
बन्द गुरुद्वार ७२ बर्ष पछी खुल्ला

भारत पाकिस्तान विभाजन भएको ७२ वर्षपछि पाकिस्तानले शुक्रबार पाकिस्तानको पंजाब प्रान्तको ऐतिहासिक गुरुद्वारा ‘चोवा साहिब’ सर्वसाधारणका लागि खुला गरिदिएको छ ।
ऐतिहासिक गुरुद्वारा ‘चोवा साहिब’ । तस्वीर : अन इन्डिया
गुरुद्वाराको ढोका खुला भएसँगै अब त्यहाँ संसारभरिकै सिख धर्मावलम्बीहरू जान सक्ने छन् ।
पाकिस्तानले नोभेम्बरमा हुने गुरु नानकको ५५० औं जयन्तीका अवसरलाई मध्यनजर गर्दै यो गुरुद्वारा खुला गरिएको बताइएको छ ।



भारत–पाकिस्तानको विभाजनपछि पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दु, सिख, इसाई तथा बौद्ध धर्मावलम्बीहरू पाकिस्तान छाडेर हिंडे भने कति दबिएरै भए पनि बसे ।
यो गुरुद्वारा पनि सिख समुदाय पाकिस्तानबाट पलायन भएपछि राज्यको बेवास्ताका कारण बन्द रहेको बताइन्छ । यो गुरुद्वारा सन् १८३४ मा बनेको बताइन्छ ।
हालै पाकिस्तानले पाकिस्तानको पूर्वी शहर सियालकोटमा रहेको एक हजार वर्ष पुरानो ‘शवला तेज सिंह मन्दिर’ पनि पूजाआजाका लागि खुला गरिदिएको छ । स्थानीय अल्पसंख्यक हिन्दुको मागका कारण ७२ वर्षपछि यो मन्दिर खुला गरिएको बताइन्छ । –एजेन्सी