skip this
  • फिचर

    भरतपुर महानगर जनप्रतीनिधि आरोप-प्रत्त्यारोपमा नै ब्यस्त

  • १ भदौ, चितवन । गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा रेणु दाहाल लालसलाम जय नेपाल भन्थिन् भने ठकुरीले जय नेपाल लाल सलाम भन्थिन् ।
    तत्कालिन माओवादी र कांग्रेसका झण्डा एउटै कपडाभित्र अटाए । मतपत्र च्यातिएपछि भएको भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान भयो । रेनुलाई जिताउन माओवादीले भन्दा बढी मेहनत कांग्रेसले गर्‍यो र २०३ मतले देवी ज्ञवालीलाई हराउँदै रेणु दाहाल मेयर बनिन् । तर, यो गठवन्धन दिगो भएन ।

    १७ असोजमा तत्कालिन एमाले र माओवादीवीच चुनावी तालमेलको सहमति भएपछि समस्या सुरु भयो । कांग्रेसको समर्थनमा जितेकी मेयर रेणु दाहालले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले उम्मेदवार कृष्ण डल्लाकोटीलाई मत दिइन् । दिदीबहिनीजस्तै गरी हिँड्ने मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई यतिबेला टाढा बनाउन एकातिर परिस्थिति तयार छ भने अर्को तर्फ नियती ।
    केही महिनादेखि मेयर र उपमेयरवीच चलेका ‘शीतयुद्ध’ महानगरको समिक्षा गोष्ठीमा आउँदा छताछुल्ल भएएको छ । मेयर रेणु दाहालले अति गरेकोले सहनुको सीमा पार गरेको उपमेयर पार्वती शाहले अनलाइनखबरसँग गुनासो गरिन् ।
    ‘सकभर घरभित्रको विषय घरभित्रै मिलाउनुपर्छ भनेर लागियो तर पेलाई र हेपाईले सीमा पार गरेपछि हामीले विरोध जनायौं’ उपमेयर शाहले अगाडि भनिन्, ‘धैर्यताको वाँध टुट्यो ।’
    समीक्षा गोष्ठी बहिष्कार
    महानगरले बिहीबार समीक्षा गोष्ठी आयोजना गरेको थियो । भरतपुरकै एक होटलमा आयोजना गरिएको समीक्षा गोष्ठी १ बजेका लागि बोलाइएको थियो । तर, समीक्षा गोष्ठीमा सहभागी हुनुपर्ने उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु पार्टी कार्यालय पुगे । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशीसहितका नेतासँग महानगरकी उपमेयर पार्वती शाह र वडाध्यक्षहरुले गुनासो पोखे ।
    वडाध्यक्षहरु महानगरको गोष्ठी बहिष्कार गर्ने पक्षमा थिएनन् । उनीहरुले विरोध पनि गरे । महानगरको समीक्षा गोष्ठीमै गएर आफ्ना कुरा राख्ने धारणा राख्नेमा वडा नं २१ का वडाध्यक्ष चित्रसेन अधिकारी, वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित र वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठ, वडा नं १९ का वडाध्यक्ष कर्णबहादुर गुरूङ भए । तर, उपमेयर पार्वती शाहसहित पार्टी सभापति जीतनारायण श्रेष्ठ ‘जानै हुँदैन, बहिष्कार गर्नुपर्छ’ भन्ने लाइनमा उभिए ।
    कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छलफलमै हुँदा महानगरको समीक्षा गोष्ठी सुरु भयो । उपमेयर नआएपछि वडा नः १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले स्वागत गरे । स्वागतकै क्रममा भण्डारीले केही साथीहरु नआउनु भएको भनेपछि वहिष्कारको कुरा खुल्यो । यद्यपि कांग्रेसका प्रदेश सभाका सदस्य मिलनबाबु श्रेष्ठ भने कार्यक्रममा पुगेर भाषण ठोके । उनी एकैछिनमा निस्किए ।
    उपमेयर पार्वती शाहले आफुहरुका विचार र कुराहरूलाई महानगरकी मेयरले वेवास्ता गरेकोले वहिष्कार गरेको बताइन् । शाहले   दिनमा कसरी जाने भनेर पार्टी नेतृत्वसँग छलफलमा बसेकोले गोष्ठीमा नगएको प्रतिक्रिया दिइन् ।
    मेयर रेणु दाहालको भने फरक धारणा छ । आफैंले निर्धारण गरेको कार्यक्रममा आफैं अनुपस्थित भएर उपप्रमुखले राजनीतिक संस्कार विपरीतको काम गरेको मेयरको भनाइ छ । कार्यपालिका बैठकको निर्णय र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेर समीक्षा बैठकको मिति तय गरिएको उनले बताइन् ।
    विवादको भित्री चुरो : निमित्तदेखि अप्ठ्यारा कामसम्म !
    तत्कालिन एमालेसँग गठवन्धन भएदेखि नै मेयर रेणु दाहालमा परिवर्तन देखिन थालेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भनाइ छ । शुरुका दुई महिना हरेक कुरामा छलफल र परामर्शमा अघि बढ्ने मेयर दाहाल पछिल्ला समय बदलिएको अनुभूति भएको उनीहरु बताउँछन् तर,, मेयरप्रतिको असन्तुष्टि वडाध्यक्षहरुको भन्दा पनि बढि उपमेयर शाहको हो । मेयर रेणु दाहाल जिल्ला बाहिर जाँदा उपमेयरलाई कार्यवाहकको जिम्मेवारीसमेत नदिएकोमा उपमेयर शाह रुष्ट बनेकी छिन् ।
    आफ्नो सुरले हिड्ने, कुनै सरसल्लाह नलिने, नसुन्ने काम मेयरबाट भएको उनको गुनासो छ । महानगरभित्रका विवादित र अप्ठ्यारा कामहरु विना जानकारी उपमेयरको टाउकोमा थुपार्ने र जस लिने जति काम आफूले गर्ने गरेको बुझाई उपमेयर शाहको छ । राजमार्ग क्षेत्रमा अटो सञ्चालन गर्न नदिने महानगरको निर्णयपछि उत्पन्न असहज अवस्थाको हल गर्न उपमेयर शाहलाई नै समितिको संयोजक बनाएकी थिइन् मेयर दाहालले । त्यसमा पनि शाहको आपत्ति छ । न्यायिक समितिलाई पनि पंगु बनाउने काम नियोजित रुपमा गरिएको आरोप उपमेयरको छ ।
    मेयरको आडमा प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले समेत वाइपास गरेर कामहरु गर्ने गरेको, फोन नउठाउने र वेवास्ता गर्ने गरेको चर्चा छ । केही समय अघि भएको कार्यपालिकाको नवौं बैठकमा उपमेयर शाहले बैंठक नै बहिष्कार गरेकी थिइन् । गत साउन ७ गते बसेको महानगरको नियमित कार्यपालिकाको बैठकमा मेयरले दम्भ देखाएको भन्दै कांग्रेसबाट निर्वाचिन जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।
    मेयर दाहालले बैठक समापनका क्रममा ‘महानगर मैले चलाउने हो, कसैको चित्त बुझोस् या नबुझोस्, म अगाडि बढ्छु, निर्णय कार्यान्वयन गराउँछु’ भनेर दम्भ देखाएको आरोप उपमेयरसहितका वडाध्यक्षहरुले लगाएका छन् । यसले पनि कांग्रेसबाट निर्वाचिन जनप्रतिनिधि समीक्षा बैठक बहिष्कार गर्ने निर्णयमा पुगेका थिए ।
    मेयर दाहालले भने बितेको एक बर्ष महानगरका सम्पूर्ण जनप्रतिनिधिहरू एउटै परिवारजस्तो भएर काम गरिरहेको र पक्षपात नगरेको दावी गर्छिन् । उनले सबै काम सामूहिक छलफल र निर्णयबाट नै गरेको बताइन् । अनावश्यक हल्ला नगर्ने आग्रह गर्दै मेयर दाहालले भनिन् ‘यस्तो तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन, उहाँहरुको यस्तो क्रियाकलापलेे मलाई दुःख लागेको छ ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु