भरतपुर मेयर कप क्रिकेट प्रतियोगितामा एक्सपर्ट चितवनले मुख्य प्रयाेजन गर्ने
चितवन, माघ ९– भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ ।
आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीच भएको उक्त समझदारी पत्रमा एक्सपर्टका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरेका छन् ।
“ती सामग्री महानगरको रोहबरमा एक्सपर्टले सम्बन्धित विद्यालयको क्रिकेट टिमलाई हस्तान्तरण गर्ने छ”, अधिकारीले भने– “खेलकुदको विकास विद्यालयस्तरबाटै होस् भनेर यो प्रायोजनमा सहभागी भएका हौँ ।”
समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको भन्दै हर्ष व्यक्त गरिन् । “यसले खेल विकासमा सकारात्मक प्रभाव पार्ने छ”, उनले भनिन्– “संस्थागत सामाजिक उत्तरदायित्वको यो राम्रो उदाहरण बन्ने छ ।”
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले निजी सरकारी र निजी क्षेत्रको सहकार्य भए मात्रै खेलकुद गतिविधि बढ्ने बताए । यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने उनले बताए । “निर्माणाधीन रंगशालामा यो प्रतियोगिता गरिँदै छ”, उनले भने– “निजी क्षेत्रले यसरी खुलेर सहयोग गर्ने हो भने प्रतियोगिता बढ्ने छन्, त्यसले खेल विकासमा राम्रो माहोल सिर्जना गर्ने छ ।”
महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विद्यालय खेलकुद विकासमा यो समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि धेरै सामाजिक काम गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।