skip this
  • फिचर

    ह्यापी बर्थ डे पिएम !!

  • फाल्गुण १२ सोमबार

    नेकपाको सरकार यतिवेला चौतर्फी आलोचनाको केन्द्रमा छ । खासगरी सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन चक्करको खुलासा र त्यसबाट उत्पन्न विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीका निकटमध्येका मन्त्री गोकुल बाँस्कोटा राजीनामा दिन बाध्य भएपछि वर्तमान सरकार नैतिक अधपतनको सिकार भएको छ । सो विवादको मुख्य भूमिकामा बाँस्कोटा रहेको खुलासा भए पनि यसका भित्री रहस्य अझै गर्भमै छन् । मन्त्रीबाट बाहिरिएपछि बाँस्कोटा राज्यका अनुसन्धान निकायको निगरानीमा छन् ।

    उनीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामाथि पनि परिस्थितिजन्य कारण र यस प्रकरणमा उनको प्रत्यक्ष, अप्रत्यक्ष संलग्नतामाथि पर्याप्त प्रश्न उठेका छन् । यसको निरूपण भएर निर्दोष साबित भएको खण्डमा बाहेक प्रधानमन्त्री ओली पनि भ्रष्टाचारका मामिलामा एकजना आरोपित या संरक्षकका रूपमै सार्वजनिक वृत्तमा चिनिने अवस्था आएको छ । स्वयं बाँस्कोटा अहिले पनि सत्तारुढ दलको शक्तिशाली केन्द्रीय समितिका सदस्यका रूपमा क्रियाशील छन् । यो मामिलामा अहिलेसम्म नेकपाको औपचारिक धारणा पनि सार्वजनिक भएको छैन ।

    लोकतान्त्रिक मुलुकका सरकार या राज्यप्रमुखले राजसी ठाँट र सम्पूर्ण सामन्ती ढर्रासहित जन्मदिन मनाउने कल्पना गरिन्न । 

    यता एमसिसी प्रकरणले सरकारको परराष्ट्र मामिला सञ्चालन अपरिपक्व रहेको सन्देश प्रवाहित भएको छ । एमसिसी जसरी पनि पास हुन्छ, गरिन्छ भन्दै संसद्देखि सार्वजनिक मञ्चसम्म बोल्दै हिँडेका प्रधानमन्त्री आफ्नो दलभित्र उठेका प्रश्नको घेराउमा परेका छन् ।

    यता यस मामिलामा मुख्य भूमिका भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफैँ संलग्न अध्ययन कार्यदलले केही बुँदामा परिमार्जन नगरी एमसिसीलाई संसद्बाट पारित गर्न नहुने सिफारिस गरेको छ । वर्तमान सरकारप्रति आमजनधारणा नकारात्मक बन्दै जानुका पछाडि यी घटना केही निमित्त दृष्टान्त मात्र हुन् । यसले स्वयं नेकपाको नियत र नियतिमाथि प्रश्न उठ्ने गरेको छ । 

    ठीक यही विवादबीच प्रधानमन्त्री केपी शर्मा ओली राजसी ठाँट र सम्पूर्ण सामन्ती ढर्रासहित आफ्नो जन्मदिन मनाउन हिँडेका छन् । उनले आफ्ना आसेपासेलाई लगाएर जन्मदिन मनाउन जन्मस्थल रहेको गाउँपालिकामा सार्वजनिक बिदा दिलाएका छन् । शिक्षक तथा कर्मचारीलाई उहिल्यै राजाको जन्मोत्सव मनाउने शैलीमा मौसमअनुसारको ट्युनिकसहित उपस्थित हुन उर्दी जारी गराएका छन् । राज्यको स्रोत परिचालन गरेर सुरक्षाकर्मी खटाइएको छ । स्वयं प्रधानमन्त्री आफ्ना सहयोगीसाथ सरकारी खर्चमा हेलिकोप्टर चढेर इवा पुगेका छन् ।

    सरकारी खातामा जनाउन अरू कार्यक्रमको मेलो मिलाइएको भए पनि यस कार्यक्रमको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको जन्मदिन मनाउनु नै हो भन्ने छर्लंग छ । कुनै पनि लोकतान्त्रिक मुलुकका सरकार या राज्यप्रमुखले यसप्रकारको जन्मदिन मनाउने कल्पना पनि गरिन्न । प्रधानमन्त्री अस्थायी रूपमा नागरिकमध्येबाट छानिएको मुख्य कार्यकारी त हो तर ऊ अरू नागरिकभन्दा विशिष्ट भने होइन ।

    लोकतन्त्र या गणतन्त्रले नागरिकबीचको विभेद अस्वीकार गर्छ । तर, प्रधानमन्त्रीमा कस्तो भोक छ, जसले उनलाई राज्यको स्रोत परिचालन गरेर कहिले प्रधानमन्त्री निवासमा ओलीवंशको पिकनिक आयोजना गराउँछ, बालुवाटारमा सारंगी साँझ मनाउन उक्साउँछ, कहिले जन्मदिन मनाउन सारा जिम्मेवारी छाडेर दिनभर मनोरञ्जनका लागि समय निकाल्न लगाउँछ । उनको जन्मदिनमा भएको तामझाम र त्यसमा भएको राज्य स्रोतको दुरुपयोगका सम्बन्धमा नेकपाले लामो समयसम्म जनाताका प्रश्नको सामना गर्नुपर्नेछ । के सत्तारुढ दलले यस्ता सार्वजनिक वृत्तमा उठेका प्रश्नको जवाफ दिने साहस गर्ला ?

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु