skip this
  • चितवन विशेष

    भरतपुर महानगरको शैक्षिक क्रान्ति निरन्तर अगाडि बढेको छ : मेयर दाहाल

  • चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत छ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छिन् । भरतपुर–१३ स्थित आधारभूत विद्यालय उज्जवल नगरको छ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उनले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चालेअनुसार नतिजा प्राप्त भएको बताइन् ।

    भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धिलगायत विभिन्न समस्यालाई हल गरिएको उनले स्मरण गरिन् । ‘अहिले भरतपुरको विद्यार्थीको संख्या आठ हजार पुगेको छ’, उनले भनिन्, ‘एक सय जना विद्यार्थी भएको विद्यालयमा चार सय पुगेको छ। नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ ।’

    नगरप्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्रहरु सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाइट, ठूलाठूला खानेपानी आयोजनाहरु यही अनुपातमा निर्माण भएको बताइन् । भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाइलाई अभियानका रुपमा अगाडि बढाइएको उनको भनाइ थियो ।

    भरतपुर महानगरपालिकामा कोही पनि शिक्षाबाट वञ्चित नहून् भनेर मस्तिष्क पक्षघात भएकाहरुलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बतााइन् । आइतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताइन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले विद्यालय निर्माणमा जनप्रतिनिधि, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनसमुदायको सक्रिय सहभागिता हुनुपर्ने बताए ।

    उनले विद्यालयको लागि पर्याप्त जग्गा र पूर्वाधार भएको खण्डमा विभिन्न प्राविधिक तथा स्नाकोत्तरसम्म कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरे । यस्तै भरतपुर महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले भरतपुरको शिक्षा विकासका लागि वैज्ञानिक ढङ्गबाट अघि बढेको जानकारी दिए । महानगरका विद्यालयहरुलाई थप स्मार्ट बनाउन निरन्तर अगाडि बढेको उनको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु