skip this
  • फिचर

    काठमाण्डौमा ट्युसन सेन्टरको मनपरी, चितवनमा पनि उस्तै लागु हुन सकेन स्थानिय शिक्षा नियमावली

  • भक्तपुरका १६ वर्षीय क्षितिज कार्की हरेक शनिबार काठमाडौंको बानेश्वरस्थित एक ट्युसन सेन्टर पुग्छन् । अन्य दिन उनी आफ्नै विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षामा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म व्यस्त हुने गरेका छन् । उनलाई गणितका अभ्यासहरू एकदमै झन्झटिला लाग्ने गरेका छन् । कम्प्युटर र लेखाका पाठहरू सजिलै बुझ्छन् ।

    उनी नजिकिँदै गरेको एसईईको तयारीका लागि जबरजस्ती गणितको तयारी गरिरहेका छन् । रहरलेभन्दा पनि करले गणितको तयारी गरिरहेको बताउँछन् । कुनैकुनै शनिबार उनी ट्युसन नगई भागेर फुटसल पुग्छन् । ‘सधै स्कुलमा एकछिन ढिला पुग्यो भने सरले पसिना छुट्ने गरी उठबस गराउनु हुन्छ ।’ उनी भन्छन्, ‘मलाई गणित केही गरे आउँदैन, तै पनि जबरजस्ती अभ्यास गर्दैछु, घरबाट शनिबार पनि दुईतीन घण्टा ट्युसन पढ्न बानेश्वर पठाउनु हुन्छ कहिलेकाहीँ त भागेर फुटसल जान्छु ।’

    नजिकिँदै गरेको एसईईको तयारी गरिरहेका अधिकांश बालबालिकाको दिन चर्या क्षितिजकै जस्तो बितिरहेको छ । राजधानीका अधिकांश निजी विद्यालयहरू एसईईको तयारीका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने गरेका छन् ।

    यसका अतिरिक्त काठमाडौं महानगरभित्र हरेक गल्ली, छिंडी तथा चोकचोकमा नर्सरी देखि स्नातक तहसम्मका विद्यार्थीलाई लक्षित गरी ट्युसन सेन्टर खोलिएका छन् । वार्षिक परीक्षाको दुईतीन महिनाअघि र शैक्षिकसत्र सुरुहुनुभन्दा अगाडि सबै ट्युसन सेन्टरमा विद्यार्थीको भीड लाग्ने गरेको छ ।

    सुरुमा गणित, अंग्रेजी र विज्ञान शिक्षकले सानो कोठामा सुरु गरेका ट्युसन सेन्टर अहिले व्यस्त छन् । तर यिनीहरू संख्यात्मक रुपमा कति छन् भन्ने यकिन तथ्यांक भने भेट्न सकिँदैन ।

    महानगरपालिकाले स्थानीय शिक्षा नियमावली२०७५, जारी गरिसकेको छ । नगर शिक्षा नियमावलीमा ट्युसन सेन्टर सञ्चालन गर्नेले सम्बन्धित वडाको सिफरिसमा महानगरपालिकामा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । तर ट्युसन सेन्टरहरू स्थानीय शिक्षा नियमावलीको मर्म विपरीत अवैधानिक रुपमा चलिरहेका छन् । महानगरको शिक्षा विभागमा अहिलेसम्म एउटा पनि ट्युसन सेन्टर दर्ता नभएको महानरको शिक्षा विभागले जानकारी दियो ।

    स्थानीय राजपत्रको परिच्छेद–१६ मा पूर्व तयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालनको अनुमति सम्बन्धी गरेको व्यवस्था महानगरले अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन ।

    ‘पूर्व तयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेका शैक्षिक संस्थाहरूले प्रत्येक आर्थिक वर्ष महानगरपालिकाबाट अनुमति नवीकरण गराउनु पर्ने व्यवस्था छ ।

    स्थानीय शिक्षा ऐन २०७५को दफा ५४ मा शैक्षिक परामर्श सेवा, विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्स सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था छ । सोही दफाको उपदफ (१) मा कसैले पनि यस ऐन बमोजिम अनुमति नलिई पूर्व तयारी कक्षा सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।

    स्थानीय शिक्षा ऐन तथा नियमावली बनेतापनि यसको वैज्ञनिक रुपमा कार्यान्वयन हुने नसकेको वागबजारका स्थानीय विष्णुप्रसाद चालिसे बताउछन् । ‘गणित, अंग्रेजी र विज्ञान शिक्षकले आफ्नो व्यक्तिगत स्वार्थका लागि सञ्चालन गरेका ट्युसन सेन्टरहरू ३० प्रतिशत दर्ता भए पनि ७० प्रतिशत बिना दर्ता नै चलेका छन्’ चालिसेले भने, ‘संघीय शिक्षा ऐन आउन सकेको छैन, संघीय ऐनले कसको कार्यक्षेत्र कति भनेर नछुट्याएकाले समस्या देखिएको हो ।’

    लामो समयदेखि कोटेश्वरमा नर्सरीदेखि स्नातकका विभिन्न विषयमा ट्युसन कक्षा सञ्चालन गर्दै आएका एक व्यवसायीले संघीय र स्थानीय नियमावली बाझेका कारण अनौपचारिक शिक्षालयमा समस्या देखिएको बताए । ‘हामीले राज्यलाई नियमित कर तिरिरहेका छौं ।’ उनले थपे, ‘महानगरको शिक्षा नियमावलीका बारेमा हामीलाई औपचारिक जानकारी छैन ।’

    महानगर भित्र ९१ सामुदायिक र ६ सय ४५ संस्थागत र करिब १६ वटा वैकल्पिक विद्यालय सञ्चालनमा छन् । यसका अलावा हजारौं ट्युसन तथा कोचिङ् सेन्टर छन् ।

    यी कोचिङ् सेन्टरमा पाँच–छ वर्षका नानीबाबुदेखि स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थी बिहान बेलुका ट्युसन पढछ्न । ‘ट्युसन पढ्ने अधिकांश बालबालिकाहरू निजी विद्यालयमा पढ्न तथा अभिभावकले समय दिन नसक्ने बालबालिका हुन्छन् ।’ वानेश्वरका एक ट्युसन व्यवसायी भन्छन्, ‘हामीले पढाएका विद्यार्थीको आचरण तथा उपलब्धी अनुकरण योग्य हुन्छ ।’

    महानगरपालिका भित्र जम्मा १ लाख ९४ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । सामुदायिकमा ३८ हजार ७ सय विद्यार्थी छन् भने संस्थागतमा १ लाख ३६ हजार विद्यार्थी रहेको शिक्षा विभागले जानकारी दियो । निजीमा अध्ययन गर्ने तथाअभिभावकले समय दिन नसक्ने बालबालिका ट्युसन सेन्टरमा पढ्न आउने ट्युसन सेन्टर सञ्चालकहरू बताउँछन् ।

    महानगरमा दर्ता छैनन्

    महानगरमा जम्मा ३२ वडा छन् । वडा नम्बर एक देखि ३२ भित्र गन्दै जाने हो भने हजारौं ट्युसन सेन्टर भेटिन्छन् । तर महानगरपालिकामा भने एउटै ट्युसन सेन्टर अहिलेसम्म औपचारिक दर्ता भएकै छैनन् । केही वडामा न्यून ट्युसन सेन्टरहरू मात्र दर्ताका लागि आएको वडाप्रमुखहरू बताउँछन् ।

    स्थानीय शिक्षा नियमावली तथा शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको वडा नं. ३१ का वडा प्रमुख नारायण पराजुलीले बताए । ‘विद्यालयीय शिक्षाको उपलब्धी अहिले पहिलाभन्दा राम्रो छ, हामी नियमित अनुगमनमा जान्छौं । उनले भने, ‘अनुगमनका क्रममा बाटामा ट्युसन सेन्टर त देखिन्छन् तर यकिन कति छन् भन्ने थाहा छैन ।’ वडामा दर्ताको लागि सिफरिस माग्न अहिले सम्म एउटामात्र ट्युसन सेन्टर आएको उनले जानकारी दिए ।

    वडा नं. ३१ जस्तै अवस्था छ वडा नं. १४ को पनि यो वडामा अहिलेसम्म औपचारिक दर्ताका लागि एउटै ट्युसन सेन्टर आएकै छैनन् । पुरानै नियमअनुसार ट्युसन सेन्टरहरू चलिरेका छन् ।

    नियमावली अनुसार तत्काल दर्ता प्रक्रियामा आउन ट्युसन सेन्टरलाई आग्रह गरिने वडा प्रमुख शोभा सापकोटाले बताइन् । ‘हाम्रो पहल भनेको गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउनु हो ।’ उनले भनिन्, ‘सबैलाई प्रक्रिया मिलाएर ऐन अनुसार दर्ता गराउँछौं ।’

    यी दुईवटै वडाभन्दा फरक अवस्था छैनन् वडा नं. २ को पनि । यो वडामा सामुदायिक विद्यालय भने छैनन् । महानगरले तय गरेको वडा प्रोफाइल अनुसार यहाँ पूर्वप्राथमिक देखि १२ कक्षासम्म सञ्चालन भएका १९ वटा निजी विद्यालय छन् । यिनीहरू स्वतःस्फुर्त रुपमा चलेको वडा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो वडामा सीमित मात्र ट्युसन सेन्टर छन् तर दर्ता भएका भने एउटै छैनन् ।

    महानगरले सबै वडाको वडा प्रोफइल तयार गरेको छ । प्रोफइलमा ठुला व्यवसायीदेखि ससाना व्यवसायीको तथ्याङ्क संकलन गरिएको भएपनि एउटै ट्युसन भएको तथ्य राखेको छैन ।

    शिक्षा विकास तथा समन्वय इकाइ (जिल्ला शिक्षा कार्यालयका) काठमाडौंको नागरिक वडापत्रको बुदा नं ५ मा शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगाडि तोकिएको ढाँचामा विधानसहित निवेदन लिएर आउनेलाई कोचिङकक्षा सञ्चालन गर्न जिल्ला शिक्षा अधिकारीले अन्तिम निर्णय दिने भनी उल्लेख गरिएको छ । तर इकाइमा भने एउटा पनि ट्युसन सेन्टर दर्ता भएकै छैनन् । ‘होस्टल चलाउनका लागि मात्र तत्कालीन जिल्ला शिक्षा कार्यालयमा निवेदकहरू आउने गर्थे ।’ समन्वय इकाइ प्रमुख नन्दलाल पौडेलले भने, ‘ट्युसन सेन्टर खोल्नका लागि निवेदन दिन आएको थाहा छैन ।’

    महानगरको शिक्षा विभागका अनुसार अहिलेसम्म एउटा पनि कोचिङ कक्षा दर्ता भएकै छैनन् । दर्ताका लागि सबै शिक्षालयलाई सूचना जारी गरिने विभागले. जानकारी दियो । ‘वाणिज्यमा दर्ता भएर र नभइ चलेका सबै भाषा कक्षा तथा कोचिङ कक्षालाई स्थानीय शिक्षा नियमावलीको दायरामा ल्याउन पहल गरिरहेका छौं ।’ शिक्षा विभागका एक कर्मचारीले भने, ‘हामी नियमावली कार्यान्वयनको चरणमा छौं त्यसैले केही समस्या देखिएका मात्र हो ।’

    देश संघीयतामा गएको यतिका वर्षसम्म शिक्षा नियमावली स्पष्ट नहुनु लाजमर्दो भएको शिक्षाविद्हरू बताउछन् । ‘व्यवसायिक शिक्षा, वैज्ञानिक शिक्षाको नारा जप्ने सरकार आफै अवैज्ञानिक हुँदा अहिलेसम्म संघीय शिक्षा ऐन आउन सकेको छैन ।’ शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘संघीय शिक्षा ऐन नै नआइ बनेका स्थानीय शिक्षा ऐन तथा नियमावली कार्यान्वयन कसरी गर्ने ? संघीय शिक्षा ऐन तत्काल ल्याएर यस्ता दोधारको अवस्था अन्त्य गर्नुपर्छ ।’

    एसईई तथा अन्य वार्षिक परीक्षाको नतिजा हेर्ने हो भने परीक्षा अघिपछि नियमित ट्युसन पढ्ने विद्यार्थीको नितिजा राम्रो भएको पाइएको छ ।

    शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले केही समयअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा समेत नियमित गृहकार्य गर्ने विद्यार्थी अब्बल देखिएको परिणाम सार्वजनिक गरेको छ ।

    इआरओले १ हजार ४ सय विद्यालयका २८ हजार विद्यार्थीमा गरेको परीक्षणमा नियमित गृहकार्य गर्ने विद्यार्थीको औषत उपलब्धी राम्रो देखिएको नतिजा सार्वजनिक गरेको हो ।

    बालबालिकालाई लादेर सिकाउनु घातक

    बालबालिकालाई उमेर अनुसार खाने, खेल्ने र सिक्ने समयको व्यवस्थापन गर्नुपर्छ । समय व्यवस्थापन नगरी एकोहोरो लादेर दिएको ज्ञान जीवन्त नहुने विज्ञहरू बताउँछन् ।

    बालबालिकालाई उमेरअनुसार खाने, खेल्ने र पढ्न समय छुट्याएर आप्mना काममा नियमितता दिने विद्यार्थीको स्मरण शक्ति तेज हुने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन रबिकिरण अधिकारी बताउँछन् । ‘तत्कालको राम्रो नतिजाको अपेक्षामा १२ घण्टा पुस्तक अगाडि राखेर पढ्ने विद्यार्थीमा मानसिक समस्या देखापर्छ ।’ अधिकारीले भने, ‘बालबालिकालाई लादेरभन्दा स्वतःस्पूर्त तरिकाले सिक्ने वातावरण सिर्जना गर्नुपर्छ यसरी सिकेको सिकाइ जीवन्त हुन्छ । कक्षा ७ सम्म पढ्ने बालबालिका हरेक दिन ८–९ घण्टा सुत्नु नै पर्छ ।

    बालबालिकालाई दिनभरि कक्षामा पढ्ने घर नआइ ट्युसन पढाउनुभन्दा खाने र खेल्ने समयमा सन्तुलन गर्नुपर्ने उनले बताए । ‘दिउसो कक्षामा कक्षाकार्य, बिहान बेलुका विद्यालयले दिएको गृहकार्यको बोझ नै कलिलो मष्तिस्कले थेग्न सक्दैन । सानो उमेरका बालबालिकालाई लामो समय पढ्न बाध्य पार्नु भनेको सिकाइ प्रति वितृष्णा जगाउनु मात्र हो ।’ उनले भने, ‘त्यसैले कोपिलालाई स्वतः फक्रन दिनुपर्छ हस्तक्षेप गर्नु हानीकारक हुन सक्छ ।’

    news source www.edupatra.com

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु