• चितवन विशेष

    भरतपुरकाे युटेक कलेजमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै, सफल हुने लाइ नगद पुरस्कार

  • चितवन । भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराउने छ । प्रतियोगिता पुस ११ र १२ गते भरतपुर ११ स्थित युनाइटेड टेक्निकल कलेजमा हुनेछ ।

    कार्यक्रममा यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्र समेटिनेछ । ती विषयमा सहभागीले आफ्नो विवेक, रचना तथा शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने सक्ने छन् । कलेजको इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागीय प्रमुख ई. साहित बरालका अनुसार जुनसुकै विषयका विद्यार्थी तथा उनीहरूको समूहले यो प्रतियोगितामा आफ्नो रचना देखाउन पाउने छन् ।

    युनाइटेड टेक फ्युजन विज्ञान तथा प्रविधि विभागका विद्यार्थीका लागि उपयोगी हुने क्लबका अध्यक्ष विवेक पौडेलको भनाई छ । “यसले विद्यार्थी सशक्तीकरणको प्रवर्द्धन गर्न, सहकार्यलाई बढावा दिन र इन्जिनियरिङ क्षेत्रका नयाँ पुस्तालाई प्रेरित गर्ने हाम्रो विश्वास छ,” पौडेलले भने ।

    टेक फ्युजनबाट रोबोट र प्रविधिमा रुचि भएका विद्यार्थीलाई ठूलो सिकाइ हुनुका साथै अन्य ज्ञानमूलक विषय बुझ्न पाउने उनको भनाइ छ ।

    प्रतियोगितामा प्रविधिसँग सम्बन्धित संघ संस्था, कलेज तथा प्रविधि क्लबले सहभागिता जनाउन सक्नेछन् । साथै राष्ट्रिय स्तरको दक्ष निर्णायकबाट हुने मूल्याङ्कनको आधारमा उत्कृष्ट प्रतियोगीको चयन गरिने आयोजकले जनाएको छ ।

    सीटीएफमा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, द्वितीय हुने टोलीले २० हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    त्यस्तै प्रोजेक्ट प्रदर्शनीमा उत्कृष्ट हुने टोलीले १५ हजार नगदसहित विभिन्न उपहार पाउनेछ । रोबो फुटबलमा विजेता हुनेले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

    रजिस्ट्रेसनका लागि भोलि मङ्गलवारसम्मको समय तोकिएको छ । सीटीएफमा सहभागी हुन यहाँ क्लिक  गरेर दर्ता गराउन सकिनेछ ।

    त्यस्तै रोबो फुटबलका लागि यहाँ क्लिक र प्रोजेक्ट प्रदर्शनीका लागि यहाँ क्लिक गरेर दर्ता गर्न सक्नु हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु