skip this
  • नेपाल सेरोफेरो

    विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

  • काठमाडौं ,साउन / लाखौं रुपैयाँ पर्ने ईसिजी मेसिन दुईतीनहजार रूपैयाँमा पाइन्छ भन्दा सुन्नेलाई अचम्म लाग्ला।  तर नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीले किफायती मूल्यमा बन्नसक्ने ईसिजी उपकरणको विकास गरेका हुन्। कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा सो उपकरण बनाउन सफल भएका छन्।  सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चौथो सेमेस्टरको मिनि प्रोजेक्टअन्तर्गत चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाको टोलीले विकास गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुनेछ।

    यो उपकरणमार्फत मुटुको इसिजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन मिल्ने तथा प्रिन्टरमा प्रिन्ट गर्न सकिन्छ।  यसमा ब्लुटुथ तथा बाइफाईका माध्यमले अन्य विद्युतीय साधनसँग जोड्ने मिल्ने प्रविधि विद्यार्थीले बनाएका छन्।  यसले मुटुका बिरामीको यथास्थितिका बारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए।

    ‘ब्याट्रीबाट चल्ने यो मेसिन एक साताभन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजीमा बोकेर हिँड्न सक्छन्,’ निर्माणमा सहभागी विद्यार्थी चूडामणि भटराईले भने।  विशेष गरी उक्त उपकरणलाई गाउँगाउँका स्वास्थ्य संस्थामा बिरामी जाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले बताए।  सस्तो र भरपर्दो साधनको रुपमा विकास गर्न आफूहरु लागिपरेको उनीहरु बताउँछन्।

    यसको सफल परीक्षणपछि ईएमजी, ईइजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए।  उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलभ तथा सजिलै मर्मतसम्भार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहने बताए।

    टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले आगामी दिनमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरण बनाउन सकिने बताए।  बेलाबेलामा हुने ईन्जिनियरिङ प्रदर्शनीको खाँचो औंल्याउँदै उनले नेपाल ईन्जिनियरिङ कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए।  गएको साउन ५ गते आइतबार नेपाल ईन्जिनिरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो।  करिब दुईसय बढी सहभागीले उक्त उपकरण प्रयोग गरी ईसिजी परीक्षण गरेका थिए।

    नागरिकमा कृष्ण किसीले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु