त आउँछ
    भनेर बस्ने ती बा आमाको वात्सल्य ?

    हुँदैनन , पुराना भए ?
    नयाँ पनि त छन् नि !
    तिलाठिमा बगेको देवनारायणको रगत,
    सिमानामा गोविन्दको सहादत ?
    कुमार पौडेलको सर्लाहीमा इन्काउन्टर परेको विश्वास ?
    सुदर्शनको हातको नेल
    निर्मला पन्तको चन्चलता ?

    ओ साहुजी!
    सकिन्छ मुल्य तोक्न ,
    सकिन्छ मुल्य चुकाउन ?
    तिम्रो समाजवादको डिपार्टमेन्टल स्टोरमा
    न्याय त बिक्रि होला साहुजी
    तर
    मेरो आस्था , विश्वास र इतिहास
    म बेच्ने छैन, म साट्ने छैन
    समाजवादको तिम्रो बजारमा ।।

    (तोरिखेत, चितवन)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु