skip this
  • चितवन विशेष

    सप्तगण्डकी : जहाँ आफ्ना मान्छे ढुंगामा कुँदिए

  •  

    खिमा रिजाल
    कोलाहल, धुँवा, धुलो, भिडभाडबाट निस्सासिएर एकान्तको खोजी गर्दै म राजधानीबाट बाहिरिन्छु । अहँ मनमा चलिरहेको हुन्डरी शान्त हुन सक्दैन । बिगत केही वर्षयता म यस्तै यस्तै अवस्थाबाट गुज्रिरहेकी छु ।

    महिनामा चार-पाँचपटक राजधानी र चितवन गर्छु । तर, सरर अदालत पुग्यो अनि गाडी चढ्यो, फेरि राजधानी फर्कियो । उफ् मेरो दिनचर्या कहिलेसम्म यसरी गुज्रने होला ! सोच्दासोच्दै यसैगरी कैयौं बर्ष गुजारी सकेकी छु मैले । को आफ्नो, को पराइ ? पत्तै पाउँदिन आजकल ।

    पहिचानको लडाइँ निकै दर्दनाक हुँदोरहेछ । यही दर्दको वीचबाट सप्तगण्डकी क्याम्पसमा निर्माण गरेको सोही क्याम्पसमा अध्ययन गरी शहादत प्राप्त १० जना साथीहरूको शालिक हेर्ने रहरले च्याप्दै लगेकाले चितवनको अदालतबाट बाहिरिएलगत्तै सोही क्याम्पसका सहायक प्राध्यापकलाई फोनको घण्टी बजाएँ र म त्यतै हानिएँ ।

    मेरो प्यारो मान्छे शिवहरी तिम्सिनाको शहादत भएको पनि बषौर्ं बितिसकेको थियो । उनको र मेरो भेट पनि सोही कलेजमै भएको थियो । ०५५ सालमा कलेज छाडेपछि म त्यो कलेज छिरेकी थिइँन । अदालत र क्याम्पस मात्रै पाँच मिनेटको फरकमा रहे पनि आज मलाई त्यो बाटो निकै टाढा महसुुस भैरहेको थियो ।

    स्नातक अध्ययनका क्रममा ५५ सालमा मेरो जीवनसाथीसँग भेट भई जनयुद्धमा हाम फाल्ने र नयाँ नेपालको सपना बोकेर बाहिरिएको त्यस्तो महत्वपूर्णस्थल थियो सप्तगण्डकी । तर, आज ती सबै इतिहास बनिसकेको अवस्थामा हाम्रा मान्छेहरू ढुंगामा कुँदिएका थिए । नत मूलुकमा केही परिवर्तन भएको थियो । थियो त केवल नेताहरूको जीवनमा परिवर्तन । बसउठ खानपानमा परिवर्तन । तर, सर्वहारा जनताको अवस्था जहाँको त्यहीँ थियो ।

    मन भारी बनाउँदै ढुंगामा कुँदिएका हाम्रा मान्छे हेर्न म सप्तगण्डकी कलेजको गेटमा पुग्दा सहायक प्राध्यापक मेरो प्रतिक्षामा हुनुहुँदो रहेछ । म उहाँसँगै भित्र छिरें ।

    भौतिक पूर्वाधार केही परिवर्तन भएको थियो कलेजको । जहाँ हामीले मञ्च बनाएर कार्यक्रम गर्ने गथ्र्यौ, त्यहाँ त १० जना सहिदहरू शारदा श्रेष्ठ, शिवहरि तिमिल्सिना, विकास अधिकारी, किरण पौडेल, हरिकला पौडेल, ऋषि रेग्मी, प्रकाश (हरी सुवेदी), सुभाव पण्डित, खगेन्द्र पौडेल र ज्ञानु खरेल शालिकमा कँुदिएका रहेछन् ।

    मेरो मनमा तुफान आयो । सँगै मेरो जीवनसाथी र म झोलामा किताब बोकेर रमाउने ठाउँमा त आज ढुंगामा उनको मूर्ति कुँदिएको थियो । चारैतिर आँखा डुले, कतै खिमा सञ्चै छौ भन्छन् कि भनेर !

    अहँ त्यो त कहाँ सम्भव थियो र ! केवल त्यो स्मृतिमा मात्रै सीमित थियो । मेरो मनले उनैलाई खोजिरहेको थियो । स्ववियु सभापति बनेका किरण पौडेल कतै यतै भाषण गर्दै कुर्लंदै होलान् जस्तो लाग्यो ।

    थुप्रै बिद्यार्थी साथीहरूका वीचमा ‘युगौदेखि बाँधिएको जंजीर तोडेर, निस्क्याैं हामी रणभूमिमा वीरताको पाइला चाल्दै संसार फेर्ने अठोट लिएर’ भन्ने गीतमा नाचिरहेजस्तो लाग्यो शारदा दिदी । हामीलाई नाच्न गाउन सिकाउनका लागि कतै बोलाउछिन् कि जस्तो लाग्यो ।

    ती साना फुच्चे भाइहरूले ज्ञानु र प्रकाश दिदी भन्दै कतै बोलाएका त छैनन् जस्तो लाग्यो । रूपन्देहीको कोटिहवामा मेजरनी आमैको घरमा सत्यनारायण पूजाको प्रसाद खाँदै गरेका , खाएर सक्न नपाई सयौं राउण्ड गोलीले उडाइका विकास पनि कतै यतै डुलिरहेको जस्तो लाग्यो ।

    हरिकला मेरो आत्मीय मित्र सयौं बिद्यार्थीको बीचमा राजनीतिक छलफल गर्दै छन् किजस्तो लाग्यो । तर, उनी त बर्षौ अगाडि लमजुङ्गमा पहरेदार पाल्तु प्रहरीद्वारा सामुहिक बलात्कारको शिकार भएर पनि नपुगी मृत्युको शिकार बनिसकेकी थिइन् । बाँकी तीनजना त मैले नचिनेका साथी हुन् । आँखा तल भैरहेको थियो मेरो । सहायक प्रध्यापक मसँग के कुरा गरिरहेका थिए मैले पत्तै पाइरहेकी थिइँन ।

    मलाई जस्तै भएर विकासका भाइ सुजन पनि आˆनो दाजुको शालिक हेर्न आएका रहेछन् । हामी सुजन र म शालिक मुनी फोटो लिन लाग्दा सहायक प्रध्यापक विनोलखण्ड तिमिल्सिना, प्रध्यापक जगदीश्वर बराल र नन्दलाल पौडेलले पनि हामीसँगै फोटो लिने इच्छा राख्नुभयो । प्राध्यापकहरू हामी दुबै सहिदका आफन्त भन्ने थाहा पाएपछि निकै भावुक बन्नुभयो । म केही बोलिँन । म त छटपटिएकी थिएँ ।

    एकातिर मेरो मान्छेका परिवार र पार्टीका केही नेताहरू आफैंले बिवाहमा गएर भित्राएकी मलाई नस्वीकारेर दिनु दुःख दिएका थिए भने अर्कातिर मेरो मान्छे मसँग सदाको निम्ति भौतिक बिदाइ भइसकेको थियो । मसँग केबल स्मृतिमात्रै थियो । उनको स्मृति ।

    हाम्रो उपस्थितिले खुशी र भावुक बनेका प्रध्यापकको आग्रह अनुसार खाजा खान बस्यौं । तर, मनमा तातो बाफ उम्लिरहेको थियो । आँखामा आँशु टल्बलाइरहेको थियो । मनले यतै कतै उही हातमा किताब बोकेर कुदिरहेको आफ्नो मान्छे खोजिरहेको थियो ।

    सुजन पनि मौन थियो । केही बोलेको थिएन । हामी दुबै एउटै अवस्थाबाट गुज्रिएका थियौं ।

    मनमा त्यो तीतो क्षणले झक्झकाइ रह्यो । ढुंगामा कुँदिएका सबै सहिदहरू बाइस पच्चीस बर्षका थिए । उनीहरू नेपाललाई शोषणमुक्त बनाउने सपना बोकेका युवा थिए । महान जनयुद्धको अभियानमा सर्वहारा बर्गलाई केन्द्रमा राख्दै आम सर्वहारा बर्गको मुक्तिका खाँतिर आफ्नो प्राणको बलिदान गरेका मान्छेहरू थिए ।

    तर, पार्टी शान्ति प्रक्रियाबाट गुज्रँदै गर्दा सहिदका सपनाहरू रद्दीको टोकरीमा मिल्काइएको छ । टाठा बाठा र नेताहरूको जीवनशैलीमा परिवर्तन आएको छ । राम्रा राम्रा महलमा सजिएका छन् । हिजोका आदर्शहरू सबै माटोमा मिलाइएको छ ।

    आँखाले एकातिर यस्तो देखेको छ, अर्कातिर हाम्रा मान्छेहरू भित्तामा, ढुंगामा कुँदिएका छन् । हामी रगत बगाउने परिवारका सदस्यहरूले चित्त बुझाउने ठाउँ, शान्ति पाउने ठाउँ कहाँ होला ?

    सप्तगण्डकी पुगेपछि झन पीडा महसुस हुन थाल्यो । शिव तिमी लगायत नेपालका हजारौं हजार वीर सपुतहरूको बलिदानलाई नेतााहरूले सिंहदरवार र बालुवाटारमा रक्सी र मासुसँग साटासाट गरिरहेका छन् ।

    यदि हामी अध्यात्मवादी भएको भए यो देखेर तिमीहरूको मन कति रोयो होला भन्थ्यौ होला । तर, हामी भौतिकवादी मान्छेहरू ! हामी बाँच्नेलाई यति नै पीडा र कठीन भएको छ, त्यो शब्दमा कसरी व्यक्त गरौं ?

    सायद नेताहरूका आफन्त गुमेको भए बुझ्थे होला । आˆना मान्छे गुमेको दर्द के हो भनेर । जनयुद्धका उपलब्धीहरू आज सबै ध्वस्त गरिएको छ । पूनर्बिवाह गरेपछि बच्चा आमाले राख्ने कि काकाले राख्ने जस्ता अत्यन्तै पितृसत्तात्मक स्तरबाट बहस छेडिएका छन् । हिजोका दलितसँग विवाह गरिएका जोडीहरू अत्यन्तै अपमानजनक ढंगबाट भत्किएका छन् । यस्तो अवस्थामा आफ्ना मान्छेको तस्विर ढुँगामा कुँदिएको पाउँदा त्योभन्दा भावविह्लल क्षण हाम्रो निम्ति अरू के हुन्थ्यो र ?

    तमाम नेपाली, जसका आफन्तहरू गुमे, सायद देशैभरि यस्तै अवस्थामा होलान् । हामी बाँचेकाहरूले तिमीहरू मूलुकका निम्ति मरेकाहरूको सपना पूरा गर्न नसकेको तीतो अनुभूति गर्‍यौं । र, कहिल्यै नमेटिने युद्धका डोबहरू स्मृतिमा सजाउँदै भारी मन लिएर बाहिरियौं सप्तगण्डकी कलेजबाट ।

    साभार : www.onlinekhabar.com

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु